‘दलितका लागि दलित आन्दोलन’ भव्य रुपमा सम्पन्न

सुर्खेतः ‘दलितका लागि दलित आन्दोलन’ कर्णाली प्रदेशमा भव्यरुपमा सम्पन्न गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय जातिय उत्पीडन विरुद्धको दिवसका अवसरमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको बृहत र्यालीमा हजारौंको संख्यामा दलित समुदाय सडकमा उत्रिएका हुन् ।

आफ्नो लागि आफैं, समाज छाति चिर्दिने, सरकार त्यसमै पीर दिने, हामीलाई जालमा पारियो, नवराजलाई किन मारियो ? जस्ता नाराहरु प्लेकार्डमा लेखेर र्याली निकाली वीरेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरेर घण्टाघर पार्कमा सभा गरिएको थियो ।
कार्यक्रमलाई ‘दलितका लागि, दलित आन्दोलन’ का संयोजक खगेन्द्र सुनारले संबोधन गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै उनले संविधानको धारा १४ र धारा २४ हकमा दलित समुदायले न्याय पाउन नसकेको बताए ।

‘संविधानको धारा १४ र २४ मा व्यवस्था गरेको हकबाट हामी ४४ वर्षदेखि बञ्चित हुँदै आएका छौं,’संयोजक सुनारले भने, ‘राज्य पक्षले समानुपातिक प्रतिनिधित्व गराउन सकेको छैन । हामीले राज्यका हरेक निकायमा सामुहिक प्रतिनिधित्वको व्यवस्था गर्न विगतदेखि नै माग गर्दै आइरहेका छौं, दलित आन्दोलनको ८४ वर्ष पुग्नै लाग्दा हाम्रा हकहितका लागि ८४ वटा मागहरु सरकारसँग आजबाट राखेका छौं ।
उनले यो अभियान दलित समूदायको उत्थानका लागि कोसेढुंगा सावित हुने दाबी गरे ।

‘हामीले दलितको एकता भन्नुको अर्थ गैरदलित समूदायसँग लडाई होइन । धार्मिक, सांस्कृतिक, आर्थिक लगायत सबैखाले राज्यको अपहरणबाट मुक्तिका लागि यो अभियान सुरु गर्ने भएका हौं ।’ उनले भने, ‘नेपालमा रहेका साठी लाख दलितको पक्षमा हामी आवाज उठाउँछौं । अब राज्यसँग हामी कटौरा थापेर अधिकार माग्ने पक्षमा छैनौं । राज्यसँग वार या पारको लडाई लडने तयारीमा छौं ।’
उक्त कार्यक्रममा देशभरीबाट २५ हजार दलित समुदायलाई सार्वजनीक अपिल गरिएको थियो ।

जातिय विभेदकै कारण ज्यान गुमाएका दैलेखका सेते दमाईका छोरो सन्तबहादुर दमाई, जाजरकोटका नवराज विककी आमाले आफ्ना भनाई राखेका थिए । यस्तै राष्टियस्तरका कलाकार कुलेन्द्र विश्वकर्मा लगायतले विभेद विरुद्धका सांगितिक कोसेलीहरु समेत राखेका थिए ।

तस्बिरहरु: