काठमाण्डौं: राष्ट्रिय सभाका सदस्य बिष्णु बहादुर बिक (विकल्प)ले दलित, मुस्लिम र सिमान्तकृत समुदायका विद्यार्थीहरुका लागि विशेष छात्रवृत्ति कार्यक्रममा नर्सिङ्ग विषय अनिवार्य राख्ननुपर्ने माग गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिकले उक्त कुराको माग गरेका हुन् ।
उनले नेपाल सरकारको आर्थिक वर्ष २०८१-०८२ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्राका लागि डिप्लोमा÷प्रमाणपत्र तहमा ३ सय २४ र प्रि-डिप्लोमा तहमा ३६ जना गरी जम्मा ३६० सिटहरुमा आवेदन खुलेको भन्दै लक्षित समुदायको लागि विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत एचए, होटल म्यानेजमेन्ट, कृर्षि, भेटेनरी, सिभिल, इलेक्ट्रोनिक, अटोमोबाइलमा विद्यार्थीको भर्ना दर कम रहेकोले उक्त विषय महत्वपुर्ण रहेको बताए ।
‘यो बजेटमा नसिू पनि पढाउन सकिन्थ्यो किन ? यो विषयमा आवेदन नखुलाएको हो ? के रिक्त रहेका सिट भर्नको लागि मात्र लक्षित समुदायको विशेष छात्रावृत्ति कार्यक्रम ल्याएको हो,’सांसद विकले भने, ‘के दलित, सीमान्तकृत समुदायका छात्रछात्रालाई नर्सिङ्ग पढाउन हुँदैन भन्ने मनसाय हो ? होइन भने किन नर्सिङ्ग राखिएन । विशेष छात्रवृत्ति कार्यक्रममा नर्सिङ्ग बिषय अनिवार्य राख्न सम्माननीय अध्यक्ष मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’
खुलानजर । २५ भाद्र २०८१, मंगलवार २१:५३