आर्थिक अभावले १५ वर्षीय सुरेशको उपचारमा समस्या

                                                                                 क्यान्सर पीडित १५ वर्षीय सुरेश ।

सुर्खेत: दैलेखको ठाँटीकाँध गाउँपालिका—२ प्याडुलीका १५ वर्षीय सुरेश विक विगत ३८ दिनदेखि अस्पतालको शैयामा जीवन र मृत्यूसँग लडिरहेका छन् । उनलाई ब्लड र छालाको क्यान्सर लागेको छ । उपचारका लागि काठमाण्डौंको निजामति कर्मचारी अस्पतालमा उपचाररत छन् । तर आर्थिक अभावले उनको उपचार प्रक्रिया अगाडी बढ्न सकेको छैन । छालाको क्यान्सरको उपचारका लागि निजामति अस्पतालले शिक्षण अस्पतालमा लिन रेफर गरेको छ ।
आर्थिक अभावका कारण छोराको उपचारमा समस्या आएको सुरेशका बुवा चिनबहादुर विकले बताए । चिनका अनुसार विगत एक वर्षदेखि आफुहरुले घर बनाउने काममा ज्याला मजदुरी गरी छोराछोरीलाई पालनपोषण र पढाई लेखाई गराउँदै आएका थिए ।
‘दैलेखमा जिविका चल्न समस्या भएपछि वीरेन्द्रनगरमा जहान केटाकेटी ल्याएर भाडामा बसेको थिएँ,’चिनले भने, ‘घर बनाउने काम गरेर दुई छोरा र एक छोरीलाई सरकारी स्कुलमा पढाउँथे । अहिले छोरालाई दुई—दुईवटा क्यान्सर लागेपछि मेरो त होस् नै हराएको छ ।’ चिनबहादुरले सहयोगीदाताको सानो सहयोगले छाराको ज्यान बच्ने भएकोले सहयोगको याचना गरेको छन् ।
सुरेश वीरेन्द्रनगर—२ स्थित प्रभात माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै थिए । छोराको उपचारका लागि चिनबहादुरले सहयोगीदाताहरुलाई आफ्नो ग्लोबल आई.एम.ई. बैंक सुर्खेतको खाता नम्बर ०३००७०१०१८६३३९ मा सहयोग गरिदिन अनुरोध गरेका छन् । सहयोग बारे केही बुझ्नपरे आफ्नो मोबाइल नम्बर ९७६२४३६२३८ मा सम्पर्क गर्न सकिने उनको भनाई छ ।