कर्णाली करिडोर अवरुद्ध

सुर्खेतः  कर्णाली करिडोर शनिबारदेखि अवरुद्ध भएको छ। कालिकोटको शान्नि त्रिवेणी गाउँपालिका १ रेंगिलमा आएको पहिरोले करिडोरमा चल्ने यातायातका साधानहरु चल्न नसकेका हुन् । करिडोरको प्रवेशद्वार खुलालुदेखी हुम्ला, बाजुरा पलाँता, पचालझरना, रास्कोट सम्म संचालन हुने साना ठूला सवारी साधनहरु सडकमै लाम लागेका छन्।

सडक अबरुद्ध हुदा यात्रु अलपत्र परेको स्थानीयले बताएका छन्। सडक खुलाउन समस्या छ। पहिरो पन्छाउदा झन माथिबाट ठूलो पहिरो आउने गरेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार करिडोर खुलाउन समन्वय भईरहेको जनाएको छ।

निरन्तर पहिरो खसिरहेकोले आवतजावतमा समस्या भएको छ। करिडोर अन्तर्गत सलीसल्लासम्मको ट्र्याक खुलेपछि झन्डै एक वर्षअघि नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो।

सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ सडक बिभागले करिडोर हेर फेरमा चासो राखेको छैन। स्थानीयका अनुसार पचालझरनास्थित भुराबगर र जारकोट खण्डमा गएको पहिरोले एक महिनादेखि सडक अवरुद्ध छ।
करिडोरको भौरेकुना, रेंगिल, कोट, आमतडालगायत ठाउँमा पनि पहिरो खसेको छ। वर्षाले कालिकोटका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन्। स्थानीय तहले निर्माण गरेका सबैजसो सडकमा सहज रूपमा गाडी चल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।