अधिकारका लागि आवाज उठाउन जरुरी छ : मन्त्री जिसी

सुर्खेत: कर्णाली प्रदशेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले अधिकार प्राप्तिका लागि साझा आवाज उठाउन जरुरी रहेको बताएका छन् ।
बुधबार वीरेन्द्रनगरमा मानव अधिकारका लागि महिला एकल महिला समुह सुर्खेतको सातौं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘संविधान प्रदत्त अधिकारलाई लागु गर्न आवाज उठाउ जरुरी हुन्छ । या सरकारलाई होस् या राजनीतिक दललाई,’मन्त्री जिसीले भने, ‘त्यसको प्रयोग महिला एकल महिला समुह सुर्खेतले गरिरहेको छ । द्वन्द्व पीडित महिला, एकल महिला र बालबालिकाको अधिकारको लागि यस संस्थाले वहस पैरवी गदै आएको छ ।’
सरकारका प्रवक्ता समेत रहेका उनले बहिस्कृत महिला दिदीबहिनीको संरक्षणसँगै आत्मनिर्भर बनाउन यस संस्थाले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरे ।


मन्त्री जिसीले एकल महिलाहरुलाई सरकारका हरेक नीति तथा कार्यक्रममा सहभागी गराउने सरकारको लक्ष्य रहेको भन्दै द्वन्द्वपीडितहरुको सम्झनामा द्वन्द्वपीडित स्मृति संग्रालय बनाउने प्रतिवद्धता समेत गरे ।
द्वन्दपीडितको घाउमा कानुनी, सामाजिक र आर्थिक रुपले मलहम लगाउने मन्त्री जिसीको भनाई छ ।
एकल महिला समुहले महिला सशक्तीकरणमा जोडे उद्देश्यले यो सफलतासम्म पुगेको वीरेन्द्रनगर—३ की वडा सदस्य सरस्वती थापाले बताइन् ।
यस्तै समुहकी संस्थापक अध्यक्ष नन्दा श्रेष्ठले परमपरागत समाजको रंगभेद चिर्दै खुलामञ्चबाट सुरु गरिएको यो अभियानले अझै मूर्त रुप पाउन नसकेको बताइन् ।
‘हाम्रो आन्दोलनको इतिहास धेरै संघर्षशिल छ । अझैपनि समाजका विभिन्न कुरितीहरु एकल महिलालाई लगाउने गरिन्छ,’ श्रेष्ठले भनिन्, ‘अब राजनीतिमा पनि एकल महिलालाई कोटा छुट्याउनुपर्छ भनेर आन्दोलन गर्न तयार छौं ।’
त्यस्तै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले यो समुहले एकल महलिाहरुलाई संगठित मात्रै होइन, उनीहरुका हक अधिकारका विषयमा समेत आवाज उठाउँदै आएकोप्रति खुसी व्यक्त गरे ।
संयोजक सुवेदीले अधिकारका क्षेत्रमा अग्रणी भूमिका खेलको संस्थालाई थप सफलताको शुभकामना व्यक्त गरे ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले छोटो समयमा संस्थाले छुट्टै पहिचान बनाउन सफल भएको बताए ।
संयोजक ढकालले एकल महिलाप्रति समाजको दृष्टिकोण बदल्न रुपान्तरण अभियान चलाउनुपर्ने बताए ।
संक्रमणकालिन न्यायका विषयमा होस् या संविधानमा व्यवस्था भएका अधिकार कार्यान्वयनका विषयमा यस संस्थासँग सहकार्य गरिरहेको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बास्तोलाले बताए ।
मानव अधिकारका लागि महिला एकल महिला समुह सुर्खेतकी अध्यक्ष ममता नगालले संस्था यहाँसम्म आइपुग्नुमा सबै दिदीबहिनीहरुको महत्वपुर्ण योगदान रहेको भन्दै अधिकारका सवालमा एकजुट भएर लाग्नुपर्ने बताइन् ।


संस्थाले ‘वैवाहिक आधारमा विभेद नगरौ’ भन्ने मुल नाराराका साथ एकल महिला छहारी सुर्खेतमा साधारण सभा गर्दै पुर्व पदाधिकारी र कर्मचारीलाई सम्मान समेत गरेको छ ।
संस्थाले संस्थापक अध्यक्ष नन्दा श्रेष्ठ, पुर्व अध्यक्ष सितलसिंह राठौर, पुर्व अध्यक्ष दुर्गादेवी दर्लामी र कर्मचारी डिला आचार्यलाई सम्मान गरेको छ ।