प्रादेशिक नीति निर्माण गर्न युवा महोत्सव गरिने


सुर्खेत: बालबालिका, किशोरकिशोरी तथा युवा लक्षित प्रादेशिक नीति निर्माणका लागि कर्णाली युवा महोत्सव आयोजना हुने भएको छ । बालबालिका, किशोरकिशोरी तथा युवाको क्षेत्रमा लामो समय काम गर्दै आएको संस्था युवालयले राष्ट्रिय युवा परिषद्सँगको सहकार्य र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा आइतबार र सोमबार गरी दुई दिन प्रादेशिक नीति संवाद एवम् कर्णाली युवा महोत्सवको आयोजना गर्न लागेको हो ।
उक्त महोत्सवमा युवाहरूको अर्थपूर्ण सहभागिता र युवा लक्षित प्रदेशस्तरको नीति तथा कार्यक्रममा छलफल, बालविवाह अन्त्यका लागि साझा संकलल्प, लैङ्गिकतामा आधारित हिंसा, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका बारेमा युवालाई सचेत गराउँदै युवामैत्री प्रदेश निर्माणमा युवाहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग बृहत्तर छलफल गरिने आयोजक संस्था युवालयले जनाएको छ ।
युवालयका अध्यक्ष सन्तोष महर्जनले भने, ‘वित्तीय साक्षरता, उद्यमशीलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिध्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा अधिकतम युवालाई सहभागी गराइ सो क्षेत्रका विज्ञहरूबाट अभिमुखीकरण प्रदान गर्ने लक्ष्य राखेका छौँ।’
महर्जनका अनुसार विभिन्न मन्त्रालय मातहतका निकाय, गैरसरकारी तथा निजी संघसंस्था आम सञ्चार माध्ययमसँग सर्वपक्षिय बैठक तथा समन्वय, युवामैत्री खेल, क्रियाकलाप तथा अभिमुखीकरण, कर्णाली प्रदेशमा कार्यरत विभिन्न संस्थाका स्टल प्रदर्शनी, युवा रोजगार तथा विभिन्न सन्देशमुलक जानकारी तथा सम्बन्धित विषयमा अभिमुखीकरण, सचेतना र अवसरमुलक कार्यक्रमहरु महोत्सवका आकर्षण रहने छन् । यस्तै छलफलबाट आएका मुख्य मुद्दाहरुलाई समेटेर घोषणा जारी गरी सम्बन्धित मन्त्रालय र कर्णाली प्रदेश योजना आयोगमा आवश्यक युवा नीति निर्माणका लागि हस्तान्तरण गरिने आयोजकले जनाएको छ । कर्णालीलाई युवामैत्री प्रदेश बनाउन सक्रिय सबैको साझा कार्यक्रम भएकाले यसबाट आउने निश्कर्ष फलदायी हुने अपेक्षा राखेको अध्यक्ष महर्जनको भनाई छ ।