कर्णाली राजमार्गमा हरेक वर्ष यात्रुलाई सास्ती

सुर्खेत : मनसुन सुरु भएयता कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला) पटक –पटक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् । जेठ २७ गतेबाट साउन २९ गतेसम्म ५४ पटक कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सबैभन्दा बढी कालीकोटमा ४४ पटक अवरुद्ध भएको छ । त्यस्तै दैलेखमा ९ पटक र सुर्खेतमा १ पटक अवरुद्ध भएको छ । राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षातको समयमा पानी पर्ना साथ राजमार्गका विभिन्न स्थानमा पहिरो गएर अवरुद्ध हुने गरेको छ । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग अथवा सुर्खेत–जुम्ला सडकखण्ड भनिन्छ । निर्माण कालको बेलामा सुर्खेत–जुम्ला राजमार्ग नाम राखिएको यो राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको थियो । वि.सं. २०६३ साल चैत महिनाको ३० गते सञ्चालनमा आएको सुर्खेत – जुम्ला राजमार्गको लम्बाइ २३२ किलोमिटर छ । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि खुसी भएका यो क्षेत्रमा स्थानीय दैनीक सास्ती भोग्दा दिक्क छन् । १ दिनको यो राजमार्गमा यात्रा गर्न बर्खामा ३ दिनसम्म लाग्ने गरेको छ ।
तिलागुफा–६ जुविथाका कृष्णबहादुर शाहीले यस राजमार्गम आफुले सास्ती पाउँदै आएको बताए । ‘साउन २८ गते कर्णाली राजमार्गको चौखोलामा पहिरो गएपछि एक दिन मान्ममै रोकिएँ । एक दिनमै जुम्ला पुग्ने कार्यक्रम थियो,’उनले भने, ‘समयमा बाटो खुलेन, कामको चटारोले रिर्जभ गाडीमा महँङ्गो भाडा तिरेर जान बाध्य भएँ ।’
त्यस्तै उक्त सडक खण्डमा गाडी चालक भक्त रावत नामको मात्र राजमार्ग भएको बताउँछन् । ‘राजमार्ग जस्तै भएको भए कोहलपुरबाट मुगुको गमगढी एकै दिनमा पुग्न सकिन्थ्यो,’उनले भने, ‘सडकको अवस्था जीर्ण छ । त्यसै माथि वर्षातमा पहिरोले जाममा परिन्छ । त्यसैले यो राजमार्ग मृत्यु मार्ग पनि भनिन्छ ।’
उनीहरु दुई जना मात्रै होइन, कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडक खण्डको ठाउँ–ठाउँमा भएको सडक अवरुद्धले सबै यात्रुलाई सास्ती दिँदै आएको छ । सडक डिभिजन कार्यालय जुम्लाले ०७९ को असोजमा गएको पहिरोले भत्किएको सडकको स्तरोन्नति गर्न विभिन्न १२ खण्डमा ठेक्का लगाए पनि काम गतिलो भएको छैन । ती ठाउँमा सडक हिलाम्मे हुँदा गाडी फस्ने समस्या उस्तै छ ।
दुई दशकअघि ट्र्याक खोलिएको भएपनि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकमा वर्षामा पहिरो र हिउँदमा धूलोले यात्रामा सास्ती हुने गरेको छ । विश्व बैंकको सहयोगमा एक दशकअघि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक कालोपत्रे गरिए पनि हाल दैलेखको तल्लो डुंगेश्वरदेखि पाल्ताडा र कालीकोटे दैखोलादेखि जुम्लाको सिमानासम्म पिच गरेको अनुमान पनि गर्न सकिन्न ।
वर्षा लागेपछि त नेपाली सेनाले विष्फोटनसहितको निर्माणको जिम्मा लिएको कालीकोट खण्डमा पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । असार लागे यतामात्र कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला खण्डको १ सय ३३ स्थानमा पहिरो जाँदा कुल ३९ दिन सडक नै अवरुद्ध भएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कालीकोटमा १०३, दैलेखमा २३ र जुम्लामा ७ ठाउँमा पहिरो जाँदा कुल ३९ दिन कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सबैभन्दा बढी अवरोध कालीकोट खण्डमा भएको छ । कालीकोटको हुल्म, एस मोड, गगनेखोला, मोल्फा, गल्ली, टाकुल्ला, राचुलीलगायतका स्थानमा पटक–पटक पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गएको चार आर्थिक वर्षको अवधिमा कर्णालीमा सडक दुर्घटनामा परेर ५ सय २१ जनाले ज्यान गुमाएका छन् । २ हजार ३ सय २६ वटा दुर्घटनामा परि १ हजार ३ सय ३४ जना गम्भीर घाइते भएका छन् । ३ हजार २ सय ७१ जना सामान्य घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा २ सय ९१ सवारी दुर्घटना भएकोमा ९८ जनाको मृत्यु भएको थियो । १ सय ६९ जना गम्भीर घाइते भए भने ३ सय १९ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७८- ०७९ मा ४ सय ३ वटा सवारी दुर्घटना भएकोमा १ सय ८० जनाको मृत्यु भयो । ३ सय ६२ जना गम्भीर घाइते भए ५ सय ८८ जना सामान्य घाइते छन् ।
यस्तै आर्थिक वर्ष २०७९-०८० मा ५ सय ४६ वटा सवारी दुर्घटना भएकोमा १ सय ३१ जनाको मृत्यु भयो । ३ सय ३१ जना गम्भीर घाइते भए भने ७ सय ५९ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८० – ०८१ मा १ हजार ८६ वटा सवारी दुर्घटना भए । जसमा १ सय १२ जनाको मृत्यु भयो । ४ सय ७२ जना गम्भीर घाइते भए भने १६ सय ५ जना सामान्य घाइते भए ।