१२ सय बिरुवा रोप्दै विपद् जोखिम न्यूनीकरणको अभियान

सुर्खेत: वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र विपद् जोखिम कम गर्ने उद्देश्यले पञ्चपुरी नगरपालिका–१० मा १२ सय बिरुवा रोपिएको छ। आवाज संस्था र TDH/MISEREOR/KZE को साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत गरिएको वृहत् वृक्षारोपण अभियानले बाढी र भूक्षयबाट प्रभावित रानीवन सामुदायिक वन क्षेत्रको हरित पुनर्जागरणसँगै समुदायलाई विपद्प्रति थप सशक्त बनाउने लक्ष्य लिएको छ।
आवाज संस्था र TDH/MISEREOR/KZE को संयुक्त साझेदारीमा सञ्चालित ‘नेपालको पश्चिम क्षेत्रमा महिला तथा बालबालिका, विशेषगरी किशोरीहरूलाई आफ्ना अधिकार सुनिश्चित गर्न तथा सेवामा पहुँच प्राप्त गर्न सशक्त बनाउने परियोजना’ अन्तर्गत डिभिजन वन कार्यालय भेरी, बाबियाचौरको समन्वय तथा सहकार्यमा पञ्चपुरी नगरपालिका–१० को जामु रिभर एरिया र जनज्योति माध्यमिक विद्यालय परिसर, बाघबजार क्षेत्रमा वृक्षारोपण गरिएको हो।
अभियानअन्तर्गत कागती, बाँस, अम्रिसो, मसला, बेलौती, अमला, धुपी, कल्की, बेल, सितलचिनी, गुलमोहर, टाँकी, सिरिस, कपूर, बकाइनो, रिठ्ठा, सिसौलगायत वनजन्य, फलफूल, सौन्दर्यमूलक तथा जडीबुटीजन्य प्रजातिका १२ सय बिरुवा रोपिएका छन्। जामु क्षेत्रमा ७ सय र बाघबजार क्षेत्रमा ५ सय बिरुवा रोपिएको आयोजकले जनाएको छ।
करीब ३.७५ हेक्टर क्षेत्रफलको केही भागमा गरिएको वृक्षारोपणको संरक्षणका लागि डिभिजन वन कार्यालय भेरी, बाबियाचौरले बाउन्ड्री निर्माणमा आर्थिक सहयोग गरेको छ। बिरुवा रोपण, खाल्डो खन्ने तथा मलमाटो व्यवस्थापनको समन्वय र कार्यान्वयन आवाज संस्थाले गरेको हो।
रानीवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम ढकालले वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका लागि वृक्षारोपण अभियान महत्वपूर्ण रहेको बताए। वन संरक्षण उपभोक्ता समितिको मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको उल्लेख गर्दै उनले सहयोगी संस्था आवाज र डिभिजन वन कार्यालयलाई धन्यवाद दिए ।
पञ्चपुरी नगरपालिका–१० की वडा सदस्य पवित्रा कडाराले हरियाली प्रवर्द्धनका लागि स्थानीय सरकार, सामुदायिक वन, संघसंस्था र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताइन्। रोपिएका बिरुवाको संरक्षण र नियमित स्याहार–सम्भारमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले यस अभियानले भावी पुस्ताका लागि स्वच्छ, हरियाली र सुरक्षित वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
डिभिजन वन कार्यालय भेरी, बाबियाचौरका सूचना अधिकारी शेरबहादुर रोकायले वृक्षारोपणसँगै यसको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिँदै आगामी वर्षहरूमा पनि कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्दता व्यक्त गरे ।
युवालाई विपद् व्यवस्थापनमा सक्षम बनाउने योजना
कर्णाली प्रदेश बाढी, पहिरो, वन डढेलो तथा जलवायु परिवर्तनजन्य विपद्को उच्च जोखिममा रहेकाले परियोजनाले युवालाई विपद् तयारी तथा प्रतिकार्यसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य लिएको छ।
आवाज संस्थाले पञ्चपुरी नगरपालिकाका बाढी, पहिरो र भूक्षयको उच्च जोखिम रहेका क्षेत्रमा प्रत्येक वर्ष दुई स्थानमा वृहत् वृक्षारोपण गर्दै तीन वर्षमा करिब ३ हजार ६ सय बिरुवा रोप्ने लक्ष्य लिएको छ। यस अवधिमा प्रत्येक वर्ष २५ जना गरी ७५ युवालाई विपद् अनुकरण तालिम प्रदान गरिनेछ।
परियोजनाअन्तर्गत स्थानीय सरकारसँगको सहकार्यमा विपद् प्रतिकार्य सामग्री खरिद गरी उच्च जोखिममा रहेका चार वडाका वडा कार्यालयमा भण्डारण गर्ने योजना पनि छ। साथै पालिकाको विपद् शाखा, डिभिजन वन कार्यालय र स्थानीय युवाको सहभागितामा बाढी, पहिरो र भूक्षय जोखिम क्षेत्रको नक्सांकन गरिनेछ।


सामाजिक परिचालक तेज रोकायका अनुसार जोखिम नक्सांकनमा युवाको प्रत्यक्ष सहभागिताले समुदायमा विपद् सचेतना, जिम्मेवारीबोध र सुरक्षित प्रतिकार्य योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ।
आयोजकका अनुसार अभियानले वातावरण संरक्षण, भूक्षय नियन्त्रण, हरित क्षेत्र विस्तार, युवाको नेतृत्व विकास र सामुदायिक सहभागिता अभिवृद्धिसँगै दीर्घकालीन विपद् जोखिम न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
विशेषगरी हालै भेरी नदीमा आएको बाढीबाट पञ्चपुरी–१० स्थित रानीवन सामुदायिक वन क्षेत्रमा पुगेको क्षतिपछि सुरु गरिएको यो अभियानले प्रभावित वन क्षेत्रको हरित पुनर्जागरण गर्दै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।