प्रज्वल चुनारा
सुर्खेत : मानव अधिकारका क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायसँगको तथ्यांकलाई आधार मान्ने हो भने कर्णाली प्रदेशमा महिला घरेलु हिंसाबाट सबैभन्दा बढी पीडित छन् । पीडकले दिने यातना सहन नसकेपछि हिंसामा परेका धेरैजसो महिला घरबाट निक्लनुपरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷०७९ देखि २०८०÷०८१ सम्मको तीन आर्थिक वर्षमा २ हजार ६ सय २१ वटा घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार २०२४ मा मात्र प्रदेशभर ६ सयभन्दा बढी मानव अधिकार हननका घटना भएका छन् । यीमध्ये ३ सय १२ वटा घटना घरेलु हिंसाका छन् । घरेलु हिंसाका प्रकृतिमा कुटपिट, चरम यातना, यौनहिंसा, घरनिकाला, मानसिक तनाव लगायत छन् । कर्णाली प्रदेशमा विभिन्न सरकारी तथा गैरसरकारी निकायसम्म पुग्ने घरेलु हिंसाका प्रकृति एकै खालका छैनन् । उजुरी परेका पछिल्ला घरेलु हिंसाका मुद्दामध्ये कुटपिट, यौनहिंसा, मानसिक यातना बढी देखिन्छन् । घरेलु हिंसाका घटना बढीजसो मदिरा सेवनका कारण हुने गरेको अधिवक्ता गीता कोइराला बताउँछिन् । कतिपय घटना मदिरा सेवनपछि हुने र केही घटना भने हिंसा गर्ने मनस्थिति बनाएर मदिरा सेवन गरेर हुने गरेको उनको भनाइ छ । यस्तो प्रकृतिको हिंसाबाट अधिकांश महिला (श्रीमती) र उनका छोराछोरी पीडित भएको उनले बताइन् । ‘मदिराले उन्माद भएर जाने अनि श्रीमती वा परिवारका अरू सदस्यमाथि कुटपिट गरेको भनेर आउँछ, तर परस्त्रीसँग सम्बन्ध भएका पुरुषले भने ‘घरमा भएकी श्रीमतीलाई पन्छाउनुपर्ने’ मनस्थिति बनाएर मदिरा सेवन गरी हिंसा गर्ने गरेको मुद्दा पनि आउँछ,’ उनले भनिन्, ‘पुरुषको बाहिर सम्बन्ध नभए पनि मदिरा सेवनपछि घरपरिवारलाई हिंसा गर्ने गरेको मुद्दा आउँछन् ।’ घरेलु हिंसाका कारण महिलाले अहिले पनि चरम यातना खेप्नुपरेको अधिवक्ता कोइराला बताउँछिन् । उनका अनुसार श्रीमान बाहेक घरपरिवारका अरू सदस्यले पनि बुहारीमाथि हिंसा गर्ने गरेका छन् । माइतीको आर्थिक अवस्था कमजोर भएका, घरभित्रको काममा मात्र सीमित भएका महिलालाई विवाहपछि घरपरिवारका अरू सदस्यले हिंसा गर्ने गरेको उनले बताइन् । त्यस्ता महिलाका सासूससुराले छोरालाई साथ दिएर एकहोरो हिंसा गरेको उनी बताउँछिन् ।
पछिल्लो समय आउने घरेलु हिंसाका घटनामा सुरुमै घर निकाला भने कम भएको उनले बताइन् । उनका अनुसार पछिल्लो समय घरेलु हिंसाबाट पुरुषहरू पनि पीडित बनेका छन् । तर पीडित महिलाको संख्यामा भने नगन्य रहेको उनले बताइन् । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीका अनुसार घरेलु हिंसाबाट परिवारका जोकोही सदस्य पनि पीडित हुने अवस्था देखिएको छ । ‘पहिले महिलाहरू, विशेष गरी श्रीमतीहरू पीडित भयौं भनेर आउँथे, अहिले परिवारका अरू सदस्य पनि पीडित भयौं भनेर आउनुहुन्छ,’ उनले भनिन्, ‘सासूहरू बुहारीबाट घरेलु हिंसा भयो भनेर आउनुहुन्छ, बाबाआमा पनि छोराछोरीले नहेरेको भनेर आउने गर्नुभएको छ ।’ उनका अनुसार घरेलु हिंसाबाट पीडित महिलामध्ये धेरैजसो श्रीमान्ले नागरिकता नबनाइदिएको, विवाह दर्ता नगरिदिएको, छोराछोरीको जन्मदर्ता नबनाइदिएको लगायतका समस्या लिएर निकायसम्म पुग्ने गरेका छन् । वैदेशिक रोजगारीमा भएका श्रीमानले सामाजिक सञ्जालको प्रयोगमार्फत श्रीमतीमाथि घरेलु हिंसा गर्ने गरेको उनको बुझाइ छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार यसभन्दा अघिल्ला तीन आर्थिक वर्षमा जम्मा घरेलु हिंसाका उजुरी २ हजार ६२१ वटा परेका छन् । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार यीमध्ये २०८५ वटा घरेलु हिंसाका उजुरी मिलापत्रमार्फत टुंग्याइएका छन् । ५ सय १० वटा उजुरी मात्र सम्बन्धित निकाय (अदालत) मा पठाइएको उनले बताए । कर्णाली प्रदेशभर आर्थिक वर्ष २०७८-०७८ मा ८ सय ८३ उजुरी, २०७९-०८० मा ८ सय ५८ उजुरी र २०८०-०८१ मा ८ सय ८० वटा घरेलु हिंसाका उजुरी प्रहरीसमक्ष आएको उनले जानकारी दिए । सुर्खेत जिल्ला अदालतमा चालु आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्म ३१ वटा घरेलु हिंसाका मुद्दा परेका छन् । तीमध्ये सातवटा फैसला भएर टुंगिएको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार सन् २०२४ मा कर्णाली प्रदेशमा ६०० भन्दा बढी मानव अधिकार हननका घटना भएका छन् । त्यसबाट महिला बढी पीडित छन् भने दोस्रोमा बालबालिका पर्छन् । महिला पीडित बनेका मानव अधिकार हननका घटना धेरैजसो घरेलु हिंसासँग सम्बन्धित छन् ।
इन्सेकले संकलन गरेको सन् २०२४ का मानव अधिकार हननका कुल घटनामध्ये ३ सय १२ वटा घटना घरेलु हिंसाका छन् । यसरी विभिन्न प्रकृतिका घरेलु हिंसा हुने गरे पनि नजिकको न्यायिक समितिमा उजुरी गर्ने चलन भने कर्णालीमा न्यून रहेको देखिन्छ ।
खुलानजर । २८ फाल्गुन २०८१, बुधबार १२:४२