लिलाम पक्रिया ढिलाई हुँदा कवाडी बन्दै नियन्त्रणमा लिइएका सवारी साधन

अंगराज परियार
सुर्खेत: जिल्ला ट्राफिक सुर्खेत कार्यालयको परिसरमा मोटरसाइकल रिक्सा लगायतका विभिन्न सवारी साधनहरु कवाड बन्दै गएका छन् । ट्राफिक कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले काम नलाग्ने स्थितिमा पुगेका हुन् । ट्राफिक कार्यालयले नियन्त्रणमा लिएका अवैध सवारी साधनको लिलाम प्रक्रिया अगाडी नबढ्दा वर्षौदेखि कार्यालय परिसरमा थन्किएका हुन् । कार्यालयमा सयौंँ मोटरसाइकल मात्रै नभइ दर्जनौँ अटो रिक्सा पनि छन् । उक्त कार्यालयमा साइकल र चार पाङ्ग्रे सवारीसाधन पनि छन् । कैयौँ मोटरसाइकलका पाठपुर्जा नै छैनन् । लिलाम प्रक्रिया झन्झटिलो भएका कारण कार्यालयले त्यसमा चासो दिन सकेको छैन । प्रहरीले विभिन्न मितिमा पक्राउ गरी दाखिला गरेका दुई पाङग्रे र चार पाङग्रे सवारी अलपत्र अवस्थामा थन्किएका दुई हजार भन्दा बढी सवारी साधनहरु कवाडी बनेका छन् ।
आर्थिक वर्ष २०८१-०८२ को तथ्यांक अनुसार जिल्ला ट्राफिक नियन्त्रणमा रहेका सवारी साधनहरूको संख्या हालसम्म १ सय ७४ वटा रहेका छन् भने कारबाही संख्या जम्मा ७ हजार ४ सय ४ रहेको जिल्ला ट्राफिक सुर्खेत प्रशासन शाखाले जनाएको छ । आर्थिक वर्ष २०८०÷०८१ को तथ्यांक अनुसार कार्यालयमा दाखिला गरेका जम्मा एक सय ५५ वटा सवारी साधनहरुलाई लिलाम सूचिमा राखको छ । सुचिमा राखेपनि समयमा लिलाम नगरिँदा सवारी साधनहरु कवाडी भएर सडेका छन् ।

सवारी धनीले चासो दिँदैनन्
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले विभिन्न कसुरमा सवारी साधनको सवारी धनीले आवश्यक कागजपत्र पुर्याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन् । तर, केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन् । जसले गर्दा दिनप्रति दिन ट्राफिक प्रहरी कार्यालयको हातामा सवारीको चाङ लाग्दै गएको छ । वर्षौँदेखि बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनीले कुनै चासो नदिएपछि ट्राफिक कार्यालयका परिसरहरु कवाडी सङ्कलन केन्द्र जस्तै बन्दै गएका छन् । सबैभन्दा असजिलो काम भएका कारण समयमा सवारी साधनको लिलाम गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वकिल सुनारले बताए ।
‘प्रक्रिया लामो छ । सवारी लिलाममा ढिलाइ हुँदा सवारी साधन अलपत्र र अव्यवस्थित अवस्थामा रहेको कारण घाम, वर्षा, शीतले जिर्ण अवस्थामा रहेका छन्,’प्रहरी निरीक्षक सुनारले भने, ‘सवारी मापदण्डको प्रक्रिया मिचेर लिलामी गर्न सकिदैन । प्रक्रिया झन्झटिलो छ । समयमा लिलामी हुन नसक्दा खिया लागेर जिर्ण अवस्थामा पनि पुगेका छन् । धेरै पहिला आएका सवारी साधन त कामै नलाग्ने अवस्थामा पुगेका छन् ।’ कतिपय सवारी त कबाडीमै बेच्न पनि मुस्किल हुने अवस्थामा पुगेको उनको भनाई छ ।
सवारी ट्राफिक प्रहरी कार्यालयमा थन्किनुुका विभिन्न कारणहरू रहेका छन् । ट्राफिक कारबाही, चोरीका सवारी साधन, दुर्घटना लगायतका कारण रहेका छन् । दुर्घटना भएपछि बीमामार्फतको रकम पाएपछि सवारी लिन नआउने पनि एउटा कारण रहेको छ। त्यसैगरी सवारी धनी विदेशमा बस्ने र अरूले सवारी चलाएर कारबाहीमा परेपछि आवश्यक कागजपत्रको अभावमा पनि सवारी धनी नआउने गरेको पाइएको छ । त्यस्तै, अर्को मुख्य कारण भने सवारी नवीकरण र कर नै भएको देखिएको छ । सवारी तथा यातायात व्यवस्था ऐनको दफा ३१ को उपदफा १ मा सवारी नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ । नवीकरणको मिति नाघेको तीन महिनासम्म कुनै पनि दस्तुर लाग्दैन । तर, त्यसपछि भने नवीकरण गर्दा अतिरिक्त दस्तुर लाग्दै जान्छ । ऐनको दफा ३१ को उपदफा ४ मा जरिवाना परिभाषित गरेको छ । यसरी ऐनमा भए अनुसार लामो समयसम्म नवीकरण नगर्दा सवारी धनीलाई धेरै व्ययभार पर्न जान्छ । जसले पुरानो भएका सवारीसाधन नवीकरण गरेर ट्राफिकबाट लग्नुभन्दा त्यही छोड्दा उपयुक्त देखिएकाले पनि सवारी धनी लिन नभएको देखिएको छ ।
यसरी होल्ड भएका सवारी साधन के गर्ने रु कुन समयपछि लिलामी वा बिक्री गर्नेरु यसको अधिकार कसलाई हुने भन्ने ऐनमा स्पष्ट व्यवस्था गरिएको छैन । जसले गर्दा पछिल्लो समय यस्ता सवारीसाधन ट्राफिक प्रहरीको लागि टाउको दुखाइको विषय बनेको छ ।