द्वन्द्वपीडित शान्तिलाई न्याय पाउने आशा मरिसक्यो !

 

बुवा इन्द्रलाल ढकाल र आमा चन्द्रकुमारी ढकालको कोखबाट २०२८ साल फागुन ६ गते वीरेन्द्रनगर नगरपालिका–८ की शान्ति ढकाल राज्य पक्षबाट द्वन्द्वपीडित परिवार हुन् । ढकाल न्याय खोज्दै विभिन्न निकाय तथा आयोगमा धाउन थालेको
२० वर्ष भयो । तर उनको पीडाको आलो घाउमा मलहमपट्टी लगाएको छैन । श्रीमान् बितेको २० वर्ष बितिसक्दा पनि न्याय पाउन त कहाँ हो कहाँ उल्टै पीडा बल्झाउने काम मात्र भएको छ । न्याय पाउनुको साटो पीडा बल्झाउने काम गरिएको भन्दै उनी खरो रुपमा विरोध गर्छिन् । उनै ढकालसँग अंगराज परिवारले गरेको संघर्ष र सफलताको कुराकानी :

श्रीमानको घटना कसरी घट्यो ?
२०५५ साल बैशाख १८ गते राज्यपक्षबाट श्रीमानको हत्या भयो । मैंले उहाँलाई रामघाटबाट फोन गरेको थिएँ । उहाँलाई तपाईलाई बैठकमा जानु पर्दैन, जहाँ हुनुहुन्छ त्यहीं बस्नुहोस भनेर भनेकी थिएँ । तर त्यसको केही समयपछि उहाँलाई गाउँको कामको सिलसिलामा बोलाइयो । बैठकमा जानुभयो । त्यसपछि उहाँ फर्कनुभएन । २९ गते बिहान मात्र हामीलाई उहाँको निधन भएको खबर पाइयो । त्यसअघि के भएको हो भन्नेबारे हामीलाई स्पष्ट जानकारी थिएन ।

श्रीमानको मृत्युपछि परिवार कसरी चलाउनुभयो ?
उहाँको मृत्यु पछि एकदम संकट भयो । त्यसबेला हाम्रो जेठी छोरीको उमेर करिब ६ वर्ष मात्र थियो, कान्छो छोरी चार वर्षकी थिइन् । छोरा करिब २ वर्षको मात्र थियो । बालबालिका साना हुँदा मलाई धेरै पीडा र संघर्षको सामना गर्नुप¥यो । श्रीमान गुमाएपछि सुरुवाती ६ महिना म नोकरीविहीन भएँ । जागिरको कुनै टुंगो लागेन । पछि मात्र प्रावि स्कुलमा पढाउने अवसर पाएँ । त्यसपछि शिक्षकको रूपमा काम गरेर परिवार पाल्न थालेँ । तर आर्थिक कठिनाई र सामाजिक अप्ठ्यारो स्थिति लामो समयसम्म रह्यो । मेरा दुई छोरी र एक छोरा अहिले ठूलो भइसकेका छन् । छोरीहरूमध्ये जेठी अहिले ३२ वर्षकी भइसकेकी छिन् र छोरा २८ वर्षको । उनीहरूले बाल्यकालदेखि नै बाबुको माया पाउन सकेनन् । त्यो पिडा त कहिल्यै बिर्सन सकिन्न ।

सरकारबाट राहत वा सुविधा मिल्यो ?
राज्य वा सरकारबाट राहत वा सुविधा पाउने भन्ने आशा थियो । तर १८ वर्षपछि छोरा १८ वर्ष पुग्दा मात्र एक फारम भरी पाँच हजारको सानो आर्थिक सहयोग पायौँ । त्यसबाहेक आजसम्म कुनै राहत वा सुविधा पाइएन ।

राज्यसँग कुनै अपेक्षा छ ?
जुनसुकै पार्टीका सरकार आएपनि राज्यको उदासीनताले हामी अझै न्यायविहीन अवस्थामा छौं । द्धन्द्धपीडितका पीडा अहिलेसम्म सुनेको छैन । अहिलेसम्म कार्यक्रममा बोलाइन्छ अनि रुवाइन्छ । योभन्दा अन्य प्रगति भएको छैन । हाम्रा पीडा अब क्यान्सर भइसके । हामीहरूले सम्मान खोजेका हौं । अहिलेका जनप्रतिनिधिले पनि आफ्ना पीडा सुन्नेमा शंका लागेको छ । कार्ययोजनाप्रति द्वन्द्वपीडित आशावादी नै भएपनि पूर्ण रूपमा न्यायको अनुभूति भने हुन नसकेको उनको बुझाइ छ । सहिद परिवार घोषणा भएपछि प्राप्त भएको रकम बाहेक अरू कुनै सुनुवाइ हुन सकेको छैन । अहिले पनि द्वन्द्वका बेला यौन हिंसामा परेका दिदी बहिनीहरूलाई राज्यले चिन्दैन । दोस्रो राष्ट्रिय कार्ययोजनामार्फत उनीहरुको आवश्यकता पहिचान होला भन्ने आशामा छौं ।
राजनीतिक मनपर्छ ?
मनपर्छ । जीवनयापनका क्रममा म आफैं पनि राजनीतिक रूपमा सक्रिय भएँ । प्राविको प्रमुख थिएँ । अवकास नहुँदै मैले निर्वाचनमा राजिनामा दिएँ । २०७९ को स्थानीय तहको चुनावमा नेकपा माओवादी र नेपाली काँग्रेसको गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवारी दिएँ । हामी दुबै पराजित भयौं ।

सुरुवाती दिनमा छिमेकीहरुले तपाईंलाई कस्तो व्यवहार गरे?
सुरुमा केही छिमेकीले सान्त्वना र सहयोग गर्न खोजे पनि धेरैले डरले दूरी बनाए । त्यतिबेला राजनीतिक वातावरण निकै त्रासदीपूर्ण थियो ।

अन्य द्वन्द्वपीडित परिवारसँग भेटघाट हुन्छ ?
कार्यक्रम वा उजुरी भएको बेला कहिलेकाहीँ भेट हुन्छ । तर सबैजना आफ्नै पीडामा व्यस्त छन् । पछिल्लो समय पत्रकारहरुले कथा ल्याउनुभयो । जसले गर्दा हामीले उठाएका मागहरु अझ बलियो बनायो ।

सरकारले न्याय दिएको अनुभूति हुन्छ कि हुँदैन ?
हुँदैन । थोरै राहत त हुन्छ । तर मनको घाउ निको हुँदैन । ढिलो–सुस्ती र राजनीतिक हस्तक्षेप नै प्रमुख कमजोरी हो। प्रमाण संकलनमा पनि राज्य उदासीन देखिन्छ । सरकारमा बसेकाहरुले द्वन्द्वपीडित परिवारका लागि केहि त्यस्तो सोचेनन् । त्यहि त होनि द्वन्द्वपीडित परिवारलाई कार्यक्रममा रुवाउन बाहेक अरु केहि छैन विद्यार्थीका लागि छात्रवृत्ति वा रोजगारी तालिमको लागि धेरै ठाउँमा पहल गरें सुनुवाई भएन । अन्याय सहनु हुँदैन । शान्तिपूर्ण तरिकाले अधिकारका लागि आवाज उठाउन सबै सचेत हुनुपर्छ भनेर बढी पहल भएको त्यहि नै हो ।

यो पीडाले तपाईंलाई कस्तो असर पर्यो ?
श्रीमान नहुँदा महिलाको अवस्था सबैभन्दा गाह्रो हुन्छ । यो मैंले प्रत्यक्ष भोगेको पीडा हो । त्यो बेलको पीडाले निरन्तर तनाव अनिद्राले रक्तचापको समस्या ल्यायो । अहिले त ठिकै छ ।

अबको उद्देश्य केहो ?
अब मेरो उद्देश्य भनेको, राज्यले म जस्ता शाहदत परिवारलाई न्याय दिलाओस् भन्ने हो। शिक्षा, स्वास्थ्य, रोजगारजस्ता मौलिक अधिकारमा समान पहुँच होस् भन्ने चाहना छ । हामीलाई मात्र नभई, सबै पीडित परिवारलाई न्याय र सम्मान दिनुपर्छ भन्ने मेरो दृढ विश्वास छ । वर्ष भयो तर उनको पीडाको आलो घाउमा मलहमपट्टी लगाएको छैन । श्रीमान् बितेको २० वर्ष बितिसक्दा पनि न्याय पाउन त कहाँ हो कहाँ उल्टै पीडा बल्झाउने काम मात्र भएको छ । न्याय पाउनुको साटो पीडा बल्झाउने काम गरिएको भन्दै खरो रुपमा विरोध गर्छिन् ।