व्यवसायसँगै समाज सेवामा रमाएकी बिन्दु !

 
बुवा चन्द्रमणी ज्ञावली र आमा राधादेवी ज्ञावलीको कोखबाट २०२९ साल असोज १२ गते छत्रदेव गाउँपालिकामा जन्मेकी बिन्दु नेपाल व्यवसायी, सामाजिक अभियन्ता, आमा र अगुवा नागरिकको रूपमा काम गर्दै आएकी छिन् । उनीे विवाहपछि व्यवसाय र सामाजिक सेवामा लागिन् । रेडक्रससँग आवद्ध श्रीमानको साथ र बुवाबाट सिकेको सामाजिक भावनालाई साथ बनाउँदै लायन्स क्लब मार्फत समाज परिवर्तनको यात्रा सुरु गरिन् । उनी लायन्स क्लब अफ सुर्खेत काक्रेबिहारकी संस्थापक सदस्यदेखि हाल सल्लाहकारको भूमिकामा छिन् । व्यवसायदेखि सामाजिक क्षेत्रमा सक्रिय र सफल उनै बिन्दुसँग अंगराज परियारले गरेको संघर्ष र सफलताका कुरा :
बाल्कयकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल एकदम सुखदमै बित्यो । म घरको तीन दिदीभाईमध्ये सबैभन्दा कान्छी छोरी हुँ । मेरोे बालापन मायाममतामै बित्यो । म अर्घाखाँचीको छत्रेश्वर गाउँपालिका चिदिका भन्ने ठाउँमा जन्मिएकी हुँ । दाजु १३ बर्षको हुनुहुन्थ्यो अनि म जन्मिएकी हुँ । मलाई जन्माउँदा घरपरिवार, छरछिमेक र समाज एकदमै खुसी थियो रे । घरमा लक्ष्मीको बास भयो भन्दै सबैले उत्सव मनाएका थिए रे । सायद त्यसैले होला म अलि मायाँमा हुर्किन पाएँ । बुबा सामाजिक क्षेत्रमै काम गर्नुहुन्थ्यो । पञ्चायतकिो वडा अध्यक्ष हुनुहुन्थ्यो । त्यसैले मलाई पनि सानैदेखि काम सिक्नुपर्ने, बुझ्नुपर्ने र बुझाएर बोल्नुपर्ने संस्कार मिल्यो । मैंले कक्षा एकदेखि १० सम्म महेन्द्र विद्यावोध माध्यमिक विद्यालय बल्कोटमा पढे‌ँ । विद्यालय धेरै टाढा थियो । अहिलेको जस्तो साधन थिएन । पैदल हिँड्नुपथ्र्यो । बिहान छिटो उठ्ने बाटो हिँडेर स्कुल पुग्ने बेलुका फर्किएपछि घरको काम पनि गर्ने, त्यही मेरो दैनिकी थियो । विद्यालय जाँदापनि साथीहरुसँग रमाइलो हुन्थ्यो । प्लसटु पाल्पा त्रिभुवन विश्वविद्यालय तानसेनमा पढेँ । मेरो बाल्यकाल र विद्यार्थी जीवन रमाइलोमै बित्यो । एसएलसी पास गरेपछि प्लसटु त्रिभुवन विश्वविद्यालयमा पढेँ ।
विद्यार्थी जीवनमा के बन्ने ल्क्ष्य थियो ?
म सानैदेखि स्टाफ नर्स बन्ने सोचमा थिएँ । पाल्पा तानसेनमा इन्टान्स पनि दिएँ, नाम निस्केन । बुवाले अरु ठाउँमा ट्राइ गरौंला, तैंले पढिराख भन्नुभयो । त्यसपछि पढ्न मन लागेन । नर्स बन्न नपाएकोमा त्यती दुःख लागेन । त्यसपछि म बिएडमा भर्ना भएँ । बिएडको तेस्रो बर्षमा बुटवलका कमल नेपालसँग मेरो बिबाह भयो । विवाह गर्नुअघि नै उहाँले स्टेशनरी सञ्चालन गरिसक्नुभएको थियो । यहि व्यवसायलाई हामीले अगाडी बढायौं । बिएड नसक्दै जेठी छोरी अस्मिता जन्मिन् । बच्चादेखि घरको सबै काम र पसल हेदैमा मेरो समय जान्थ्यो ।
विवाहपछि पढाईमा केही असर पर्यो कि ?
सुरुसुरुमा त यस्तै व्यस्त भयो भने नसकिएला कि भन्ने डर थियो । यहाँ म पसल हेर्दै साना छोराछोरीहरूसँग सरलाई खाना पकाएर खुवाउनैपर्यो । स्कुल पठाउनैपर्ने । त्यो बीचमै छोड्नुपर्ने अवस्था आयो एउटा ब्याक थियो । तर पछि पास गरेँ । श्रीमान पनि रेडक्रसमा आजीवन सदस्य हुनुहुन्थ्यो । पढाईको लागि हिम्मत हारिनँ र मनले पनि मानेन ।
सामाजिक यात्राको सुरुवात कहाँबाट भयो ?
मेरो मुख्य प्रेणा भनेको मेरो बुवा पनि सामाजिक क्षेत्रमै काम गर्नुहुन्थ्यो । श्रीमान पनि रेडक्रसमा संलग्न हुनुहुन्थ्यो । उहाँको साथ सर्पोट र परिवारले यहाँ सम्म पुगेकी छु । उहाँसँगै जाँदा सामाजिक कामको बारे थाहा पाउँदै गएँ । लायन्स क्लब अफ सुर्खेत काक्रेबिहारको संस्थापक सदस्य हुँ । त्यही बाट काम सुरु गरेकी हुँ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनमा जिल्ला प्रमुख भएँ । त्यसपछि लायन्स क्लब्स् इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनमा क्षेत्रीय अध्यक्ष भएँ । हाल लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एनमा जिल्ला सल्लाहकारमा छु ।
तपाईंको विचारमा सामाजिक सेवा के हो ?
मेरो विचारमा सामाजिक सेवा भनेको हामी भन्दा कमजोर, बढी पीडामा रहेका व्यक्तिहरूलाई बुझ्ने र साथ दिने काम नै सेवा हो । समाज सेवा गर्यौ भन्दैमा आफूलाई ठूलो ठान्ने हैन । बरु आफू सानो हुँदाहुँदै पनि अरूका जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने भावना हो । मलाई लाग्छ, जो मानिस अरूका आँसु पुछ्न सक्छ । सान्त्वना दिन सक्छ उही साँचो सेवक हो ।
सामाजिक सेवामा तपाईंले के काम गर्नुभयो ?
सामाजिक सेवा भनेको पैसा हाल्ने कुरा मात्र होइन । भावना हाल्ने कुरा हो । त्यसैले मैले मेरो कार्यकालमा ‘जन्मदिनमा सेवा’ भन्ने कार्यक्रम सुरु गरेँ । साथीहरूको जन्मदिन पारेर आँखा शिविर, रक्तदान, अपांगता भएका व्यक्तिको सहयोग, विद्यार्थीलाई स्टेशनरी वितरण, र वृक्षारोपण जस्ता कार्यक्रम चलाएँ । गाग्रेताल स्कुलमा धूपी र अशोकका बिरुवा ४० वटा बिरुवा रोप्यौं ।
मेरो परिवारको जन्मदिन आयो भने मानवसेवा आश्रममा रहेका आश्रित आत्माहरूलाई भोजन गराउँछौं । हामीले कार्यलाई अझ अर्थपूर्ण बनाउन सकेका छैनौं जस्तो लाग्छ । हाम्रो सानो प्रयासले आश्रममा रहेका मानिसहरुको अनुहारमा मुस्कान ल्याउन सक्यो भने त्यसैमा हामी खुसी छौं । मानवसेवा आश्रम अभिभावक परिवारका संयोजक टिकाराम चपाईज्यू र मिना तिवारी शर्माज्यूजस्ता समर्पित व्यक्तित्वहरूको साथले यो सेवा अझ राम्रो भएको छ । उनीहरूको निरन्तर समर्पण मानव सेवाप्रति प्रेरणादायी छ । सेवा भन्नु स्वार्थरहित भावना हो । हामीमध्ये धेरैले जन्मदिन रमाइलो गरेर बिताउँछौं । तर मानवीय पीडामा साथ दिनु, सानोतिनो सहयोग गर्नु, त्यो नै साँचो मानवीयता हो ।
क्लब अहिले कस्तो छ ?
अहिले हाम्रो लाइन्स क्लब अफ सुर्खेत (काँक्रेबिहार ) मा २४ जना महिला सदस्य छौं । सबै सक्रिय छन् । अहिलेको प्रेसिडेन्ट कमला पौडेल हुनुहुन्छ । हामी सबै मिलेर आँखा शिविरदेखि वृक्षारोपणसम्म गरिरहेका छौं ।


सामाजिक सेवामा तपाईंकोे भूमिका ?
म लायन्स क्लब अफ सुर्खेत काँक्रेबिहारको संस्थापक सदस्य हुँ । जिल्ला कार्यकारी प्रमुख हुँदै हाल जिल्ला सल्लाहकारको भूमिकामा कार्यरत छु । त्यस्तै महिला सेवा समाजको अध्यक्ष, रेडक्रस नेपालको उपशाखा वीरेन्द्रनगरको उपकोषाध्यक्ष, नेपाल क्षयरोग निवारण संस्थाको कोषाध्यक्ष छु । मानवसेवा आश्रम अभिभावक परिवारको सदस्य पनि छु । मैले लायन्स क्लब्स् इन्टरनेशनल विभिन्न तहमा काम गरेकी छु । समाजसेवाको लागि निरन्तर समर्पण हो। क्लबमार्फत शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, अपांगता भएका व्यक्तिहरुको सहयोग, रक्तदान कार्यक्रमजस्ता थुप्रै सामाजिक काममा अगाडी बढेकी छु ।
छोराछोरीले के गरिरहनु भएको छ नि ! ?
भगवानको कृपाले अहिलेसम्म कुनै पनि छोराछोरीबाट असन्तुष्ट छैन । छोरी अस्मिताले एनेसथेपियामा एमडी गरेकी छिन् । आकृती पनि आर्किटेक्चर इन्जिनीयर हुन । छोरा अनुरागले एमबिबिएस पढ्दैछन् । सबैबाट सन्तुष्टी नै छु । अहिलेसबै छोराछोरी बाहिरै छन् । श्रीमानले पनि राम्रो ख्याल गर्नुहुन्छ ?

ब्यापार कस्तो चलिरहेको छ ?
राम्रै छ । आठ जनासम्म कर्मचारी राखेका छौं । व्यवसायबाट पनि हाम्रो परिवार सन्तुष्टै छौं ।
तपाईंलाई मनपर्ने राजनीति कि समाजसेवा ?
मलाई राजनीति पनि मनपर्छ । तर मेरा लागि समाजसेवा नै ठिक छ ।
सरकारबाट तपाईंको अपेक्षा के छ ?
सरकारले त सबभन्दा पहिले युवाहरूलाई रोजगारी दिए हुन्थ्यो । व्यवसाय गर्ने हो भनेपनि नेपालमै पनि छ । तर युवाहरु नेपालमा भविष्य नै देख्दैनन् । रोजगारी मिल्ने भए कोही पनि विदेश जानुपर्दैन थियो । दक्ष जनशक्तिहरु बहिर पलायन भएका छन् । सरकारले रोजगारका आधारहरु तय गरे त विदेशिने युवाहरुलाई फर्काएर नेपालमै केहि गर्न सकिन्थ्यो कि ?
अबको योजना के छ ?
अबको मेरो सोच भनेको व्यवसायसँगै सामाजिक सेवालाई अझ प्रभावकारी बनाउने हो । महिलाहरू जागरुक होऊन् । आफ्नो अधिकार बुझून् र आत्मनिर्भर बनून् । हामी भन्दा कमजोर अवस्थाका महिलाहरू, एकल आमाहरू, अपांगता भएका दाजुभाइ, वृद्धवृद्धाहरूका लागि उपयोगी कार्यक्रमहरू गर्न सकौं भन्ने चाहना छ । लाइन्स क्लब मार्फत शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा अझ प्रभावशाली काम गर्न चाहन्छु । अहिलेसम्म काम गरेका अनुभवलाई आगामी दिनमा अरू क्लब, संस्था र युवाहरूसँग मिलेर समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा प्रयोग गर्ने सोच बनाएकी छु । त्यो बाहेक मेरो छोराछोरीहरू पनि सामाजिक चेतनायुक्त, जिम्मेवार नागरिक बनून् । त्यो मेरो व्यक्तिगत सपना पनि हो । यही नै मेरो जीवनको सार्थकता हुनेछ ।