डा‍‍‍‍. श्यामकृष्णको यात्रा, साधारण गाउँदेखि प्रहरी अस्पतालसम्म !

बुवा स्व. टंक प्रसाद लौडारी र आमा मिना कुमारी लौडारीको कोखबाट २०४४ साल मंसिर २९ गते तनहुँ जिल्ला, हाल को भानु नगरपालिका -७ मा जन्मिएका डा. श्याम कृष्ण लौडारी कर्णाली प्रदेश प्रहरी अस्पतालका अस्पताल प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक हुन् । हाल उनी चितवन भरतपुर महानगरपालिका ११ मा बस्दै आएका छन् । उनले एचए स्कुल अफ हेल्थ साईन्स र एमबिबिएस चितवन मेडिकल कलेजमा गरे । उनले काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालबाट हाड जोर्नी तथा नशा रोगमा ०८० साल मा स्नातकोत्तर समेत गरेका छन्।
बहालमा रहेका प्रहरी प्रहरीका परिवार भूपु प्रहरी तथा सर्वसाधारण समेतका लागि नेपाल प्रहरीको केन्द्रीय स्तरमा नेपाल प्रहरी अस्पताल छ। देश संघीय संरचनामा गएपछि प्रदेशहरूमा पनि प्रहरी अस्पतालका शाखाहरू खोलिएकोमा कर्णाली प्रदेशमा प्रहरी अस्पतालको कान्छो शाखाको रूपमा कर्णाली प्रदेश प्रहरी अस्पताल सञ्चालनमा आई सेवा विस्तार भएको छ। सर्वसाधारणलाई समेत उपचार गर्ने गरी गत पुस ३० गतेबाट अस्पतालको विस्तारित सेवा सुरु गरिएकाे छ। यसरी अस्पताललाई द्रुत रुपमा सञ्चालन गर्ने र सेवा विस्तार गर्ने क्रममा लागिरहेका अस्पतालका प्रमुख उनै डा. लौडारीसँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
मेरो जन्म तनहुँ जिल्लामा भएको हो। त्यसबेला पञ्चायती व्यवस्था को अन्तिम समय चल्दै थियो। मेरो जन्म सामान्य परिवारमा भयो र साधारण तरिकाले नै बित्यो । म चार दाजु र तिन दिदी को सबैभन्दा कान्छो भाई हो । म हालको प्रशासनिक संरचना अनुसार भानु नगरपालिका वडा ठ बसन्तपुर मा जन्मेको हो । मेरो बाल्यकाल तनहुँ जिल्लामै बित्यो। जन्मदेखि करिब नौ वर्षको उमेरसम्म म तनहुँमै बसेँ। गाउँमै हुर्किएँ, गाउँकै परिवेशमा बाल्यकाल बित्यो। त्यसपछि अध्ययनको उद्देश्यले म चितवन आएँ। चितवनमा हाम्रो परिवारका दाजुहरू बस्नुहुन्थ्यो, त्यसैले पढाइका लागि म त्यतै आएँ। चितवन आएर मैले सुरुमा दुई वर्ष अध्ययन गरेँ। त्यसपछि म भानुभक्तको जन्मस्थल तनहुँ जिल्ला चुदीरम्घा नजिक रहेको एक बोर्डिङ स्कुलमा पढ्न गएँ। उक्त विद्यालयको नाम एकता सदन बोर्डिङ स्कुल थियो। त्यहाँ मेरा दाजु अध्यापन गर्नुहुन्थ्यो। त्यसैले भाइलाई यहीँ पढाउँछु भन्ने सोचले मलाई त्यहीँ लग्नुभयो । तर मैले त्यहाँ करिब डेढ वर्ष मात्र अध्ययन गर्न पाएँ। त्यो समय माओवादी सशस्त्र द्वन्द्व चरम अवस्थामा पुगेको थियो। देशभर अशान्ति फैलिएको थियो। त्यसको प्रभाव विद्यालय क्षेत्रमा पनि पर्यो। धेरै बोर्डिङ स्कुलहरू बन्द भए, अवस्था असहज भयो, त्यसैले बोर्डिङमा अध्ययन गर्न सम्भव भएन। त्यसपछि म पुनः चितवन फर्किएँ। चितवनमै मैले कक्षा ८ देखि १० अध्ययन गरेँ। मैले नारायणी माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी परीक्षा पास गरेँ।

विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?

विद्यार्थी जीवनमा मेरो मुख्य लक्ष्य वकिल बन्ने थियो। वकिल बन्ने चाहना मेरो पहिलो प्राथमिकता थियो। दोस्रो प्राथमिकतामा डाक्टर बन्ने सोच पनि थियो। तर डाक्टर पढ्ने कुरा त्यसबेला खासै दिमागमा आएको थिएन। मलाई प्रायः लाग्थ्यो म वकिल नै बन्छु, वकिल बन्नुपर्छ भन्ने चाहना थियो।

वकिल पढ्न छोडेर डाक्टर बन्ने सोच कसरी आयो ?

एसएलसी पास गरेपछि मेरो घर–परिवारको आर्थिक अवस्थाका कारण प्लस–टु पढ्नसमेत कठिन थियो। निजी कलेजमा पढ्ने अवस्था थिएन। त्यसैले मैले सरकारी कलेज अध्ययन गर्ने सोच बनाएँ। मैले वीरेन्द्र क्याम्पसमा आईए विषय लिएँ। त्यसमा अंग्रेजी र गणित विषय पढेँ। तर आईए पछि फेरि बीए, त्यसपछि एमए गर्नुपर्ने लामो शैक्षिक यात्रा देखियो। त्यो बाटो धेरै समय लाग्ने र खर्चिलो पनि थियो। मेरो परिवारको अवस्थाले त्यति लामो समय को लगानी धान्न सक्ने अवस्था थिएन। त्यही समयमा दाजुले मलाई प्राविधिक विषय पढेमा छिटो रोजगारी पाइन्छ भनेर सल्लाह दिनुभयो । प्राविधिक शिक्षा लिएपछि छिटो काम सुरु गर्न सकिन्छ, आम्दानी गर्न सकिन्छ र परिवारको आर्थिक भार कम हुन्छ भन्ने कुरा मलाई व्यवहारिक लाग्यो।

पढाईको यात्रा कस्तो रह्यो ?

मैले एचए इन्ट्रासका लागि स्कल अफ हेल्थ साईन्स कलेजमा दरखास्त दिएँ। तर पहिलो वर्ष मेरो नाम निस्किएन। तर दोस्रो वर्ष खुला कोटाबाट मेरो नाम निस्कियो। त्यतिबेला सरकारी कलेजमा अध्ययन सस्तो थियो, मासिक करिब २,००० रुपैयाँ छात्रवृत्ति पनि पाइन्थ्यो। सुरुमा करिब ३०,००० रुपैयाँ तिर्नु परेको थियो। तर पहिलो, दोस्रो र तेस्रो वर्षमा छात्रवृत्तिको कारण पढाइको खर्च सहज भयो। जम्मा करिब ६० जना विद्यार्थीमध्ये खुला कोटामा करिब द्धछ जना मात्र लिइन्थ्यो तर दरखास्त भने १२,१३०० जनाको पर्थ्यो। । त्यहाँ पनि राम्रै अंकले उत्तीर्ण गरें । जागरिको लागि मैंले सिन्धुपाल्चोकमा गएँ । म एचए अध्ययन गरेको मान्छे सिएमएको जागिरमा जाँदा अब माथि धेरै बढिँदैन भनेर अब एमबिबिएस पढ्छु भनेर इन्ट्रासको परिक्षामा लागें । बिपिएचमा पनि इन्ट्रास दिएँ तर दुबै ठाउँमा नाम निस्कियो । एमबिबिएस पढन्को लागि मेरो परिवारको हैसियत थिएन । केहि समयसम्म बिबिएच पढें ।

प्रहरीको डाक्टर किन रोज्नुभयो ?

पहिलो कुरा, नेपालमै बसेर केही गर्छु भन्ने मेरो दृढ सोच थियो। विदेश जाने कल्पना मैले कहिल्यै गरेको थिइनँ। त्यसैगरी, सरकारी सेवामा प्रवेश गर्ने, विशेष गरी निजामती सेवामा काम गर्ने मेरो प्रारम्भिक योजना थियो। त्यसैअनुसार मैले स्वास्थ्य मन्त्रालय अन्तर्गत मेडिकल अधिकृत पदको तयारी गरिरहेको थिएँ। मेडिकल अधिकृतको प्रतियोगी परीक्षा फागुन महिनामा हुने कार्यक्रम थियो। यही बीचमा प्राविधिक प्रहरी ९स्वास्थ्यतर्फ० को परीक्षा असार महिनामा भयो। प्रहरी सेवाको तयारी मैले मुख्यतया अनुभव प्राप्त गर्ने उद्देश्यले गरेको थिएँ। प्रहरी सेवामा मेरो नाम निस्कियो। मैले यसलाई अवसरको रूपमा लिएँ। सुरुमा अनुभवका लागि भनेर तयारी गरे पनि, एकपटक नाम निस्किएपछि जुनसुकै हालतमा भए पनि जिम्मेवारीपूर्वक काम गर्छु भन्ने प्रतिबद्धताका साथ प्रहरी सेवामा प्रवेश गर्ने निर्णय गरेँ । हाल म कर्णाली प्रदेश प्रहरी अस्पताल प्राविधिक प्रहरी नायब निरीक्षक वा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको छु ।

प्रहरी कर्मचारीहरूलाई कसरी सेवा दिइरहनुभएको छ ?

कर्णाली प्रदेश प्रहरी अस्पताल, वीरेन्द्रनगर सुर्खेतको विस्तारित स्वास्थ्य सेवा अन्तरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, माइनर अप्रेसन सेवा, जनरल, हाडजोर्नी तथा आँखा रोग ओपिडी सेवा र सर्वसाधारण उपचार सेवाको उद्घाटन  ०८२  पुस ३० गते सम्पन्न भयाे।
उक्त कार्यक्रम कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयाे।
प्रहरी सेवा जोखिमपूर्ण र मानसिक दबाबयुक्त हुने भएकाले स्वास्थ्य सेवालाई समग्र रूपमा हेर्न आवश्यक ठान्दछु। यसै अनुरूप प्रहरी कर्मचारीहरूलाई बाह्य तथा आन्तरंग सेवा, जनरल ओपिडी सेवा, हाडजोर्नी, आँखा तथा सामान्य रोगसम्बन्धी उपचार, प्रयोगशाला परीक्षण सेवा, फार्मेसी सेवा, माइनर अप्रेसन सेवा, आकस्मिक स्वास्थ्य सेवा नियमित रूपमा उपलब्ध गराइरहेको छु। ड्युटीका क्रममा आइपर्ने तनाव, चिन्ता, मानसिक थकानलाई प्रहरी कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत गराउँदै आएको छु।

भावी योजना के छ ?
कर्णाली प्रदेशमा सुविधा सम्पन्न अस्पतालहरूको विकास हुन जरुरी छ। समग्र कर्णाली प्रदेशको स्वास्थ्य सुधार गर्नको लागि प्रहरीको अस्पताल पनि सहायक बनोस् पनि हामीले प्रयासहरु थालेका छौं यो अस्पतालमा प्रहरी प्रहरी परिवार मात्र नभई आम सर्वसाधारणलाई समेत सेवा सुरु गरिएकोले यसको सेवा चुस्त दुरुस्त र गुणस्तरीय बनाउन पहल गरिरहेका छौं अस्पतालको लागि आफ्नै जग्गा सुविधा सम्पन्न भवन र स्वास्थ्य उपकरणहरू जुटाउनतर्फ पनि हामी अग्रसर छौँ।