सुर्खेत: राउटे समुदायकी युवतीहरुको सोझोपनाको फाइदा उठाउँदै दुर्व्यवहार गरिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले दैलेखका तपेन्द्र शाहीलाई पक्राउ गरेको छ । गुडीरहेको ट्रकमा चार जना युवतीलाई राखेर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएपछि प्रहरीले उनको खोजी थालेको थियो । उनलाई शनिबार १०ः३० बजे आठविस नगरपालिकाको टुनिवगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएका व्यक्तिको नाम खुलेपनि अन्य विवरणहरु खुल्न बाँकी छ । ईलाका प्रहरी कार्यालय राकम कर्णालीको टोलीले ति व्यक्तिलाई नियन्त्रणमा लिएको र थप विवरण खुल्न बाँकी रहेको प्रमुख बरालले बताए । ‘भिडियोको विषयमा उजुरी र विभिन्न गुनासाहरु आएपछि हामाीले ति व्यक्तिको विषयमा खोजी गरेका थियौं । आज पक्राउ गरेका छौं,’ उनले भने, ‘थप विवरणहरु खुल्दै छ । व्यक्तिको विवरण लिने काम भइरहेका छ । त्यसपछि उजुरी दर्ता भएको ठाउँ सुर्खेतमा आवश्यक कारवाहीका लागि पठाउने छौं ।’
राउटे समुदायका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सोसक नेपालले उजूरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । घर्ती जगत नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेण्डको भिडियो केही दिन अघि सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गर्दै ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो हैन् ?’ भन्दै भिडियो सार्वजनिक गरेका छन् । प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको छ । उक्त विषयमा विभिन्न संघ संस्था र व्यक्तिहरुले सुर्खेतमा समेत उजुरी दिएका थिए । भिडियो कुन ठाउँको हो भन्ने स्पष्ट छैन् तर पक्राउ गरिएका व्यक्तिसँग सोधपुछ हुनै बाँकी रहेको प्रहरीले जनाएको छ । चार जना राउटे युवतीको विचमा बसेका एक युवाले गलत हर्कत गरिरहेको भिडियो क्लीपमा देख्न सकिन्छ । अंगालोमा हालेर ताजा ताजा भनेपछि राउटे युवतीहरुले असहज मानिरहेको देखिन्छ । भिडियो भाइरले गराउने बहानामा अनावश्यक दुःख दिने र अश्लिल हर्कतले राउटे युवतीहरु असुरक्षित बनेका छन् । पक्राउ गरिएका व्यक्ति विरुद्ध साइवर अपराध, हिंसा लगायतका मुद्दा आकर्षित हुने सोसेक नेपाल दैलेखका कार्यकारी प्रमुख हिरासिंह थापाले जानकारी दिए । २१ जेठ २०७८ मा सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर नजिकै राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर युवाहरुले यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक गरिएको थियो । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सातऔसात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
राउटे समुदाय पश्चिम नेपालका सुर्खेत, दाङ, सल्यान, जाजरकोट, दैलेख र अछाम जिल्लामा फिरन्ते जीवनशैली जिउने भएकाले विभिन्न जंगलहरुमा बस्दै आएका छन् ।
जगतदल जनाला विक । १८ जेष्ठ २०८२, शनिबार १५:०५