बढ्दै घरेलु हिंसाका घटना, आफ्नै घर असुरक्षित बन्दै !

                                                                                     सांकेतिक तस्विर

सुर्खेत: कर्णालीमा महिलाका लागि आफ्नै घर असुरक्षित बन्दै गएको तथ्याङ्कले देखाएको छ। पछिल्लो तीन वर्षमा प्रदेशभर ३ हजार ६ सय २१ घरेलु हिंसाका घटना दर्ता हुँदा २५ जना महिलाले आफ्नै श्रीमानबाट ज्यान गुमाएका छन्। अझ चिन्ताजनक पक्ष, २०७८ सालदेखि २०८२–८३ सम्म प्रदेशमा भएका १ हजार ३ सय ७५ आत्महत्यामध्ये ३ सय ७२ घटनाको कारण पारिवारिक कलह तथा श्रीमान्–श्रीमतीबीचको विवादसँग जोडिएको प्रहरीको तथ्याङ्क छ।
घरेलु हिंसाले महिलालाई हत्या र आत्महत्यासम्म पुर्‍याइरहेको पछिल्ला घटनाले पनि देखाउँछन्। २०७७ फागुन २३ गते दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवाल चार छोरीसहित कर्णाली नदीमा हाम फालिन्। मदिरा तथा लागूऔषध सेवन गर्ने श्रीमानबाट हुने निरन्तर कुटपिट, मानसिक र शारीरिक यातनाका कारण उनले चार छोरीसहित मृत्युको बाटो रोजेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

सुकीको घटनासँग मिल्दोजुल्दो अर्को घटना ०८२ चैतमा सुर्खेतमा भयो । गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत दुई सन्तानसहित भेरी नदीमा हाम फालिन्। घटनाअघि उनले श्रीमानबाट कुटपिट र यातना भोग्दै आएको परिवारका सदस्यले बताएका छन्।

मायाका श्रीमान् भुपेन्द्र लामो समय रोजगारीका लागि भारतमा थिए। पछिल्लो ६ महिनादेखि भने उनी घरमै बसेर अटो चलाउँदै आएका थिए। मायाका दाजु प्रेम गिरीका अनुसार अटो चलाउन सुरु गर्नुअघिसम्म दम्पतीबीचको सम्बन्ध सामान्य थियो।

‘ज्वाइँ अटो चालक भएपछि बहिनी र ज्वाइँबीच सम्बन्ध बिग्रँदै गएको हामीले पछि थाहा पायौँ,’ प्रेमले भने, ‘दसैंपछि राति ढिलो घर आउने, कुटपिट गर्ने र बाहिर अर्की महिलासँग कुरा गर्ने गरेको बहिनीले आमालाई सुनाएकी रहिछन्।’

मायाले भोगिरहेको हिंसाबारे आमालाई जानकारी भए पनि घरबार बिग्रने डरले परिवारका अन्य सदस्यसम्म कुरा पुग्न सकेन। प्रेम भन्छन्, ‘आमाले पनि श्रीमान्–श्रीमतीको कुरामा नलागौँ, घरबार बिग्रेला भन्ने सोच्नुभएछ। अब त मेरो बहिनीको कुनै वंश नै बाँकी रहेन।’

घटनाअघि माया आफ्ना काका अमरदेव गिरीको घर पुगेकी थिइन्। त्यहीँ श्रीमानले उनीमाथि कुटपिट गरेको अमरदेव बताउँछन्। घर किन नगएको भनेर सोध्दा मायाले आफूलाई श्रीमानले कुटपिट गर्ने र खुकुरी देखाएर धम्क्याउने गरेको बताएकी थिइन्।

हिंसाले लिइरहेको छ ज्यान

नदीमा हाम फालेर ज्यान गुमाउने घटना मात्र होइन, श्रीमानबाटै महिलाको हत्या भएका घटना पनि कर्णालीमा दोहोरिइरहेका छन्। चौकुने गाउँपालिका– ५ रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटा जैसीको फरुवा प्रहार गरेर हत्या गरेको आरोपमा पति ३२ वर्षीय गोपीराम जैसीलाई प्रहरीले ०८३ असोज ६ गते गिरफ्तार ग¥यो ।
आरोपितले ०८३ असोज ६ गते बिहान घरमा फरुवा प्रहार गरी हत्या गरेको भन्ने स्थानीयको जानकारीका आधारमा गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
केही वर्ष अगाडी सुर्खेतकै पञ्चपुरी नगरपालिका–३ का ३८ वर्षीय अमरबहादुर आले मगरले श्रीमती मीनाको हत्या गरी आफैँ प्रहरी कार्यालय पुगेका थिए। वीरेन्द्रनगर–१० का दानसिंह ठाडाले पनि सुतेकै अवस्थामा श्रीमती रविना थापामाथि चिर्पट प्रहार गरी हत्या गरेका थिए।
यी घटनाले घरेलु हिंसा सामान्य विवाद वा घरायसी झगडामा मात्रै सीमित नरही महिलाको जीवनकै लागि खतरा बन्दै गएको देखाउँछन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पनि अवस्था गम्भीर रहेको देखाउँछ। पछिल्लो तीन वर्षमा मात्रै प्रदेशमा ३ हजार ६ सय २१ घरेलु हिंसाका घटना दर्ता भएका छन्। यही अवधिमा घरेलु हिंसासँग जोडिएका घटनामा २४ महिलाको आफ्नै श्रीमानबाट हत्या भएको तथ्याङ्क छ।

२०७८ देखि ०८२ चैतसम्म कर्णालीमा बलात्कारका ८ सय ५२ घटना र महिलाको हत्या भएका आठ घटना अभिलेखमा छन्। घरेलु हिंसामा कुटपिट मात्रै नभई घर निकाला, गालीगलौज, मानसिक तथा शारीरिक यातना, धम्की र यौनजन्य दुर्व्यवहारसमेत देखिने गरेका छन्।

पाँच वर्षमा १ हजार ३७५ आत्महत्या

प्रदेश प्रहरीको तथ्याङ्कअनुसार २०७८ देखि २०८२–८३ सम्म कर्णालीमा १ हजार ३ सय ७५ आत्महत्याका घटना भएका छन्। तीमध्ये ३ सय ७२ घटनाको कारण पारिवारिक कलह तथा श्रीमान्–श्रीमतीबीचको विवाद रहेको प्रहरीको विश्लेषण छ।
कर्णाली प्रदेश प्रहरी प्रवक्ता एसएसपी रामप्रकाश शाह पछिल्लो समय मदिरा, लागूऔषध र घरेलु हिंसासँग जोडिएका घटना चिन्ताजनक रूपमा देखिएको बताउँछन्। पारिवारिक असमझदारी, दाम्पत्य विवादसँगै मदिरा तथा लागूऔषधको प्रयोगले हिंसालाई थप जटिल बनाइरहेको उनको भनाइ छ।
प्रदेशका दुर्गम जिल्लामा प्रहरीसम्म नआएका घटनाको सङ्ख्या अझै ठूलो हुन सक्ने देखिन्छ। चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामै हुम्ला जिल्ला प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका ४९ घटना दर्ता हुँदा ३० वटा घरेलु हिंसाका छन्। अर्थात् प्रहरीमा पुगेका कुल घटनाको ६१ प्रतिशतभन्दा बढी घरेलु हिंसासँग सम्बन्धित छन्।
हुम्लाका डीएसपी शंकर खड्काका अनुसार महिलामाथि कुटपिट, घर निकाला, गालीगलौज तथा विभिन्न किसिमका दुर्व्यवहार बढी देखिएका छन्। तर प्रहरीमा आएका उजुरीले जिल्लामा भइरहेको हिंसाको वास्तविक आकार देखाउन नसक्ने उनी बताउँछन्।
भौगोलिक विकटता, सामाजिक दबाब, पारिवारिक प्रतिष्ठाको डर र न्यायिक निकायसम्म सहज पहुँच नहुँदा धेरै घटना घर तथा समुदायभित्रै दबिने गरेका छन्। उजुरी प्रहरीसम्म पुगेपछि समेत मिलापत्रका लागि दबाब आउने गरेको प्रहरीको अनुभव छ।

आठबीस नगरपालिकाकी तत्कालीन उपप्रमुख तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी दिपा बोहोरा हिंसालाई परिवारभित्रको निजी मामिला ठान्ने सामाजिक मानसिकता परिवर्तन नभएसम्म यस्ता घटना रोक्न कठिन हुने बताउँछिन्।
‘कर्णालीका नदीहरू केवल पानी बगाउने मात्र होइनन्, हाम्रा दिदीबहिनीका पीडाले थिचिएका शरीरको अन्तिम साक्षी बन्दै जानेछन्,’ उनी भन्छिन्, ‘महिलाहरू आफ्नै घरभित्र असुरक्षित हुनु समाज र राज्य दुवैको असफलताको प्रतिविम्ब हो।’

गरीबी, अशिक्षा, महिलाको आर्थिक परनिर्भरता, मदिरा तथा लागूऔषध सेवन, पितृसत्तात्मक सोच, बालविवाह, बहुविवाह र महिलामाथिको विभेद हिंसाका प्रमुख कारणका रूपमा देखिएका छन्। त्यसमा पीडितले उजुरी गरेपछि गाउँघरमै मिलापत्र गराउने दबाब र पीडकको सामाजिक तथा राजनीतिक पहुँचले न्याय प्राप्तिको बाटो थप कठिन बनाउने गरेको अधिकारकर्मी बताउँछन्।
मध्यपश्चिम विश्वविद्यालयमा समाजशास्त्र विषयकी उपप्राध्यापक कमला तिवारी घरेलु हिंसा सहन नसकेर महिलाले मृत्यु रोज्ने अवस्थाका लागि परिवारसँगै समाज पनि जिम्मेवार रहेको बताउँछिन्।

‘महिला र बालबालिकाले आफूले अपेक्षा गरेको व्यवहार घरपरिवारमा नपाउँदा मानसिक रूपमा विचलित हुन सक्छन्। निरन्तरको हिंसा र तनावले सही निर्णय लिन नसक्ने अवस्थामा पुर्‍याउन सक्छ,’ तिवारी भन्छिन्, ‘त्यस्तो अवस्थामा आत्महत्याजस्तो कठोर बाटो रोज्ने जोखिम बढ्छ।’
आमाले निरन्तर हिंसा भोगिरहेको देख्ने बालबालिकामा समेत गम्भीर मनोसामाजिक असर पर्न सक्ने उनको भनाइ छ। त्यसैले घरेलु हिंसालाई श्रीमान्–श्रीमतीबीचको व्यक्तिगत झगडाका रूपमा मात्रै हेर्न नहुने उनी बताउँछिन्।
तिवारीका अनुसार हिंसा भएपछि प्रहरीमा उजुरी लिने व्यवस्थाले मात्रै समस्या समाधान हुँदैन। स्थानीय तहदेखि प्रदेश सरकारसम्मले हिंसा पहिचान, मनोसामाजिक परामर्श, सुरक्षित आश्रय, कानुनी सहायता र पीडितको आर्थिक सशक्तीकरणलाई जोडेर काम गर्न आवश्यक छ।
तीन वर्षमा ३ हजार ६ सय २१ घरेलु हिंसाका उजुरी र २४ महिलाको श्रीमानबाट हत्या, पाँच वर्षमा १ हजार ३ सय ७५ आत्महत्यामध्ये ३ सय ७२ घटनाको पारिवारिक तथा दाम्पत्य विवादसँग सम्बन्ध र हुम्लामा तीन महिनामै ३० घरेलु हिंसाका उजुरी—यी तथ्याङ्कले कर्णालीमा घरभित्रको हिंसालाई सामान्य पारिवारिक विवादका रूपमा बेवास्ता गर्न नहुने अवस्था देखाएका छन्। सुकी र मायाको मृत्युले पनि हिंसा समयमै पहिचान गरेर पीडितलाई सुरक्षा, परामर्श र न्यायको पहुँच दिन नसक्दा त्यसको परिणाम महिला मात्र नभई बालबालिकाको जीवनसमेत गुम्ने तहसम्म पुग्न सक्ने देखाएको छ।