व्यवहारवादी नेता खड्काको जन्मभूमिप्रतिको सम्मान !

सुर्खेत:  शनिबार बिहान उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले सुर्खेत विमास्थलमा अवतरण पश्चात घुँडा टेकेर ढोक गरेको फोटो समाजिक सञ्जालमा अहिले निकै भाइरल बनेको छ । सामाजिक सञ्जालमा कसैले ‘देखावटी नाटक’ भनेर चर्को विरोध गरेका छन्, भने कसैले ‘जन्मभूमिप्रतिको सम्मान’ भनेर टिप्पणी गरेका छन् । तर, खुलानजरले यसको वास्तविकता बारे खोतल्ने प्रयास गरेको छ ।
यही चैत १७ गते उपप्रधान तथा रक्षा मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका खड्का कर्णालीबाट प्रथम उपप्रधानमन्त्री बनेका हुन् । यसअघि विभिन्न समयमा गरी पाँचौ औं पटक मन्त्री भइसकेका उनी पार्टीभित्र व्यवहारवादी र स्पष्ट वक्ताका रुपमा परिचित छन् । उनी नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई (किशुनजी) का अनुयायी समेत हुन् ।
देशमा जब विषम् परिस्थितिको सिर्जना हुन्छ, आफु र पार्टीले केही निर्णय गर्दा होस् या सफलता प्राप्त गर्दा उनी ललितपुर स्थित कृष्ण्प्रसाद भट्टराई आश्रम बाँडेगाउँ गएर माल्यार्पणसहित सम्मान गर्दै आर्शिवाद माग्छन् ।
पहिलो पटक उपप्रधान मन्त्री हुँदा कर्णालीको माटोबाट ढोगेर यहाँका जनतालाई सम्मान गरेको उनले बताएका छन् ।
‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन् भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भने, ‘त्यही ताकत, आर्शिवाद र शुभकामना कर्णालीको माटोसँग मागेर कर्णालीको धर्ती ढोगेको हुँ ।’


आफ्ना आमा बुवा, गुरु र मातृभूमिप्रति नेता खड्काले सदैव सम्मान गर्दै आएको उनका स्वकीय सचिव गौतम विसीले बताए ।
‘उहाँ सदैव आमाबुवा, गुरु र मातृभूमिको सम्मान गर्नुहुन्छ । काठमाण्डौं हुँदा बेलाबखत देशको परिस्थिति अनुसार कृष्णप्रसाद भट्टराई आश्रम बाँडे गाउँमा गएर पुजाआजा गर्ने, सम्मान गरेर आर्शिवाद माग्नुहुन्छ । फेसबुक र ट्विटरमा पनि बधाई, सम्मान र श्रद्धाञ्जली दिँदा समेत लालिगुराँसको फोटो राख्नुहुन्छ,’स्वकीय सचिव विसीले भने, ‘यसबाटै थाहा हुन्छ की उहाँको राष्ट्रियता र मातृभूमिप्रतिको मायाँ, त्यसैले समाजिक सञ्जालमा आएजस्तो देखावटी रुपमा नभई उहाँको वास्तविकता र नियमित कर्म हो ।’
विसीका अनुसार कुनै सफलता लिँदा होस् केही महत्वपुर्ण निर्णय गर्दा खड्काले मातृभूमि र किशुनजीलाई ढोग्दै आर्शिवाद माग्छन् ।
सोही अनुसार उपप्रधान तथा रक्षा मन्त्रीको रुपमा सपथ खाएपछि पहिलो पटक जन्मभूमि सुर्खेतमा आएर सुर्खेती माटोलाई सम्मान गरी आर्शिवाद मागेर ढोगेका हुन् ।
खड्का देखावटी मात्र नभई मनबाटै समाजवादी र व्यवहारवादी चिन्तन भएका नेता रहेको नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।
खड्काको राजनीतक जीवन मेयरदेखि उपप्रधानमन्त्रीसम्मको छ । उनी आफ्नो यसपछिको राजनीतिक यात्रा भगवान र जनताको जिम्मा छोडेको बताउँदै आएका छन् ।
कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का नेपाली कांग्रेसको केन्द्रीय सदस्य, सह–महामन्त्री, महामन्त्री हुँदै हाल उपसभाति छन् । उनी विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसकेका व्यक्ति हुन् । उनीसँग संसदको राज्य व्यवस्था समितिको सभापति भएको अनुभव पनि छ ।
२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए । विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छन् ।