१८ वर्षदेखि सुत्केरी स्याहारमा काम गर्दै आएकी शान्ति !


सुर्खेतः विगत १८ वर्षदेखि सुर्खेतमा सुत्केरीको स्याहार गर्ने काम गछिन् वीरेन्द्रनगर नगरपालिका–९ धरमपुरकी शान्ति चौधरी । उमेरले ४३ वर्षकी उनी १२ महिना नै व्यस्त हुन्छिन् । १७ वर्ष पहिले उनले आफ्नी सासुबाट सुत्केरीको स्याहार गर्न सिकिन् । उनकी सासु गाउँमा सुत्केरी स्याहारको काम गर्थिन् । त्यहि समयमा सासुले शान्तिलाई पनि सँगै लिएर काम सिकाउँथिन् । त्यसको एक वर्षपछि उनले पनि गाउँमा सुत्केरी स्याहारको काम गर्न थालिन् । त्यति बेला उनको दैनिक ज्याला दुई सय ५० रुपैयाँ थियो । महिनामा सात हजार पाँच सय हुन्थ्यो । अहिले उनै शान्तिको दैनिक ज्याला आठ सय रुपैयाँ छ । महिनामा २४ हजार रुपैयाँ उनको तलब हुन्छ । उनले सुत्केरी आमा र बच्चालाई सेक्ने, कपडा धुने र खाना पकाउने काम गर्थिन् । एक महिनादेखि साढे तीन महिनासम्म उनले एउटा सुत्केरीको स्याहारमा समय बिताउँछिन् । बिहान आठ बजेदेखि बेलुका चार बजेसम्म सुत्केरी आमा र बच्चाको स्यारसुसार गर्छिन् ।
पहिले–पहिले कामका लागि घरमै गएर बोलाउनेहरु अहिले उनलाई फोनबाट बोलाउने गर्छन् । उनले अझै भनेकाहरुलाई समय दिन भ्याउँदिनन् । बच्चा जन्मिने एक् दुई महिना अगाडी नै उनलाई कामका लागि सम्पर्क गर्छन् ।
विगतदेखि अहिलेसम्म यहि काममा लागेका कारण यसैमा आनन्दित हुने गरेको शान्ति बताउँछिन् । ‘१८ वर्षदेखि अहिलेसम्म कहिल्यै पनि खाली बसेको छैन । पहिला कम ज्याला थियो । अहिले ज्याला ठिक छ । महिनामा २४ हजार हुन्छ । कसैले त कपडा र अन्य दक्षिणा दिएर समेत बिदाई गर्छन्,’उनले भनिन्, ‘पहिलो सन्तान हुँदा काम गरेको घरमा दोस्रो सन्तान हुँदा पनि बोलाउँछन् ।’ शान्तिले स्याहार सुसार गरेको बच्चाहरु अहिले १७–१८ वर्षका भइसके । बाटोमा उनीहरु हिँडेको, पढेको देख्दा आफुलाई आनन्द आउने गरेको उनी सुनाउँछिन् । ‘उनीहरुका बुवाआमाले तिमीलाई स्याहार गर्ने उहाँ नै हो भनेपछि बच्चाहरु कतै बाटोमा देख्दा समेत नमस्कार मम्मी भनेर सम्मान गर्छन् । उनीहरु देख्दा एकदमै मन खुसी हुन्छ ।’ शान्तिको घरमा श्रीमानर छोरासहित तीन जनाको परिवार छ । २४ वर्षीय छोरालाई १२ कक्षा पढाएर घरायसी खर्च समेत शान्तिले नै कमाउँछिन् । श्रीमान र छोरा घरमा कृषि कर्म गर्छन् । उनी सुत्केरी र बच्चाको स्याहार गर्छिन् । यसैबाट कमाएर बचेको केही रुपैयाँ बचत समेत गरेकी छन् । त्यहि बचत बुढेसकालमा काम लगाउने उनको योजना छ । आफ्नो शक्ति भएसम्म यहि कामलाई निरन्तरता दिने बताउँछिन् । शान्तिको स्नेह, माया, र अथक परिश्रमले १८ वर्षसम्म सयौं आमा र शिशुहरूले सेवा पाएका छन् ।
सुरुका दिनहरू शान्तिका लागि सजिला थिएनन् । स्वास्थ्य सम्बन्धी औपचारिक शिक्षा नपाए पनि स्वस्थ बच्चा र अस्वस्थ बच्चा उनले जन्मन बित्तिकै थाहा पाउँछिन् । ‘बच्चा स्वस्थ र अस्वस्थ भन्ने कुरा जन्मदासाथ थाहा भइहाल्छ । स्वस्थ बच्चाको व्यवहार र चाल नै फरक हुन्छ,’उनले भनिन्, ‘हुन त म डाक्टर होइन, तरपनि बच्चा र आमाको स्याहारमै १८ वर्ष बिताएको हुँदा धेरै कुराहरु अहिले मलाई ज्ञान भइसक्यो । के खाँदा ठिक, के नखाँदा ठिक । आमा रबच्चाका लागि कसरी सुरक्षित राख्ने भन्ने कुराहरुमा परिपक्क छु ।’
समाजमा केहीले उनको कामप्रति फरक दृष्टिकोण राखेपनि अधिकांशले उनलाई सम्मानका साथ व्यवहार गर्छन् । ‘केही मान्छेहरुले मेरो कामप्रति नकरात्मक दृष्टिकोणले हेर्छन् । अधिकांशले देशमै गरिखानु राम्रौ हो भन्छन्,’उनले भनिन्, ‘विदेशमा गएर काम गर्न लाज मान्दैनन् । तर नेपालमा काम गर्न लाज मान्ने चलन छ । तर म र मेरो परिवार आफ्नो कामप्रति गौरव गछौं । भोलीका दिनमा मेरो बुहारीलाई पनि यो काम गर्न म प्रेरित गर्छु ।’
शान्तिकै अगुवाईमा उनीजस्तै ६ जना चौधरी समुदायका महिलाहरु सुत्केरी र बच्चाको स्याहार गर्ने काम गर्छन् । उनका अनुसार श्रीमानबाट पीडित र आर्थिक अवस्था कमजोर भएका अन्य महिलाहरुलाई समेत उनले नै उक्त काममा लाग्न प्रेरणा जगाएकी छन् ।