चुली क्लबको उपाधी रुकुमपश्चिमको पोल्टामा

सुर्खेत: वीरेन्द्रनगरमा जारी दोस्रो चुली युवा कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक क्लव चुलीलाई हराउँदै रुकुमपश्चिमीले उपाधी जितेको हो । फाइनल खेलमा चुलीले पहिलो एक सेट जित्दा रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधी जितेको छ । बिजेताले नगद दुई लाख २० हजार र ट्रर्फी पाएको छ भने उपविजेता बनेको आयोजक क्लवले एक लाख ५० हजार र ट्रर्फीमा चित्त बुझाएको छ । यस्तै, तेस्रो भएको सल्यान र चौथो भएको एपीएफ कर्णालीले क्रमस ७५ हजार, पचास हजार नगद पुरस्कारसहित ट्रर्फी पाएका छन् । त्यसैगरी महिलातर्फ भएको भलिबल प्रतियोगितामा एभरेष्ट क्लव बुटवलले उपाधी जितेको छ । एभरेष्टले नगद एक लाख ५० हजार र टर्फी पाउँदा उप–विजेतामा चित्त बुझाएको डाइमण्ड क्लव काठमाडौंले नगद ८० हजार र ट्रर्फी पाएको छ । तेस्रो भएको आयोजक क्लव चुली र चौथो भएको सल्यानले क्रममा ५० हजार, ३० हजार नगद र टर्फी पाएको छ । यहीँ फागुन ११ गतेबाट भएको प्रतियोगितामा पुरुषतर्फ देशभरका १६ र महिलातर्फ १२ क्लवले सहभागीता जनाएका थिए ।