जितबहादुर तिरुवा
सुर्खेत : विगत लामाे समयदेखि प्रतिक्षालयकाे अभाव रहँदै आएकाे वीरेन्द्रनगर नगरपालिका–१, रानीघाटमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ ।`तुलसी सेवा फाउन्डेशन´द्वारा निर्माण गरिएको यात्रु प्रतिक्षालयको शनिबार जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारकाे प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हाे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार रहेका थिए।`तुलसी सबैको सहारा, अब कोही हुँदैन बेसहारा´ भन्ने मूल नारासहित २०७७ सालमा स्थापना गरिएको फाउन्डेसनले दुई लाख ७० हजारमा यात्रु प्रतिक्षालय निर्माण गरेकाे छ । यात्रु प्रतिक्षालय निर्माणका लागि फाउन्डेसनका अध्यक्ष रगवीर विश्वकर्माले एक लाख रुपैयाँ, काेषाध्यक्ष ज्ञानेन्द्र बहादुर विश्वकर्माले एक लाख रुपैयाँ, निष्ठा विश्वकर्माले ५० हजार रुपैयाँ र मनिष विश्वकर्माले २० हजार रुपैयाँ सहयोग गरेका छन्। गिरीघाट वीरेन्द्रनगर नगरपालिका-१ र २ वडाका नागरिकहरुकाे आर्यघाट समेत हाे । प्रतिक्षालयले यात्रु र मलामी गएकाहरूलाई सहज हुने जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताए ।
`वर्षाैंदेखि यात्रु र मलामी आएकाहरुले सास्ती भाेग्दै आएका थिए । तर, प्रतिक्षालय बनेपछि त्याे सास्तीबाट छुटकरा मिलेकाे छ,´उनले भने, `पैसा कमाउन मात्रै ठुलाे कुरा हाेइन, कमाइकाे केही हिस्सा सामाजिक काममा लगाउनुपनी महत्त्वपूर्ण विषय हाे ।´ उनले फाउन्डेसनको प्रयासको प्रशंसा गर्दै सामाजिक सेवामा भाेलीका दिनमा अझ ठूलो योगदान दिन शुभकामना व्यक्त गरे।
उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष हर्षविक्रम खड्काले फाउन्डेसनले सामाजिक क्षेत्रमा गरेकाे याे काम महत्त्वपूर्ण भएको भन्दै प्रशंसा गरे । सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ओमबहादुर विश्वकर्माले समाज परिवर्तन गर्नका लागि सेवामूलक काम आवश्यक रहेकाे बताए । फाउन्डेसनका कोषाध्यक्ष ज्ञानेन्द्र बहादुर विश्वकर्माले स्वर्गीय हजुरआमा तुलसी विश्वकर्माले समाज सेवामा महत्त्वपूर्ण काम गरेकाेले उनकै नाममा फाउन्डेसन खाेलिएकाे बताए । विगतदेखि नै फाउन्डेसनले शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विषयमा कामहरु गर्दै आएकाे बताए । उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष दिनेश खत्री, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष टेकेन्द्र विश्वकर्मा, साना तथा मझैला घरेलु उद्योग संघ वीरेन्द्रनगरका अध्यक्ष लालबहादुर नेपाली, स्थानीय समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेकाे थियाे ।
खुलानजर । १३ बैशाख २०८२, शनिबार ११:३९