चैत चार गतेबाट हुने कोहलपुर गोल्ड कपमा आठ टिमले भाग लिने


शिवानी वि.क.
बाँके: यही चैत ४ गतेबाट प्रथम कोहलपुर गोल्डकप २०७९ बाँकेको कोहलपुरमा हुने भएको छ । `स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद´ भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रथम कोहलपुर गोल्डकपमा आठ टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजकका अनुसार एफसी क्लब क्यामरुन, हिमालयन शेर्पा, कपिलवस्तु ११, संकटा क्लब काठमाण्डौं, साहारा क्लब भारत, ब्वाईज युनियन क्लब काठमाण्डौं, नवलपरासी ११ र रेसिङ्गा साहारा क्लब प्रतियोगितामा भाग लिनेछन् ।
प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुनेछ । कोहलपुर गोल्डकप कोहलपुर-२ तेह्र विगाहमा हुने भएको छ । गोल्डकपका प्रथम विजेताले नगद सात लाख रुपैयाँ नगदसहित मेडल ट्रफी र प्रमाणपत्र पाउने भएका छन् भने उपविजेताले नगद तीन लाख ५० हजारसहित मेडल ट्रफि र प्रमाणपत्र पाउने रेसिङ्गा साहारा क्लब बाँकेले जानकारी दिएको छ । आगामी चैत्र ४ गते हुने गोल्डकपको शुभकामना दिँदै कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्णप्रसाद आर्चायले कोहलपुर गोल्डकप २०७९ लाई भव्य रुपमा सफल पार्न सबै एकजुट भई सहयाेग गर्न अनुरोध गरे ।
खेल अवधिभर आवश्यक परेको खण्डमा नगरको तर्फबाट हुने सम्पुर्ण सहयोग र साथ रहने नगरप्रमुख आचार्यले प्रतिवद्दता व्यक्त गरे ।
यता कोहलपुर गोल्ड कपलाई मध्यनजर गरी सुरक्षाको अवस्थाकाे कडाइ , सुरक्षा व्यस्थालाई थप मजबुद बनाउन र भौतिक निर्माणका कामहरुमा समन्वय, सहकार्य गरी तयारी थालेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरिक्षक (डएसपी) सुन्दर तिवारीले बताए । बाँकेको खेल जगतलाई विश्वमा चिनाउन र राष्ट्रिय खेलाडीहरुको उत्पादन गर्न याे प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने रेसिङ्गा साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।
प्रतियोगिता सम्पन्न गर्न आयोजकले ८० लाख रुपैयाँको अनुमानित खर्च हुने जनाएको छ । त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक हुलास खाद्य उद्योग प्रालि छ भने प्रवन्धक कोहलपुर नरपालिका रहएकाे छ ।