प्रदेश राजधानी वीरेन्द्रनगर नै लागुऔषधको ‘हटस्पट’


सुर्खेत: कर्णाली प्रदेशमा लागुऔषधको कारोबारमा वृद्धि भइरहेको छ । शुक्रबार एईआएन, आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे समन्वय तथा साेसेक नेपालद्वारा आयोजित लागुपदार्थ दुर्व्यसनी न्युनीकरणका लागि रणनीतिक कार्यक्रम, चुनाैती तथा सराेकारवालाकाे भूमिका विषयक प्रदेशस्तरीय कार्यशाला गाेष्ठीमा सार्वजनिक कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १०६ वटा मुद्दामा १६८ जना पक्राउ गरिएको छ । त्यस्तै ०८१/०८२ चैत मसान्तसम्म १२० वटा मुद्दामा २०२ जनालाई पक्राउ गरिएको छ । १० जिल्लानमध्ये सुर्खेतमा बढी लागुऔषधको कारोबार हुने गरेको छ । त्यसमा पनि प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा लागुऔषध दुर्वसनी बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । वीरेन्द्रनगरमा लागुऔषध प्रयोगकर्ता, ओसारपसार तथा बिक्री वितरण तीव्र रूपमा वृद्धि भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख एसएसपी शिवकुमार श्रेष्ठले बताए । ‘पछिल्ला वर्षहरूमा वीरेन्द्रनगर लागुऔषधको हटस्पट बन्दै गएको देखिन्छ । कानुनले दण्डित गरे पनि यसको सेवनसँगै ओसारपसार र बिक्री वितरणमा वृद्धि भएकोछ,’ उनले भने, ‘१८ देखि २५ वर्ष उमेर समुहका व्यक्तिहरु लागुऔषध सेवन र कारोबारमा संलग्न छन् । चुनौती थपिएको छ ।’ प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा कर्णालीका १० जिल्लाकै नागरिकहरुको बसोबास छ । उनका अनुसार लागुऔषधमा १८ देखि २५ वर्ष उमेर समुहका ४८.५१ प्रतिशत व्यक्तिहरु जो कृषक, मजदुर, विद्यार्थी र अन्डर एसएलसी गरेका व्यक्तिहरु रहेका छन् ।
राती १२ बजेखि बिहान ६ बजेसम्म लागुऔषधको कारोबार हुने गरेको उनले बताए । ‘प्रहरीमा आएको तथ्याङ्क अनुसार राती १२ बजेपछि ५१.६७ प्रतिशत कारोबार भएको छ,’ एसएसपी श्रेष्ठले भने,‘बारमध्ये बुध र बिहि, महिना मध्ये फागुन र चैतमा बढी कारोबार भएको देखिन्छ ।’
प्रहरीको तथ्यांकअनुसार सुर्खेतमा आर्थिक वर्ष ०७९/०८० मा लागुऔषध सम्बन्धी ८८ वटा मुद्दा दर्ता भएका छन् । जसमा ११ महिला, १२७ पुरुष र बालक १० गरी १ सय ४८ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०८०/०८१ मा लागुऔषध सम्बन्धी ७४ वटा मुद्दा दर्ता भएकोमा चार महिला, १०४ पुरुष, एक बालक गरी १०९ जनालाई प्रहरीले प्रक्राउ गरी मुद्दा चलाएको छ ।
चालु आर्थिक वर्ष ०८१/०८२ को चैतसम्म सुर्खेतमा मात्रै ७८ मुद्दामा १२२ जनालाई पक्राउ गरिएको छ । जसमध्ये वीरेन्द्रनगर नगरपालिकाका मात्रै ६१ वटा मुद्दा रहेका छन् । समाजको उदासीनता, संगठित गिरोह र अन्तर्राष्ट्रिय नेटवर्क, कानूनी र प्रशासनिक कमजोरी, खुला सिमाना र सीमित सुरक्षाकर्मी, जनचेतनाको अभाव, पुनस्र्थापना केन्द्रहरूको सीमितता, बेरोजगारी, गरिबी, जिम्मेवार निकाय र सरोकारवाला बीचको समन्वय अभावका कारण लागुऔषध न्युनिकरणमा चुनौती थपिएको एसएसपी श्रेष्ठको भनाई छ । प्रहरीकाअनुसार लागुऔषध भारतको रूपइडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट कर्णाली भित्रिने गरेको छ ।
कानुनले लागुऔषधलाई जघन्य अपराध मानिएपनि विभिन्न कारणहरुले त्यसको न्युनीकरणमा चुनौती थपिएको नवज्योती केन्द्रकी जरमायाँ बाठाले बताइन् । ‘वीरेन्द्रनगरमा लागुऔषधको कारोबार बढ्दो छ । यो विषयमा स्थानीय र प्रदेश सरकारले ध्यान दिन आवश्यक छ,’ उनले भनिन्, ‘समयमा नै परिवार, समाज तथा विद्यालयस्तरमा जनचेतना फैलाउन ढिलाइ गर्नु हुँदैन । लागुऔषधको जालो भित्रभित्रै भुसको आगोझैँ फैलिँदै गएको छ । प्रहरीले मात्रै यसको न्यूनीकरण गर्न सक्दैन ।’ देशलाई लागुऔषधमुक्त बनाउन तीनै तहका सरकारले अपनत्व लिनुपर्ने उनको भनाई छ । कर्णाली प्रदेश योजना आयेगका सदस्य अशोकनाथ योगीले योजनावद्ध रुपमा सामाजिक सचेतना जगाउन सके मात्रै लागुऔषध न्युनीकरण गर्न सकिने बताए ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लागुऔषधमा पक्राउ परेकालाई छुटाउन अभिभावकले सोर्स फोर्स लाउने गरेको बताए । ‘लागुऔषधमा छोराछोरी परे तिनका अभिभावकहरु छुटाउनपर्यो भनेर नेतालाई फोन गर्न लाग्छन् । त्यसले झन् लागुऔषध न्युनीकरणका लागि बाधा पुर्याउँछ,’ मन्त्री भण्डारीले भने, ‘अभिभावकले त झन् छोरा सुध्रेला भन्ने ठान्नुपर्छ । यस्ता काममा प्रहरीलाई कसैले दवाव नदिऊँ । सबैले आ–आफ्नो क्षेत्रबाट सचेतना जगाउन जरुरी छ ।’
प्रहरीले लागुऔषध दुर्वसनी न्यूनीकरण गर्न लालटिन अभियान, लागुऔषध नियन्त्रण घरदैलो कार्यक्रम, पर्चा पम्प्लेट वितरण, पुर्नस्थापना केन्द्रको नियमित अनुगमन तथा सचेतना, सवारी चालकको लापसे चेकिङ, हटस्पट केन्द्रित सचेतनामूलक कार्यक्रम, गाँजा तथा अफिम फँडानी लगायतका कामहरू गर्दै आएपनि प्रत्येक वर्ष लागुऔषध दुव्र्यसनीको ग्राफ बढ्दै आएको छ ।