सुर्खेत: सुर्खेतमा यही बैशाख २०, २१ र २२ गते चलचित्र महोत्सव (फिल्म फेष्टिभल) हुने भएको छ ।
द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालले नेपाल युरोपियन युनियन फिल्म महोत्सवको दोस्रोे चरण आयोजना गरेको हो । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको कुइनेपानी स्थित सभाहलमा फिल्म फेस्टिभल चल्ने छ । उक्त फेस्टिभल गएको वर्षमा पनि सुर्खेतमा आयोजना गरिएको थियो । फेस्टीभलको यसपालिको संस्करणको मुल बिषयवस्तु ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने रहेको छ ।
यो बर्ष मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ बर्ष पुगेको सन्दर्भ पारेर चलचित्र महोत्सवको लागि ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने मुल बिषय छानौट गरिएको नेपालका लागि यूरोपियन युनियनकी राजदुत नोना डेप्रेजले बताइन् ।
उनका अनुसार यसको उदेश्य आममानिसमा उनीहरुको अधिकारको बारेमा सचेतना अभिबृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने रहेको छ ।
महोत्सवमा युरोपका ख्यातीप्राप्त निर्देशकहरुले निर्देशन गरेका आठ वटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकहरुले निर्माण गरेका छोटा फिल्महरु प्रदर्शन गरिनेछन् । चलचित्र हेर्नका लागि दर्शकहरुलाई कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । महोत्सवको सुरुमा ह्यामी रामेजनद्धारा निर्देशित ‘एनी डे नाउ’ भन्ने चलचित्रको प्रदर्शनीबाट हुनेछ । यस फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको छ । जुन समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो ।
महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरुमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशन गरेका इनभिजिबल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्याण्डस्) रहेका छन् ।
यसैगरी महोत्सवमा टोनी ह्यागेन फाउण्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरु प्रदर्शन गरिनेछन् । अंकित खड्कीको निर्देशनमा बनेको आई वान्टेड टु बी लाईक माधुरी दिक्षित, विशाल रोक्का मगरको गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिंक पनि प्रदर्शनी गरिनेछन् । नेपाली युवा फिल्म निर्माताहरुका अन्य फिल्महरुमा मिन्शो लिम्बुको जुनको, सुनिल पाण्डेको बागथान, पुनम पौडेलको लिभिङ्ग विथ डिग्नीटी, दीपक रौनियारको फोर नाइटस् र दीपा श्रेष्ठको ड्रिफ्टििङ्ग क्लाउडस् रहेका छन् ।
महोत्सवको क्रममा देखाइने तिनवटा युरोपियन फिल्महरु एनीडे नाउ, मित्र र इमादज चाईल्डहुडमा नेपाली उपशिर्षक पनि हुनेछन् । यसबर्षको नेपाल युरोपियन फिल्म फेस्टीभलको ब्राण्ड एम्ब्यासडरको रुपमा नेपालकी चर्चित अभिनेत्री मिरुना मगर रहेकी छन् ।
यसभन्दा अघि पहिलोे चरणमा महोत्सव बैशाख १५ देखि १७ सम्म सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय महेन्द्रनगरमा सम्पन्न गरिसकिएको छ । संस्करणको अन्तिम प्रर्दशनी काठमाडौंको चावहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ सम्म आयोजना हुनेछ ।
महोत्सवमा ‘चलचित्रलाई कसरी बुझ्ने र प्रशंसा गर्ने’ भन्ने बिषयमा पनि छलफल हुनेछ । जसको सहजीकरण चर्चित चलचित्र निर्माता तथा निर्देशक राजेश गोगजुले गर्नेछन् । गोगजु सन् २००० देखि चलचित्र निर्माण र शिक्षण पेशामा आवद्ध छन् । उनले थुप्रै अवार्ड समेत प्राप्त गरिसकेका छन् । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले यस प्रकारको महोत्सव विगत ११ बर्षदेखि गर्दै आएको छ । युरोपियन युनियनको वार्षिक कार्यक्रमहरुमा यस सांस्कृतिक गतिविधीलाई उच्च महत्व दिइएको छ । महोत्वसको सन्दर्भमा विगतदेखि नै नेपाली दर्शकबाट उत्साहप्रद प्रतिक्रिया पाएका र महोत्वसले युरोपीयन र नेपाली फिल्म निर्माता तथा फिल्ममा रुची राख्नेहरुबीच सम्बन्ध र सांस्कृतिक संवादको बाटो खोल्न सहजीकरण समेत गरेको आयोजकको भनाइ छ ।
खुलानजर । १९ बैशाख २०८०, मंगलवार १९:४८