
सुर्खेत: पानी पर्यो गयो, हावा चल्यो हरायो—कर्णालीका बासिन्दाका लागि बिजुलीको अवस्था वर्षौंदेखि यस्तै थियो। सामान्य वर्षा, चर्को घाम वा सानो हावाहुरीले समेत विद्युत आपूर्ति अवरुद्ध हुने अवस्था यहाँका नागरिकका लागि नियति जस्तै बनेको थियो। तीन दशकभन्दा बढी समयदेखि लो–भोल्टेज, ट्रिपिङ र अनियमित आपूर्तिको मार खेपिरहेको कर्णालीले अन्ततः ‘हाई भोल्टेज’ बिजुलीको स्वाद चाख्न थालेको छ। नेपाल विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन माघ १८ गते मध्यरातदेखि चार्ज भएसँगै कर्णालीको ऊर्जा इतिहासमा नयाँ अध्याय सुरु भएको मानिएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले काममा ढिलासुस्ती नगर्न निर्देशन दिएको करिब तीन साताभित्रै आयोजना सम्पन्न भई माघ १८ गते मध्यरातदेखि प्रसारण लाइन चार्ज गरिएको हो। पुसको तेस्रो साता सुर्खेत पुगेर उनले ठेकेदार कम्पनी र आयोजना प्रमुखलाई तत्काल काम सक्न निर्देशन दिएका थिए। त्यसपछि कामले तीव्रता पायो र लामो प्रतीक्षापछि कर्णालीले पहिलो पटक १३२ केभी क्षमताको गुणस्तरीय बिजुली पायो।
यसअघि कर्णालीमा ३३ केभी प्रसारण लाइनबाट मात्र विद्युत आपूर्ति हुँदै आएको थियो। जंगल क्षेत्र भएर ल्याइएको उक्त लाइन जीर्ण संरचना, रूख ढल्ने जोखिम र ओभरलोडका कारण बारम्बार बिग्रिने समस्या थियो। लो–भोल्टेजका कारण बत्ती मधुरो बल्ने, उपकरण नचल्ने र सानो अवरोधले पनि दिनभर लाइन जाने अवस्था सामान्य बनेको थियो। उपभोक्ताहरूको जिज्ञासामा वितरण केन्द्रको ‘रेडिमेट’ जवाफ हुन्थ्यो—‘पुराना संरचना छन्, पानी परेको छ, हुरी चलेको छ, कतै रूख ढल्यो कि!’ समस्या पहिचानमै दिन बित्ने र मर्मतमा ढिलाइ हुने अवस्थाले जनजीवन र व्यवसाय दुवै प्रभावित थिए।
प्रदेश राजधानी वीरेन्द्रनगरसहित कर्णालीका अधिकांश जिल्लामा सहरीकरण बढ्दै जाँदा विद्युतको माग उच्च थियो। तर आपूर्तिको गुणस्तर नबढ्दा उद्योग, होटल, इलेक्ट्रोनिक्स पसलदेखि साना उद्यमसम्म प्रभावित भए। निजी क्षेत्रले करोडौं घाटा बेहोर्नुपरेको भन्दै पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि ठोस समाधान नआउँदा आन्दोलनको तयारीसमेत गरेको थियो। सुर्खेत उद्योग वाणिज्य संघले विद्युत अनियमितता आर्थिक विकासकै बाधक बनेको बताउँदै दबाबमूलक कार्यक्रमको चेतावनी दिँदै आएको थियो।
प्रदेश सरकारको भूमिकामाथि पनि प्रश्न उठ्दै आएका थिए। ऊर्जा हेर्ने मन्त्रालय हुँदाहुँदै दिगो योजना नदेखिएको भन्दै जनस्तरमा आलोचना चर्किएको थियो। दुर्गम बस्तीमा लाइन विस्तारको होड चले पनि क्षमतावृद्धि र नियमित आपूर्तिमा खास पहल नदेखिएको गुनासो थियो। ‘१३२ केभी लाइन नआएसम्म विकल्प छैन’ भन्ने एउटै जवाफले तीन दशक बितेको अवस्था थियो।
यही पृष्ठभूमिमा १३२ केभी प्रसारण लाइन सञ्चालनमा आउनु कर्णालीका लागि ‘गेम चेन्जर’ को रूपमा हेरिएको छ। आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार करिब ५२ किलोमिटर लामो कोहलपुर–सुर्खेत खण्डको काम जग्गा प्राप्ति, वन क्षेत्रको कटान र स्थानीय अवरोध छिचोल्दै सम्पन्न गरिएको हो। करिब ७५ करोड लागतमा सब–स्टेसन र ६५ करोड लागतमा प्रसारण लाइन निर्माण भएको हो। सुर्खेतका सबै फिडरहरू यही सब–स्टेसनबाट आपूर्ति हुने व्यवस्था मिलाइएको छ भने उपयुक्त समयमा औपचारिक उद्घाटन गरिने प्राधिकरणले जनाएको छ।
प्रसारण लाइन सञ्चालनसँगै अब कर्णालीका उपभोक्ताले गुणस्तरीय विद्युत उपभोग गर्न पाउने विश्वास गरिएको छ। ट्रिपिङ, ओभरलोड र लो–भोल्टेजको समस्या उल्लेखनीय रूपमा घट्ने अपेक्षा छ। यससँगै कर्णालीमा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा पठाउने बाटो पनि खुलेको छ, जसले भविष्यमा ऊर्जा आत्मनिर्भरता र राजस्व आर्जनको सम्भावना बढाएको छ। कार्यकारी निर्देशक शाक्यले गुणस्तरीय ऊर्जाको आपूर्तिले ठूला उद्योगधन्दा खुल्ने वातावरण बन्ने र कर्णालीको आर्थिक विकासको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन्। उनले दैलेखसम्म पनि एक वर्षभित्र प्रसारण लाइन पुर्याउने योजना सुनाएका छन् भने सुर्खेतको सब–स्टेसन नजिकै इभी चार्जिङ स्टेसन निर्माणको निर्देशनसमेत दिएका छन्।
यद्यपि, चुनौतीहरू पूर्ण रूपमा समाप्त भइसकेका छैनन्। वितरण संरचनाको स्तरोन्नति, दुर्गम बस्तीमा स्थायी आपूर्ति र प्राविधिक जनशक्ति व्यवस्थापन अझै आवश्यक छ। तीन दशकको अँध्यारो एकैपटक पूर्ण रूपमा हट्ने होइन, तर १३२ केभी लाइन सञ्चालनले दिगो समाधानतर्फको ठोस पाइला भने पक्कै चालेको छ। अब प्रश्न कार्यान्वयनको निरन्तरता र सेवा गुणस्तर कायम राख्ने प्रतिबद्धताको हो।
कर्णालीका नागरिकका लागि यो केवल प्रसारण लाइन सञ्चालनको समाचार मात्र होइन, लामो समयदेखि भोग्दै आएको ऊर्जा कहरबाट मुक्त हुने आशाको किरण हो। पानी पर्यो गयो भन्ने नियति बदल्दै अब ‘हाई भोल्टेज’ उज्यालो स्थायी बन्छ कि बन्दैन, त्यो आगामी व्यवस्थापन र नीतिगत दृढताले तय गर्नेछ। तर यति भने स्पष्ट छ, तीन दशकको प्रतीक्षापछि कर्णालीले उज्यालोतर्फको ढोका खोलेको छ।

खुलानजर । २१ माघ २०८२, मंगलवार ०९:५२