सुर्खेत: सोमबारदेखि सुर्खेतमा कर्णाली उत्सवको छैटौँ संस्करण सुरु हुने भएको छ । यसअघि वीरेन्द्रनगरको बुलबुले उद्यानमा हुँदै आएको कर्णाली उत्सव यो पटक सिटी हलमा हुने भएको छ । उत्सव तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार सोमबार बिहान १२ बजे उत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नेछन् । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था ऋति फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ‘कुडा कर्नालीका’ नारा दिई सञ्चालन गर्ने गरिएको उक्त बहस कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यका साथ सञ्चालन गर्ने गरिएको छ । कर्णाली उत्सवका संयोजक कमल लम्सालले कुराकानीकै माध्यमबाट कर्णालीको पहिचान र सम्भावना केलाउन उत्सवका माध्यमबाट प्रयास थालिएको बताए । ‘परम्परागत रूपमा हुने कचहरी वा बैठककै आधुनिक रूप हो, कर्णाली उत्सव,’ उनले भने, ‘उत्सवको माध्यमबाट हामीले कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेका हौँ ।’ बहसमा मूलतः कर्णालीलाई केलाउने गरिन्छ । साथै समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिइने बहसका रूपमा पनि लिइएको उनको भनाइ छ । ‘कर्णाली उत्सवको मुख्य उपलब्धि भनेकै कर्णालीलाई चिन्ने र चिनाउने सार्थक प्रयास हो,’ लम्सालले भने, ‘विभिन्न संस्करणमा भाग लिएका वक्ता, सञ्चालक तथा सहभागीहरूले उत्सवको महत्वलाई बुझ्दै जानु हो । यसले हाम्रो समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रूपमा विकास गर्न सघाउँछ ।’ आयोजक संस्थाका अनुसार यो पटक १३ वटा सत्र, तीन वटा कर्णाली कन्सर्ट, तीन वटा विद्धत् प्रवचन रहने छन् । त्यसका लागि देशभरबाट राजनीतिज्ञ, पत्रकार, साहित्यकारहरु वीरेन्द्रनगरमा आउने छन् ।
उद्घाटन सत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता विक, केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारीका उप्रेती, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी र राजनीतिक चिन्तक आहुतीले उत्सवसँग सम्बन्धित विषयमा प्रस्तुति दिनेछन् । उत्सवको पहिलो दिन सोमबार पाँच वटा बहसमूलक सत्र सञ्चालन हुनेछन् । जसमा के पढ्यौं ? के पढायौं ?, स्वाइनी स्वर (कर्णालीमा महिला आन्दोलन), खस कुडा, खास कुडाः किस्सा तन्नेडीका, बैकिनी बोल्लिछन् (नारी नेतृत्व) रहेका छन् । । सत्रहरूको बीचमा ‘पैकेलो’ (कुनै व्यक्तिले आफ्नो कथा आफैं भन्ने) सेसन रहनेछ । तीन दिनसम्म हरेक दिन एउटा ‘पैकेलो’ सेसन सञ्चालन गरिनेछ । उत्सवको दोस्रो दिन मंगलबार स्याउको सह, आशलाग्दो अर्थतन्त्र, छोरीको छहारी, टेको संघीयताको र कर्णालीमा मधेश सत्र सञ्चालन हुनेछन् । यस्तै तेस्रो तथा अन्तिम दिन खलंगाः शक्तिको सदरमुकाम, चौघान–चर्चा, राजनीतिः रहर–लहड, मनउँदो कर्णाली, मैदानउँदो कर्णाली सत्रहरूका साथै साँझ ५ बजे समापन समारोह हुने आयोजक संस्था ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले जानकारी दिए ।
खुलानजर । ४ फाल्गुन २०८१, आईतवार १७:५५