कर्णालीमा चलचित्र सम्बन्धी सात दिने तालिम गरिँदै

सुर्खेत: दोस्रो कर्णाली चलचित्र कार्यशाला वीरेन्द्रनगरमा आयोजना हुने भएको छ । सप्ताहव्यापी कार्यशाला फागुन २३ गतेबाट २९ सम्म सुर्खेतमा आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तिब्र भईरहेको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी दिए ।
आइतबार सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी खड्काले कार्यशालाको बिषयमा जानकारी गराएका हुन् । उनका अनुसार कर्णालीमा दोस्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो ।
‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं,’ अध्यक्ष खड्काले भने ।
यसअघि २०७९ असारको दोस्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धी बेशिक कोर्स सिकाईएको थियो । उनीहरु सहित अन्य नयाँ सहभागीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताए । कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष क्लास लिनेछन् ।
चलचित्र लेखक र निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षेत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन ।
कार्यशालामा छायाँकन र सम्पादन सम्बन्धि पनि प्रयोगात्मक कक्षा हुनेछ । गायिका समेत रहेकी सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले यसपटक कार्यशालामा फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनेछिन् । उनले बिगत सातवर्षदेखि फिल्म मेकअप तथा स्पेशल इफेक्टको क्लास लिँदै आएकी छिन् । यो कार्यशालामा सहभागीहरुले तीनवटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने खड्काको भनाई छ ।
कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना सहभागीहरुले यो कार्यशालामा भाग लिने भएका छन् । चलचित्र विकाश बोर्ड सहआयोजक रहेकोे कार्यशालामा सहभागीहरुले स्थानीय कलामा आधारित लघुचलचित्र निर्माण गर्नेछन् ।
कार्यशालाको सहयोगी संस्थामा युवा परिषद् तथा सहप्रयोजकमा नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको पनि अध्यक्ष खड्काले जानकारी दिए ।