तरुणदलको केन्द्रीय सदस्यमा कर्णालीबाट महिला र दलित शून्य !

सुर्खेत: नेपाली कांग्रेसको भातृ संगठन नेपाल दरुणदलमा बुधबार पार्टी सभापति शेरबहादुर देउवाले विद्धान गुरुङ्गको अध्यक्षतामा चार सय जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । जसमा कर्णालीका १० जिल्लाबाट ३३ जना केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित भएका छन् । कर्णालीबाट ३३ जना केन्द्रीय सदस्यमा मनोनित भइरहँदा महिला र दलितको सहभातिा भने शून्य देखिएको छ । जसमध्ये शाही-ठकुरी समुदायबाट १७ जना, क्षेत्री समुदायबाट ८ जना, ब्राहमण समुदायबाट ७ जना र आदिबासी जनजाति समुदायबाट १ जना छन् । सुर्खेत, दैलेख र जुम्लाबाट ५-५ जना, कालिकोटबाट ४ जना, जाजरकोट र डोल्पाबाट ३-३ जना, मुगु, हुम्ला, सल्यान र रुकुमपश्चिमबाट २-२ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेपाली कांग्रेसको विधानले नै वडादेखि केन्द्रसम्म समावेशी समानुपातिक सहभागिता र आरक्षणलाई प्रतिनिधित्व गर्ने व्यवस्था गरेपनि दरुणदलमा भने यो लागु नहुँदा चौतर्फी यसको आलोचना भएको छ ।
तरुणदलमा गरिएको मनोनित प्रक्रिया पार्टीको विधान अनुसार नभएको दलरुण दल कालिकोटका पुर्व सहसचिव देवेन्द्र शाहीले बताए ।
‘बुधबार तरुण दलको केन्द्रीय कार्यसमिति मनोनयनको प्रक्रिया पार्टीको विधान अनुरुप भएको छैन । समावेशिता छैन । नेताको खल्तीबाट मान्छेहरुलाई मनोनित गरिएको छ,’नेता शाहीले भने, ‘कर्णालीबाट पार्टीमा लामो त्याग र तपस्या गरेका नेताहरु समेत केन्द्रीय कार्यसमितिमा पर्न सकेका छैनन । बरु नेवि संघ, पार्टी र अन्य संस्थाका पूर्व पदाधिकारी नेताको गुलाम गर्नेहरु नै मनोनित भएका छन् । कस्तो लाजमर्दो कुरा हो ?’
तरुणदलको मनोनितमा कर्णालीबाट एक जना पनि महिला नपर्नु विधान विपरित रहेको तरुणदलकी केन्द्रीय पार्षद भगवती देवकोटाले बताइन् ।
आफुले २०५९ सालदेखि लोकलोकतान्त्रिक कांग्रेस हुँदै नेविसंघको जिल्ला उपाध्य र लामो समयसम्म तरुणदलमा राजनीति गरेपनि महिलालाई उपेक्षा गरेकोप्रति देवकोटाले दुःख व्यक्त गरिन् ।
‘२०५९ सालदेखि नेविसंघ हुँदै तरुणदलसम्म आउँदा मैले कांग्रेसमा लामो समयसम्म दुःख र संघर्ष गरेकी छु । जुनसुकै अवस्थामा पनि कर्णालीबाट मेरो नाम केन्द्रीय सदस्यमा नछुट्ने अवस्था थियो,’नेता देवकोटाले भनिन्, ‘तर, अन्तिम समयमा आएर मेरो नाम लिष्टबाट हटाएर महिला सहभागिता शून्य गराइयो । सायद मैले तरुणदलका केन्द्रीय अध्यक्षज्यूलाई चाकडी गर्न नसकेर होला ।’
उनले कर्णाली जस्तो प्रदेशमा यसै पनि महिलाको राजनीतिमा सहभाभतिा न्यून रहेको बताउँदै तरुण दलको यो निर्णयले कांग्रेसमा महिला नेतृत्वप्रति नकरात्मक सन्देश जाने बताइन् ।
यस्तै तरुणदलको यो निर्णयप्रति कर्णालीमा दलित समुदायले पनि अशन्तुष्ट देखाएको छ ।
पार्टीको विधानले नै विभिन्न कलष्टर गरी आरक्षणको व्यवस्था गरेका बेला सिमिति व्यक्तिहरुको स्वार्थका कारण तरुणदलमा दलित समुदायको सहभागिता शून्य बनाएको नेपाल दलित संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि सञ्जुसिंह सुनारले बताए ।
‘कांग्रेसको १० लाख क्रियाशिल सदस्यमध्ये साढे ४५ हजार बढी दलित समुदायका सदस्य छन् । त्यसैमा पनि कर्णालीमा दलितको बाहुल्यता बढी छ,’नेता सिंहले भने, ‘केही दिन अगाडी मनोनित गरेको महिला संघको कार्यसमितिमा पनि दलितको सहभागिता न्यून गराइयो । अहिले तरुणदलमा त झन् कर्णालीबाट शुन्य नै बनाइयो । यो दलित समुदायका लागि दुःखद् कुरा हो ।’
कांग्रेसका नेतृत्वहरुले विधानमा विभिन्न कलष्टर बनाएर महाधिवेशनमा आफुहरुलाई प्रयोग मात्रै गर्न खोजेको अरोप सुनारको छ ।