सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ७२ औं कानुन दिवस मनाइएको छ । ‘न्यायपालिकाको स्वतन्त्रता, न्यायिक सुशासन हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ उच्च अदालत सुर्खेतको आयोजनामा उक्त दिवस मनाइएको हो ।
नागरिकहरुलाई अनुशासित एवं भयरहित तवरबाट जीवन यापन गर्न आधार प्रदान गर्ने राज्यको अपरिहार्य तत्व कानून हो । स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिका आधारको रुपमा रहेको प्रधान न्यायलय ऐन, २००८ जारी भएको विशेष दिन २००९ बैशाख २६ गतेलाई स्मरण गर्दै हरेक वर्ष बैशाख २६ गते विभिन्न कार्यक्रमहरु गरी कानून दिवस मनाउने गरिएको छ ।
७२ औं कानून दिवसको अवसरमा उच्च अदालत सुर्खेतको आयोजनामा एक आपसमा शुभकामना आदानप्रदान सहित अदालत प्राङ्गण सरसफाई, हाता भित्र वृक्षारोपण, वीरेन्द्रनगर नगर अस्पतालसम्म प्रभातफेरी कार्यक्रमसँगै अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण समेत गरिएको छ । उक्त कार्यक्रममा उच्च अदालत सुर्खेतका वरिष्ठतम् न्यायाधीश कृष्णलाल भट्टराई, न्यायाधीश खड्कबहादुर के.सी., न्यायाधीश माधव धिताल, कर्णाली प्रदेशका मुख्य न्यायाधीवक्ता कृष्णबहादुर हमाल, उच्च अदालत सुर्खेतका रजिष्ट्रार विश्वजंग सिजापति, सहन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, जिल्ला अदालत सुर्खेतका न्यायाधीश द्वय मनोज श्रेष्ठ र हिरण्यप्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी हरिशंकर आचार्य, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, वरिष्ठ अधिवक्ताहरु, उच्च अदालत बार इकाई तथा जिल्ला अदालत बार इकाईका अध्यक्षहरु एवं कानून व्यवसायीहरु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरु तथा उच्च अदालतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कानूनको शासन, स्वतन्त्र न्यायपलिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यता प्रति पूर्ण प्रतिबद्ध हुँदै न्यायीक पद्धति र न्यायपालिकाको संस्थागत सुधार मार्फत नागरिकका हक अधिकारको संरक्षण गर्ने कोसेढुङ्गा रुपमा रहेको उक्त दिनको महत्व रहेको पाइन्छ ।
तस्बिरहरु : जगतदल जनाला विक
जगतदल । २६ बैशाख २०८१, बुधबार १४:०२