सुर्खेत: कर्णाली प्रदेशमा हुलाक सेवालाई छिटो छरितो, भरपर्दो र व्यवस्थित बनाई प्रभावकारी सेवा प्रवाह गर्न अनुगमन गरिएको छ । केही दिन अगाडी हुलाक निर्देशनालय सुर्खेतले निर्देशनालय अन्तर्गतका भेरी करिडेरमा रहेका जाजरकोट, डोेल्पा, रुकुम पश्चिम तथा सल्यान जिल्ला हुलाक कार्यालय र ती जिल्ला स्थित स्थानीय तहमा रहेका हुलाक कार्यालयहरुको अनुगमन तथा निरीक्षण गरिएको हो ।
जिल्ला हुलाक कार्यालयहरुम डाँक आदान प्रदानका विषयमा समन्वय तथा छलफल बैंठक र अन्तक्र्रिया समेत गरिएको थियो ।
अनुगमनका क्रममा हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमिलाई जिवन्त राख्दै विश्व जगतले वर्तमान समयमा विकास गरेको सूचना प्रविधिलाई हुलाक सेवामा भित्र्याउन आवश्यक पर्ने पूर्वाधार बारेमा छलफल गरिएको थियो । र्कार्यालयहरुको जनशक्ति व्यवस्थापन, भौतिक स्रोतसाधनको अवस्था, भवनको अवस्था, सेवा प्रवाह, जनगुनासो, डाँक ढुवानी, सरकारी तथा गैरसरकारी निकायहरुसँगको समन्वयका विषयमा अनुगमन चेकजाँच तथा अन्तक्र्रिया गरिएको थियो।
छलफलबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै टोलीले सम्बन्धित कार्यालयहरुलाई हुलाक सेवालाई विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन दिएको छ । हुलाकप्रतिको जनविश्वास कायम राख्न, नागरिकसँग नजिक हुन तथा डाँक ढुवानी कार्यलाई व्यवस्थित गर्न सुझाव दिइएको छ । त्यसैगरी जिल्ला तथा स्थानीय हुलाक कार्यालयहरुलाई सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी हाल हुलाकले प्रदान गर्ने सेवाका बारेमा प्रचार प्रसार गरी व्यापक मात्रामा जनचेतना विस्तार गर्न निर्देशन दिएको छ । अनुगमन टोलीमा हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डे,अनुगमन शाखाका प्रमुख नारायणप्रसाद तिमिल्सेना लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

खुलानजर । ५ मंसिर २०८२, बिहीबार १०:१८