कर्णालीका दलित समुदायले किन दिए प्रदेश सभामा धर्ना ?

सुर्खेत:  कर्णाली प्रदेशका दलित समुदायले कर्णाली प्रदेश सभामा धर्ना दिएका छन् । करिब २९ प्रतिशत जनसंख्या भएको प्रदेशमा दलितलाई उपेक्षा गरेर नीति तथा कार्यक्रम ल्याएकाेले प्रदेश सभामा धर्ना दिएको दलितका लागि दलित आन्दोलन नेपालका संयाेजक खगेन्द्र सुनारले बताए ।
`२९ प्रतिशत दलित भएकाे प्रदेशमा दलितलाई नै उपेक्षा गरेर नीति तथा कार्यक्रम ल्याइएको छ । त्याे हाम्रा लागि मान्य छैन,`संयाेजक सुनारले भने, `आज बजेट भाषण सुन्न दलितहरु प्रदेश सभामा आएका छाैं ।´ जबसम्म दलित लक्षित कार्यक्रम आउँदैन तबसम्म आन्दोलन जारी रहने उनकाे भनाइ छ ।


कर्णाली प्रदेश सरकारले आज अगामी आर्थिक २०८०/८१ को बजेट ल्याउँदैछ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।
कर्णालीमा चालू आर्थिक वर्षमा ३२ अर्ब ६१ करोड ६१ लाख रूपैयाँको बजेट ल्याइएको थियो । यो पटक संघीय अनुदान बढेर आएकाले आगामी बजेटको आकार थोरै बढ्ने बताइएको छ ।
प्रदेश सरकारले वर्षमा १० हजार जनालाई रोजगारी दिने महत्वकांक्षी योजना नीति तथा कार्यक्रममा समावेश गरेको गरेको छ ।
प्रदेश सरकारले प्रत्येक सांसदलाई ४ करोड रूपैयाँबराबरको योजना छनोट गर्न पाउने अधिकारसहित सांसद विकास कोष पनि ब्यूँताउने तयारी गरेको छ ।