कर्णालीका पाटनमा मृत्यु, घट्दो उत्पादन र बढ्दो निर्भरता

सुर्खेत: जीविकोपार्जनको विकल्प अभावमा कर्णालीका हजारौं नागरिक हरेक वर्ष ज्यानको जोखिम मोलेर हिमाली पाटनतिर उक्लिन्छन्। बहुमूल्य जडीबुटी यार्चागुम्बा संकलन उनीहरूको मुख्य आयस्रोत बनेको छ, तर यसै क्रममा बर्सेनि ज्यान गुमाउने, घाइते हुने र बिरामी पर्ने घटनाहरू दोहोरिरहेका छन्। गत वर्ष जेठ १५ मा डोल्पाको काइकेस्थित नावरपानी पाटनमा यार्चा टिप्न पुगेका जाजरकोटको नलगाड नगरपालिका–८ का १९ वर्षीय धनलाल विकको लेक लागेर मृत्यु भयो। उनी चार दिन पैदल हिँडेर बुबा हरिबहादुरसँगै पाटन पुगेका थिए। २०८० सालको भूकम्पले घर भत्किएपछि आर्थिक संकट झेलिरहेको परिवार यार्चा संकलनमार्फत गुजारा चलाउने आशामा पाटन पुगेको थियो। तर आम्दानीको सट्टा हरिबहादुरले छोराको शव बोकेर फर्किनुपर्‍यो। अहिले पनि उनीहरू अस्थायी टहरामै बसिरहेका छन्।
यसैगरी, जेठ ८ मा जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्लागाउँकी २७ वर्षीया कल्पना शाहीको यार्चा पाटनमै चट्याङ लागेर मृत्यु भयो। त्यसको एक दिनअघि जुम्लाकै गुठीचौर गाउँपालिका–१ का भीमबहादुर बोहोराले डोल्पाको जगदुल्ला पाटनमा लेक लागेर ज्यान गुमाएका थिए। यस्ता घटनाले कर्णालीमा यार्चा संकलन जोखिमपूर्ण पेशा भएको पुष्टि गर्छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा यार्चा संकलनका क्रममा कर्णालीका विभिन्न पाटन पुगेका २६ जनाको मृत्यु भएको छ। गत वर्ष मात्रै ५ जनाले ज्यान गुमाएका थिए भने २९ जना घाइते र ३३ जनाको उद्धार गरिएको थियो। तीन वर्षको अवधिमा ८२ जनाको उद्धार गरिएको तथ्यांक छ।
कर्णालीका अधिकांश दुर्गम बासिन्दाका लागि जडीबुटी संकलन, विशेषगरी यार्चागुम्बु, मुख्य आम्दानीको स्रोत हो। अन्तर्राष्ट्रिय बजारमा यसको उच्च माग र मूल्यका कारण हरेक वर्ष हजारौं स्थानीय हिमाली पाटनतर्फ लाग्ने गर्छन्।
डोल्पाको काइके गाउँपालिका–१ का दरिभान बुढाका अनुसार यार्चा संकलनका लागि कम्तीमा चार दिनसम्म अनकन्टार भीरपहरा छिचोल्दै यात्रा गर्नुपर्छ। ‘कम उचाइबाट एक्कासि हिमाल पुग्दा लेक लाग्ने जोखिम अत्यधिक हुन्छ,’उनले भने, ‘४०–५० किलोसम्मको सामान बोकेर लगातार हिँड्दा स्वास्थ्य समस्या पनि देखिन्छ।’
दुई दशकदेखि पाटन जाने गरेका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१ का करण परियारका अनुसार यात्रा निकै जोखिमपूर्ण हुन्छ। ‘तल भेरी नदी, माथि ठाडो भीर, सामान्य गोरेटो पनि हुँदैन,’उनले भने, ‘चिप्लिए ज्यान गुमाउनु बाहेक विकल्प हुँदैन।’
पाटन पुगेपछि पनि जोखिम टर्दैन। लेक लाग्ने, हिउँमा चिप्लिने, बिरामी पर्ने समस्या सामान्य जस्तै बनेका छन्। प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार कठिन भूगोल, अत्यधिक हिमपात, असावधानी र प्रतिकूल मौसमका कारण संकलकहरू जोखिममा पर्ने गरेका छन्।
यस वर्ष जेठ दोस्रो सातादेखि कर्णालीका विभिन्न पाटन यार्चा संकलनका लागि खुलाउने तयारी भइरहेको छ। मुगु, डोल्पा, जुम्ला तथा रुकुम पूर्वका पाटनहरू यार्चाका लागि प्रसिद्ध छन्।
कोरोना महामारीअघि वैशाखमै खुल्ने पाटनहरू पछिल्ला वर्षहरूमा ढिलो गरी खोल्न थालिएको छ। डिभिजन वन कार्यालय डोल्पाका प्रमुख जितेन्द्र महतका अनुसार हिउँ नपग्लिने र यार्चा परिपक्व नहुने समस्याका कारण ढिलो गरी पाटन खुलाउन थालिएको हो। ‘यसले यार्चाको प्रजनन प्रक्रिया सुधार्न सहयोग गर्छ,’ उनले भने।
गत वर्ष डोल्पाका विभिन्न पाटनमा करिब १० हजार संकलक पुगेका थिए। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार संकलकबाट १ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।
मुगुको मुगमकार्मारोङ गाउँपालिकाले पनि यार्चा संकलनका लागि प्रवेश शुल्क तोक्ने गरेको छ। गत वर्ष मात्रै करिब ६४ लाख रुपैयाँ राजस्व उठेको थियो। गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार जिल्लाभित्रका लागि १५ सय र बाहिरकाका लागि २ हजार रुपैयाँ शुल्क लिइन्छ।
यार्चा संकलन सिजन नजिकिँदै गर्दा स्थानीयहरू तयारीमा जुटेका छन्। डोल्पाको त्रिपुरासुन्दरी–४ का कमान बुढाले परिवारसहित पाटन जाने तयारी गरिरहेका छन्। ‘यार्चा संकलन नै मुख्य आयस्रोत हो, नगए वर्षभरि खर्च धान्न सकिँदैन,’उनले भने। गत वर्ष उनले परिवारसहित २ लाख रुपैयाँ आम्दानी गरेका थिए।
मुगुको खत्याड गाउँपालिका–२ का परमल शाहीका अनुसार एक महिनाको बसाइँ र यात्रामा झन्डै ४० हजार रुपैयाँ खर्च हुन्छ। तर आम्दानीबाट वर्षभरि खान–लाउन पुग्छ ।
तर पछिल्ला वर्षहरूमा यार्चाको उत्पादन घट्दै गएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार २०७९र८० मा ४०९ किलो संकलन भएको यार्चा २०८०र८१ मा ३५४ किलो र गत वर्ष ३१० किलोमा झरेको छ।
वनस्पतिविद् कमल शर्माका अनुसार जलवायु परिवर्तन, अनियमित वर्षा, वन विनाश, आगलागी र मानवीय गतिविधिका कारण उत्पादन घट्दै गएको हो। ‘यार्चाको जीवनचक्रमा वातावरणीय असर गहिरो रूपमा देखिएको छ,’उनले भने।
अनुसन्धानकर्ता डा. लक्ष्मण शर्माका अनुसार पहिले ४ हजार मिटरभन्दा तल पनि पाइने यार्चा अहिले उच्च उचाइमा मात्र सीमित हुन थालेको छ।
यद्यपि उत्पादन घटे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य भने बढ्दो छ। जडीबुटी व्यवसायी यज्ञबहादुर बुढथापाका अनुसार कर्णालीको ९० प्रतिशत यार्चा चीनमा निर्यात हुन्छ। कोरोना महामारीअघि प्रतिकिलो २८ लाख रुपैयाँमा बिक्री हुने यार्चा गत वर्ष ३२ लाख रुपैयाँसम्म पुगेको थियो।
तर स्थानीय व्यापारीका अनुसार पछिल्ला केही वर्षदेखि मूल्य स्थिरजस्तै छ। डोल्पाका व्यापारी परबल लामाले भने, ‘माग धेरै भए पनि चिनियाँ व्यापारीले ३२ लाखभन्दा बढी दिन चाहँदैनन्।’
कर्णाली प्रदेश सरकारले यार्चा संकलनलाई व्यवस्थित र सुरक्षित बनाउन पहल थालेको जनाएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीका अनुसार जडीबुटी संरक्षण र बजारीकरणका लागि गुरुयोजना निर्माण गरिएको छ। ‘जडीबुटी र पर्यटनमार्फत रोजगारी सिर्जना र आर्थिक विकासलाई गति दिने लक्ष्य छ,’उनले भने।
तर यथार्थमा भने कर्णालीका हजारौं नागरिक अझै पनि ज्यानको जोखिम मोलेर यार्चा खोज्न बाध्य छन्। उत्पादन घट्दो, जोखिम बढ्दो र विकल्प अभावको चक्रबीच उनीहरूको जीवन संघर्षमै गुज्रिरहेको छ।