पालिकामै मुटुको निशुल्क परीक्षण भएपछि स्थानीय हर्षित !


सुर्खेत: यहाँको बराहताल गाउँपालिकाले निःशुल्क मुटु परीक्षणसहितको स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
आर्थिक अभावकै कारण मुटु जस्तो जटिल प्रकृतिको उपचार गराउन वीरेन्द्रनगर र बाहिर जानबाट बञ्चित नागरिकहरुले गाउँमै निःशुल्क स्वास्थ्य शिविरबाट सेवा पाउँदा आफुलाई खुसी लागेको स्थानीय सिता विकले बताइन् ।
पालिकाको केन्द्र रहेको बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरमा पुगेका नागरिकहरुले आगामी दिनमा वडाहरुमै स्वास्थ्य उपचार सेवा प्रदान गर्न अपिल गरेका छन् । जनताको स्वास्थ्यमा पालिकाले नै हेरचाह गर्न लगाउनु र निःशुल्क स्वास्थ्य परीक्षणको कार्य गर्नु खुसीको विषय भएको अर्का स्थानीय चन्द्र नेपाली बताउँछन् ।
‘सबैसँग आर्थिक अवस्था मजवुत नहुन सक्छ, गाउँमै यस्ता खालका शिविरबाट त्यस्ता व्यक्तिलाई ठूलो राहत दिन्छ,’ स्वास्थ्य जाँच गरेका नेपालीले भने, ‘आगामी दिनमा वडा स्तरमा समेत यस्ता खालका शिविर सञ्चालन गर्दा टाढा–टाढाबाट बड्डीचौर आउन नसकेका नागरिकहरुले अझै प्रभावकारी सेवा पाउछन् । त्यतातर्फ पालिकाले पनि ध्यान दिन अनुरोध गर्दछु ।’
तेलपानीबाट स्वास्थ्य सेवा लिन पुगेका भोलासिंह खत्रीले स्थानीयकै आँगनमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नु सकरात्मक पक्ष भएको प्रतिक्रिया दिए । ‘सहज तरिकाले सबैलाई स्वास्थ्य सेवा पु¥याउँदा सहयोग त पुग्ने नै भयो,’ खत्रीले भने, ‘मुटु परीक्षण गराउँनुपर्छ भन्ने चेतना नागरिकहरुमा छैन्, यसले ठूलो राहत पु¥याएको छ । तर बराहताल गाउँपालिकाको भौगोलिक विकटताका कारण मौसम अनुकुलता हेरेर स्वास्थ्य शिविर सञ्चालन गरेको भए अझै धेरै नागरिकहरु लाभान्वित हुने थिए ।’
स्वस्थ नागरिक बनाउने उदेश्यले पालिकाले स्वास्थ्य शिविरको आयोजना गरिएको बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए । पालिकाको भौगोलिक विकटतासँगै नागरिकहरुले समयमै स्वास्थ्य उपचार नपारहेको अवस्थामा थियो,’ भण्डारीले भने, ‘आफ्ना पालिकाभित्रका नागरिकहरुलाई राहत प्रदान गर्न र सिंहदरवार गाउँ तहसम्म आएपछि सेवाहरु पनि पाइदो रहेछ भन्ने सन्देश दिनु शिविरको लक्ष्य रहेको छ ।’


उनले आगामी दिनमा विभिन्न विधागत स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने पालिकाले कार्ययोजना बनाएको बताए । ‘कम्तिमा प्रत्यक वडामा पुगेर विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति छ,’ भण्डारीले थपे, ‘मुटु परीक्षणपछि आँखा, कान, लगायतका शिविरहरु वडामै पुगेर नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।’ पालिका भित्रका कुनै नागरिकहरुमा गम्भीर प्रकृतिको रोग देखिएमा उनीहरुलाई बाहिर उपचार गर्न जाँदा कुनै कष्ट नहुनेगरी सहयोगसहित सहजिकरण गर्ने अध्यक्ष भण्डारीको प्रतिवद्धता छ । मुटुरोग, बालरोग, जनरल स्वास्थ्य परीक्षण, ई.सी.जी. ईको कार्डियोग्राफी सेवासँगै निःशुल्क औषधी वितरण गरिएको थियो । मुटु जोगाऊँ काठमाडौं र बराहताल गाउँपालिकाको आयोजनामा गरिएको शिविरमा मनमोहन कार्डिया थारासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंको प्राविधिक सहयोग गरेको हो । शिविरमा ३५ सय जनाले स्वास्थ्य जाँच गरेका छन् । जसमध्ये १४ जनालाई मुटुको शल्यक्रियाका लागि काठमाण्डौं रेफर गरिएको छ । १८ वर्षमूनिका बिरामीलाई पालिकाको समन्वयमा सेच द हर्टले खर्च व्यहोर्ने गाउँपालिकाले जनाएको छ ।