कर्णालीका सांसदको बठ्याइँ : स्वकीय सचिवमा आफ्नालाई काखा, कार्यकर्तालाई पाखा !


सुर्खेत: कर्णाली प्रदेश सभाका सांसदहरुले स्वकीय सचिवमा आफ्ना नातेदारहरुलाई नियुक्त गरेको पाइएको छ । कर्णाली प्रदेशसभाका अधिकांश सांसदले स्वकीय सचिव परिवारका सदस्य र नजिकको नातेदारलाई नियुक्त गरेको पाइएको हो । मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित भएका प्रदेश सांसदहरूले नियमानुसार पाउने सुविधाअन्तर्गत स्वकीय सचिव नियुक्त गरेको विवरण प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।

प्रदेश सभा सचिवालयले दिएके जानकारी अनुसार प्रदेशसभाका ४० सांसदमध्ये हालसम्म ३६ जनाले स्वकीय सचिव नियुक्त गरिसकेका छन् । प्रदेशसभा सचिवालयका अनुसार यामलाल कँडेल, राजीवविक्रम शाह, विनोदकुमार शाह र टेकराज पछाईले मात्र स्वकीय सचिव नियुक्त गरेका छैनन् । तीमध्ये शाह र पछाई एमालेका तर्फबाट मन्त्री छन् । उनीहरूले मन्त्रीकै रूपमा सचिवालयको सुविधा पाउँछन् । मन्त्रीहरुले अधिकृत स्तरको प्रमुख स्वकीय सचिव एक जना, नासु स्तरका दुइ जना स्वकीय सचिव राख्न पाउँछन् ।
हुम्लाका एमाले सांसद कलबहादुर हमालले आफ्नै ज्वाइँ सन्तोष शाही, गमता विकले ज्वाइँ दानबहादुर विक, कांग्रेस सांसद इन्द्राकुमारी शाहीले दीपेन्द्र शाही, घनश्याम भण्डारीले भाइ कलम भण्डारी (ठूलो बुवाको छोरा), पूर्णबहादुर खत्रीले भतिजा (दाइको छोरा) राजन केसीलाई नियुक्त गरेका छन् ।
कांग्रेस सांसद हिक्मतबहादुर विष्टले छोरा उपेन्द्र विष्ट, एमालेका सांसद दक्षिणा शाहीले छोरा भुवन शाही, माओवादी केन्द्रका सांसद दुर्गबहादुर रावतले पनि छोरा जीवन रावतलाई नायब सुब्बा वा सो सरहको स्वकीय सचिव पदमा नियुक्त गरेको पाइएको छ ।
डोल्पाका सांसद बीरबहादुर शाहीले जीत बम ठकुरीलाई नियुक्त गरेका छन् । उनी सालो नाता पर्छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले रोशन शाहीलाई नियुक्त गरेका छन् । उनी नातामा मल्लको नाति पर्छन् ।
भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री उर्मिला विकले भतिजा रवीन्द्र विश्वकर्मा (जेठाजुका छोरा)लाई नियुक्त गरेकी छन् ।
स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले सहोदर भाइ विनोद शाहीलाई स्वकीय सचिव नियुक्त गरेका छन् । खड्क पोखरेलले भतिजा सञ्जय पोखरेल र महेन्द्र केसीले हिरालाल केसीलाई नियुक्त गरेका छन् ।
बेदराज सिंहले स्वकीय सचिवमा आफ्नै ठूलोबुवाको छोरा भाइ रणबहादुर सिंहलाई नियुक्त गरेका छन् ।
अधिकांश सांसदले पारिवारिक नातेदारलाई स्वकीय सचिव नियुक्त गरिरहेका बेला केही सांसदले भने आफन्तलाई त्यागेर कार्यकर्तालाई नियुक्त गरेका छन् ।

सभामुख नन्दा गुरुङले गंगाराम तिमिल्सेना, विपक्षी दलको नेता जीवनबहादुर शाहीले राज बहादुर रोकाया र उपसभामुख यशोदा न्यौपानेले तारा न्यौपानेलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन अनुसार सभामुख, विपक्षी दलको नेता र उपसभामुखको स्वकीय सचिव शाखा अधिकृतस्तरको नियुक्त भएका हुन् ।
सभामुख गुरुङका स्वकीय सचिव तिमिल्सेना एमाले जिल्ला सचिवालय सदस्य हुन् भने उपसभामुख न्यौपानेकी स्वकीय सचिव नियुक्त माओवादी कार्यकर्ता तारा कालीकोटको पचालझरना गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन् ।

राप्रपाकी सांसद सन्तोषी शाहीले जिल्लास्तरीय कार्यकर्ता पार्वती चन्दलाई नियुक्त गरेकी छन् । माओवादी केन्द्रका सांसद विन्दमान विष्टले पदमबहादुर गुरुङ, कांग्रेसका लक्ष्मी सुनारले दीपेन्द्र विष्ट, कृष्णबहादुर बिसीले महेन्द्र सापकोटा, सुरेश अधिकारीले मोहन शर्मा, बलिमाया बुढाले भुपाल गुरुङ, कृषिमन्त्री भीमप्रकाश शर्माले भीमबहादुर परियार, मुख्यमन्त्री राजकुमार शर्माले कृष्णबहादुर रोकालाई नियुक्त गरेका छन् ।
एमालेका शेरबहादुर बुढाले पदम बुढालाई नियुक्त गरेका छन् । रणसिंह परियारले टीकाबहादुर शाही, विजया बुढाले नवराज भण्डारी, जुम्कित लामा कार्कीले नवराज शाही, कल्याणी खड्काले हुकुम बिसी, मिलन खड्का रोकाले कोपिला बीएम, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंगलबहादुर शाहीले नरेश स्थापितलाई नियुक्त गरेका छन् ।

चुनावमा कार्यकर्ताको साथ खोज्ने, युवालाई जागिरको आश्वासन दिँदै परिचालन गर्ने नेताहरूले जितिसकेपछि परिवारका सदस्य र निकटका नातेदारलाई मात्र अवसर दिँदा आफुहरु मर्कामा परेको पार्टीका कार्यकर्ताहरुले गुनासो गरेका छन् ।
कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार सभामुख, उपसभामुख र विपक्षी दलको नेताले राजपत्रांकित तृतीय श्रेणी वा सो सरहको कर्मचारीलाई स्वकीय सचिव नियुक्त गर्न पाउँछन् । त्यसबाहेक प्रदेशसभाका पदाधिकारी र सदस्यहरूले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा वा सो सरहको स्वकीय सचिव नियुक्त गर्न पाउने ऐनमा व्यवस्था छ ।