प्रचण्ड, माधव र विप्लवको एउटै स्वर—कम्युनिष्ट आन्दोलनलाई बचाइराख्न मोर्चा !

सुर्खेत: नेकपा माओवादीका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी परिषद् समिति सदस्य प्रकाश अधिकारीले कर्णाली प्रदेश स्तरीय समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गरेका छन् । उनीहरुले कम्युनिष्ट आन्दोलनको उपलब्धिलाई बचाउन समाजवादी कम्यूनिष्ट शक्तिहरु एक ठाउँमा उभिएको बताएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताए ।
उनले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएकोले यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्न अनुरोध गरे ।
उनले कम्युनिस्ट आन्दोलन लगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै यो अवस्थामा क्रान्तिकारीहरु चनाखो हुनुपर्नेम जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाउँदा सबैभन्दा बढी आफू खुसी भएकोले अझै ठूलो मोर्चा बनाउनुपर्ने औंल्याए ।
त्यस्तै उनले नेकपाका महासचिव विप्लवको प्रशंसा गर्दै उनकै सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढेपनि आफूहरु एक ठाउँमै रहेर अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
‘यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ । अहिले धारे हात लगाउनेहरु नक्कली कम्युनिस्ट हुन्,’उनले भने, ‘म राम्रो काम गर्छु, सत्ता टिक्ने कुरासँग मेरो कुनै स्वार्थ छैन । राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरुलाई सह्य भएको छैन ।’
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा कांग्रेस र एमालेलाई लक्षित गरेको भन्ने टिप्पणी गलत रहेको दाबी गरे । माओवादीका नेता कार्यकर्ता र स्वयंम आफ्नै त्यस्तो विषय आएपनि कारबाहीको भागेदार हुने बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई बचाउन समाजवादी मोर्चाको आवश्यकता रहको बताए ।
समाजवादी मोर्चाले सरकार ढल्छ कि भन्ने आंकलनहरु पनि भइरहेको भन्दै अध्यक्ष नेपालले सरकार कुनै हालतमा नढल्ने दाबी गरे । ‘मोर्चा बन्दा कांग्रेसलाई चिसो बस्यो कि भन्ने आंकलनहरु भइरहेका छन्, त्यो गलत हो बरु वर्तमान सरकार बचाउनका लागि भूमिका निर्वाह गर्ने भएकोले तातो पसेको छ,’अध्यक्ष नेपालले भने, ‘एकतामा नै शक्ति मिल्ने भएकाले समाजवादी शक्तिहरु एक ठाउँमा आएका हौं ।
उनले एमसीसी संविधानमाथि नहुने भनेपछि आफूहरुले सहमति जनाएको भन्दैै अनुचित सम्झौता स्वीकार्य नहुने बताए ।
अध्यक्ष नेपालले समाजवादी मोर्चा जनताको पक्ष र जनतालाई सुखी बनाउनका लागि बनाइएको दावी गर्दै मोर्चामा रहेका दल र नेताहरुबीच पालिकादेखि नै एक आपसमा समझदारी हुनुपर्नेमा जोड दिए ।
त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसिसी नेपालको हितमा नरहेको बताए । उनले एमसिसीले देशलाई युक्रेन बनाउने बताए ।
अमेरिकाले अनुदानका नाममा नेपालमाथि हस्तक्षेप गर्न थालेको उनको आरोप छ ।
‘नेपालीलाई ५० अर्बको अनुदान आवश्यक छैन । यसले देशलाई नै ध्वस्त बनाउँछ,’उनले भने, ‘यदी प्रचण्डको ठाउँमा अरु कोही आए देश युक्रेन बन्ने निश्चित छ ।’
उनले एमसिसीविरूद्व आफूहरू सडकमा आइसकेको बताउँदै यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताए ।
उनले धर्म र गैससका नाममा गाउँ गाउँ पुगेर कम्युनिस्टहरूलाई सिध्याउने खेल भइरहेको बताउँदै सरकार, सदन र सडकबाट लड्ने बेला आएको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारले सुशासनका क्षेत्रमा महत्त्वपूर्ण कामहरू गरिरहेकोले यसलाई आफ्नो पार्टीले पूर्ण समर्थन गरेको बताए ।
‘पछिल्लो समय कम्युनिस्ट कार्यकर्ताहरू भ्रष्टाचारमा लिप्त भएका छन् । वडादेखि सिंहदरबारसम्म भ्रष्टाचार छ,’ उनले भने, ‘यसका विरुद्ध सरकारले खेलेको भूमिका महत्वपुर्ण छ । त्यसैले हामीले समर्थन गरेका हौं ।’
महासचिव विप्लवले दलाल पुँजीपतिले नेपाललाई गम्भीर मोडमा लगिरहेको आरोप समेत लगाए । त्यस्तै जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी परिषद् समिति सदस्य प्रकाश अधिकारीले भूराजनीतिक अवस्था नेपालमा सहज नभएको बताउँदै त्यसमा प्रधानमन्त्रीले सचेत रहन सुझाव दिए । उनले मुलुकमा सुशासनको अवस्थालाई सुधार ल्याउन यो मोर्चाले महत्वपुर्ण भूमिका खेल्ने बताए ।

मोर्चाको प्रदेश कमिटी घोषणा
समाजवादी मोर्चाको कर्णाली प्रदेश कमिटी घोषणा भएको छ । प्रदेशस्तरीय समाजवादी मोर्चामा विमला केसी, कृष्णबहादुर जिसी, अमरबहादुर थापा लगायतका नेताहरु रहेका छन् ।
समाजवादी मोर्चाको कर्णाली प्रदेशको सन्देश सभामा नेकपा (एकीकृत समाजवादी) बाट पार्टीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अमरबहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् । नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी तथा जसपाबाट देविराज न्यौपाने, गगनबहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।