मृत भेटिएकी युवतीको हत्या आशंका, श्रीमान प्रहरी नियन्त्रणमा


जितबहादुर तिरुवा
सुर्खेत: भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा शव भेटिएकी गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको शव भेटिएको छ । रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झण्डै एक किलोमिटरको दुरीमा ओलीको शव आइतबार भेटिएको थियो । पानीमा घोप्टो परेको अवस्थामा उनको शव रहेकोले घटना शंकास्पद देखिएपछि प्रहरीको टोली कुकुरसहित घटनाको अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । ‘मृतकको टाउकोमा चोट लागेको छ । शरिर रत्ताम्मे छ । घटना शंकास्पद रहेकोले प्रहरीको केनाई शाखा नेपालगञ्जबाट कुकुरसहित अनुसन्धानमा जुटेका छौं,’ उनले भने, ‘मृतका श्रीमान दर्शन खत्रीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय छिञ्चुले घरबाटै नियन्त्रणमा लिएको छ ।’
उनका अनुसार आफन्तहरुको रोहबारमा शवको सनाखत भई पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा पठाइएको छ । मृतक प्रेमाका श्रीमान नेपाली सेनामा कार्यरत रहेका छन् । मृतककी एक छोरी छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का, डिएसपी बुढथापा, ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको थियो । ओली शनिवारदेखि हराएको आफन्तले बताएका छन् ।