
सुर्खेत: डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट करिब १५ फिट लामो सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्। शुक्रबार राति कैदीबन्दी सुत्ने कोठाको सिरानीतर्फबाट सुरुङ खनेर उनीहरू फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार कारागारभित्रबाट ४ मिटर ६३ सेन्टिमिटर अर्थात् करिब १५ फिट लामो सुरुङ खनेको पाइएको छ। सुरुङबाट निस्किएपछि नजिकै रहेको सेफ्टी ट्याङ्की क्षेत्रसमेत प्रयोग गरेर उनीहरू कारागारको सुरक्षा घेरा पार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
`कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर आठ जना फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,´ डीएसपी गिरीले भने, `उनीहरूले कहिलेदेखि सुरुङ खन्न थालेका थिए र सुरक्षा निगरानीबाट कसरी जोगिए भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।´
प्रहरीका अनुसार फरार आठ जनामध्ये छ जना कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका बन्दी हुन्। उनीहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालयसहित जिल्लास्थित सुरक्षा निकायलाई परिचालन गरिएको छ। सम्भावित नाका तथा जिल्लाबाहिर जाने क्षेत्रमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै शनिबार बिहान प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र डीएसपी गिरीसहितको टोली कारागार पुगेर घटनास्थलको निरीक्षण गरेको छ। टोलीले सुरुङ खनिएको स्थान, कैदीबन्दी बस्ने कोठा, सुरक्षा पोस्ट तथा बाहिर निस्कन प्रयोग गरिएको क्षेत्रको समेत अवलोकन गरी प्रारम्भिक अनुसन्धान थालेको छ।
सिरानीपट्टिबाट खनिएको थियो सुरुङ
कारागार प्रशासनका अनुसार कैदीबन्दीहरूले आफूहरू सुत्ने कोठाको सिरानीपट्टिबाट सुरुङ खनेका थिए। उक्त कोठानजिकै सेफ्टी ट्याङ्की रहेकाले त्यसलाई समेत भाग्ने योजनामा उपयोग गरेको देखिएको छ।
कारागार प्रशासक दीर्घराज आरसीका अनुसार शुक्रबार राति पानी परेकाले सुरक्षामा खटिएका प्रहरीले समेत असामान्य गतिविधि थाहा पाउन सकेनन्। बिहान नियमित रूपमा कैदीबन्दीको अवस्था जाँच गर्ने क्रममा आठ जना नभेटिएपछि मात्रै उनीहरू फरार भएको खुलेको थियो।
`सुत्ने कोठाको सिरानीपट्टिबाट सुरुङ खनेका रहेछन्। त्यो कसैलाई पनि थाहा भएन,´ आरसीले भने, ´बिहान पौने ६ बजेतिर सुरक्षाकर्मी र कर्मचारीले कोठा चेक गर्दा उनीहरू नभेटिएपछि खोजी गर्दा सुरुङबाट भागेको थाहा भयो।´
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विनय सिंहका अनुसार सुरुङको प्रकृति हेर्दा एकै रातमा खनिएको जस्तो देखिँदैन। यसले कैदीबन्दीले केही समयअघिदेखि नै योजनाबद्ध रूपमा कारागारबाट भाग्ने तयारी गरेको हुनसक्ने देखाएको छ।
शुक्रबार राति पानी परिरहेकाले सुरुङ खन्ने वा बाहिर निस्कने क्रममा भएको गतिविधिसमेत ड्युटीमा रहेका सुरक्षाकर्मीले थाहा नपाएको प्रहरीको प्रारम्भिक अनुमान छ।
बलात्कार मुद्दाका पाँच जना फरार
फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका व्यक्ति छन्। उनीहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धन बुढा भनिने हरिबहादुर बुढा रहेका छन्।
यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र आठबिसकोट नगरपालिका–३ का ३२ वर्षीय निशान भनिने आदेश भण्डारी पनि फरार भएका छन्।
उनीहरूमध्ये चोरी मुद्दामा कैद सजाय भोगिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। समग्रमा फरार आठ जनामध्ये छ जना कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका बन्दी रहेको डीएसपी गिरीले बताए।
एक सय जना क्षमताको डोल्पा जिल्ला कारागारमा घटना हुनुअघि १७ जना कैदीबन्दी तथा थुनुवा थिए। आठ जना फरार भएपछि अहिले कारागारमा नौ जना मात्रै बाँकी छन्।
दसैँयता भएको थिएन कारागारको नियमित सर्च
कैदीबन्दीले लामो समय लगाएर सुरुङ खनेको हुनसक्ने प्रारम्भिक अनुमान भइरहँदा कारागारमा दसैँयता नियमित सर्च नभएको खुलेको छ। कारागार प्रशासनका अनुसार बेला–बेला सर्च गरिँदै आए पनि पछिल्लो समय त्यस्तो अभियान सञ्चालन गरिएको थिएन।
कारागार प्रशासक आरसीका अनुसार कैदीबन्दीबीच झगडा, विवाद वा शंकास्पद गतिविधि देखिएपछि सर्च गर्ने गरिएको थियो। पछिल्लो समय कैदीबन्दीबीच त्यस्तो विवाद नदेखिएकाले विस्तृत सर्च नभएको उनको भनाइ छ।
`कैदीबन्दीबीच झगडा भयो वा केही विवाद देखियो भने सर्च गर्ने गरेका थियौँ। पछिल्लो समय उनीहरूबीच त्यस्तो अवस्था देखिएको थिएन,´उनले भने, `साँझ पौने ६ बजे र बिहान पौने ६ बजे नियमित चेक गर्ने गरिएको थियो।´
कारागारको सुरक्षामा खटिएका पुराना प्रहरी सहायक निरीक्षकको सरुवा भएर नयाँ प्रहरी अधिकारी आएपछि विस्तृत सर्च गर्ने विषयमा छलफल भए पनि कार्यान्वयन हुन नपाउँदै घटना भएको प्रशासनको भनाइ छ।
तर, कैदीबन्दी बस्ने कोठाभित्रैबाट १५ फिट लामो सुरुङ खनिँदासमेत प्रशासन र सुरक्षाकर्मीले जानकारी नपाउनु तथा लामो समयसम्म विस्तृत सर्च नहुनुले कारागारको आन्तरिक सुरक्षा र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।
जेनजी आन्दोलनका बेला पनि भएको थियो भाग्ने प्रयास
डोल्पा कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको यो पहिलो घटना भने होइन। २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा समेत यही कारागारका कैदीबन्दीले ग्यास सिलिन्डर विस्फोट गराएर कारागारबाट भाग्ने प्रयास गरेका थिए। उक्त प्रयासपछि पनि कारागारको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
त्यसको करिब एक वर्षपछि कैदीबन्दीले योजनाबद्ध रूपमा सुरुङ खनेर सुरक्षा घेरा तोड्न सफल हुनुले यसअघिको घटनापछि अपनाइएका सुरक्षा उपाय र निगरानीको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।
कारागार प्रशासनले बिहान र साँझ कैदीबन्दीको नियमित गणना तथा जाँच गर्ने गरेको बताए पनि उनीहरूले लामो सुरुङ खन्दासम्म थाहा नहुनु सुरक्षा प्रणालीको गम्भीर कमजोरीका रूपमा देखिएको छ।
फरार कैदीबन्दीमध्ये अधिकांशको विगतको राजनीतिक पृष्ठभूमिबारे समेत विभिन्न विवरण बाहिर आएका छन्। उनीहरूमध्ये अधिकांश माओवादी पृष्ठभूमिसँग जोडिएका रहेको दाबी गरिए पनि त्यसको आधिकारिक पुष्टि भने सम्बन्धित निकायबाट हुन बाँकी छ। प्रहरीले हाल फरार हुनुको कारण, उनीहरूबीचको योजना र बाह्य व्यक्तिको सहयोग रहे/नरहेको पक्षलाई समेत अनुसन्धानको दायरामा राखेको जनाएको छ।
डीएसपी गिरीका अनुसार अहिले पहिलो प्राथमिकता फरार आठै जनालाई नियन्त्रणमा लिनु हो। त्यससँगै यति लामो सुरुङ कहिलेदेखि र कुन उपकरण प्रयोग गरेर खनियो, खनिएको माटो कहाँ व्यवस्थापन गरियो, नियमित निगरानीमा किन देखिएन र घटनामा कारागारभित्र वा बाहिरबाट कसैको सहयोग थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानबाट खुलाइनेछ।
चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर एकैपटक आठ जना कैदीबन्दी फरार भएको घटनाले दुर्गम हिमाली जिल्ला डोल्पाको मुख्य कारागारको भौतिक संरचना, नियमित सर्च प्रणाली र सुरक्षा निगरानीमाथि गम्भीर प्रश्न खडा गरेको छ। फरारहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
छानबिन गर्न समिति गठन
कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार इन्स्पेक्टर विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रशासन कार्यालयका एक प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन्।
कारागारको सुरक्षा व्यवस्थाबिच कैदीबन्दी कसरी सुरुङ खनेर फरार भए र ड्युटीमा खटिएका प्रहरीले किन जानकारी पाएनन् भन्ने विषयमा समितिले छानबिन गर्नेछ।
डीएसपी गिरीका अनुसार घटना कात्तिक १३ गते रातिको हो। आफूलाई कात्तिक १४ गते बिहान मात्रै घटनाबारे जानकारी प्राप्त भएको उनले बताए।
समितिले प्रतिवेदन बुझाएपछि कैदीबन्दी फरार भएको घटनाको विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ। घटनाअघि कारागारमा कैदीबन्दी तथा थुनुवासहित १७ जना रहेका थिए।

खुलानजर । १७ कार्तिक २०८३, सोमबार १४:१४