एमयू स्ववियु निर्वाचन : सात विद्यार्थी संगठन एक्ला एक्लै चुनावी मैदानमा 

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा ६ वर्षपछि भोली सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । कहिलयै विश्वविद्यालयको तयारीका कारण त कहिल्यै अदालती प्रक्रियाका कारण पटक–पटक स्ववियु निर्वाचन सर्दै आएको थियो । निर्वाचनका लागि सात वटा पार्टी निकट विद्यार्थी संगठन र एक स्वतन्त्र उम्मेदवारबाट अध्यक्षका लागि एक्ला एक्लै निर्वाचनमा होमिएका छन् । नेपाली काँग्रेस निकट (नेविसंघ), नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा एकीकृत समाजवादी, राप्रपा, नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपाका विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् । त्यस्तै एक जनाल स्वतन्त्र उम्मेदवार छन् । नेविसंघबाट विवेक खड्का, अनेरा स्ववियुबाट जगतजंग शाही, अखिल (क्रान्तिकारी) बाट प्रकाश विक, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट चिनबहादुर सहकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिनकुमार रेग्मी, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली सभापति पदका उम्मेदवार छन् । त्यस्तै मिलन बिसी स्वतन्त्ररुपमा सभापतिको उम्मेदवार बनेका छन् । सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । कुनैपनि संगठनले एकअर्कासँग गठबन्धन गरेका छैनन् । भोली हुने निर्वाचनका सम्पुर्ण तयारी पुरा भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका निर्वाचन अधिकृत खगेन्द्र अधिकाले जानकारी दिए । ‘६५ प्रतिशतभन्दा बढी भोटिङ कार्ड दिइसकेका छौं । मतपत्र पनि तयार छ,’ उनले भने, ‘निर्वाचन स्थलको काममा जुटेका छौं ।’ निर्वाचन व्यवस्थित रूपमा अगाडी बढाई निष्पक्ष र पारदर्शी बनाउन समिति लागिरहेको उनको भनाई छ । मध्यपश्चिम विश्वविद्यालयमा पहिलो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७३ भदौ ८ गते भएको थियो । ०७६ सालमा तत्कालीन पदाधिकारीहरूको पदावधि सकिएपछि विश्वविद्यालय स्ववियुविहीन बनेको थियो । बेला–बेला निर्वाचनको चर्चा चले पनि त्यसले पूर्णता पाउन सकेको थिए । ०७९ चैत ५ गते विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तालिका तोकिएपनि मुसुमका विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन रोकिएको थियो । त्यस्तै ०८१ भदौ २८ हुने निर्वाचन पनि दुइदिन अगाडी मात्रै अदालतकै आदेशका कारण रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नाम समावेश नभएको भन्दै भदौ २६ गते साइन्स एण्ड टेक्नोलोजी विभागको छैटौं सेमेस्टरका असन्तुष्ट विद्यार्थीहरूले विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । अदालतले उनीहरुको नाम समावेशगरी चैत २० भित्र निर्वाचन गर्न आदेश दिएपछि निर्वाचन गर्ने बाटो खुलेको हो । मध्यपश्चिम विश्वविद्यालयमा ४ हजार ३८३ मतदाता रहेका छन् । स्ववियु निर्वाचनलाई राजनीतिक दलहरूले समेत प्रतिष्ठाको विषय बनाएका छन् । स्ववियु निर्वाचन कार्यविधिमा ३ पदाधिकारी (अध्यक्ष, सचिव र कोषाध्यक्ष) र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्यस्तै ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुन्छन् । त्यसपछि, कार्यसमितिले १४ जना निर्वाचित सदस्यहरूमध्ये एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।