कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक पनि पाए विस्वासको मत

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । उनले विश्वासको मत लिन बुधबार प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका थिए ।

सोही अनुसार उनले शुक्रबार प्रदेश सभाको नवौं बैठकबाट विस्वातको मत पाएका हुन् । उनलाई नेपाली कांग्रेस, एमाले, एकीकृत समाजवादी र  स्वतन्त्र सांसदले विस्वासको मत दिएका हुन् । राप्रपाका एकजना सांसदले मात्रै विपक्षमा मतदान गरेका छन् ।

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावमा ३८ मत खसेको हो । मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ र एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

यस्तै, ४० जना सांसद रहेका कर्णाली प्रदेश सभामा एमालेबाट सभामुख भएकी नन्दा गुरुङ र राप्रापाकी एक्ली सांसद सन्तोषी शाहीले मत दिएनन् । माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा ४० मध्ये २५ सांसदको मत लिन सफल भएका थिए ।

राप्रपाले समर्थन फिर्ता लिएसँगै उनले दोस्रो पटक विश्वासको मत लिएका छन् । यसअघि भने कांग्रेसले विस्वाससको मत दिएको थिएन ।

२७ पुसमा एमाले, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री बनेका शर्मा नेतृत्वको सरकारमा अहिले एमाले र माओवादी छन् । दुई दलले ३÷३ मन्त्रालयको नेतृत्व गरिरहेका छन् । यद्यपि केन्द्रमा चुनावी गठबन्धन ब्युँतिएपछि प्रदेशमा के हुन्छ ? भन्ने कुरालाई प्राथमिकताका साथ हेरिएको थियो । तर, एमालेले विस्वासको मत दिएर सरकारमै बसेको छ । कर्णालीमा नेपाली कांग्रेससँग १४, माओवादीसँग १३, एमालेसँग १०, एकीकृत समाजवादी, राप्रपासँग एक÷एक र एक जना स्वतन्त्र सांसद रहेका छन् । अब सदनको अर्को वैठक चैत १९ गते बस्ने भएको छ ।

 कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्पष्टता र इमानदारीको राजनीति होस् भनेर पुनः विश्वासको मत लिने निर्णय गरेको बताए । उनले सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै पनि सम्झौता नगर्ने बताए ।  शर्माले प्रदेशमा भ्रष्ट्राचार न्यूनीकरण र सुशासनका सन्दर्भमा सरकार कटिबद्ध रहेको बताए ।

उनले सम्भावनाले भरिएको प्रदेश भए पनि हरेक दृष्टिकोणले पछि परेकाले विकास र परिवर्तनका क्षेत्रमा अग्रसर हुनुपर्ने बताए ।  त्यसका लागि रोजगार र पूर्वाधारका क्षेत्रमा सरकार अग्रसर भइरहेको उनको भनाइ छ ।  प्रदेश संरचनालाई चुस्त, दुस्त बनाउनतर्फ सरकार अग्रसर भइरहेको उनको दाबी छ । केन्द्रमा कांग्रेससहितको गठबन्धन सरकार बनेसँगै प्रदेशमा पनि सोही अनुसार अघि बढेको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

सत्ता पक्षमा बसेर विपक्षमा मतदान गर्ने आफुहरुको नैतिकता नभएको एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए ।

‘हामी सत्ता पक्षकै सिटमा बसेका छौं । हामी बसेको अगाडी सत्ता पक्ष लेखेको छ । सत्ता पक्षमा बसेर विपक्षमा मत दिने कुराले औचित्य राख्दैनौं,’ एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने ।