प्रभावकारी संसदका लागि सचेतना र सहकार्यको आग्रह

सुर्खेत: कर्णाली प्रदेशका सांसदहरूको काम, कर्तव्य र अधिकारबारे सोमबार सुर्खेतमा छलफल गरिएको छ । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) को आयोजनामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरूले आफ्नो अनुभव र सुझावहरू राखेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले सांसदहरूले आफ्नो भूमिकालाई आत्मसात् गर्दै जिम्मेवारीपूर्वक अघि बढे मात्र प्रदेशसभा प्रभावकारी बन्ने बताए । ‘अधिकारसँगै कर्तव्यको पनि समान महत्व हुन्छ,’ उनले भने, ‘सांसदहरूले अनुशासित र जनप्रतिनिधिसुलभ कार्यशैली अपनाउनु आवश्यक छ ।’ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले कानून निर्माण गर्दा कुनै पनि राजनीतिक प्रभावमा नपरी निष्पक्ष ढंगले अगाडि बढ्नुपर्ने सुझाव दिए । उनले प्रभावकारी कानुन निर्माण नै सुशासनको आधार हुने धारणा राखे । नेकपा माओवादी केन्द्रकी सांसद तथा पूर्वमन्त्री उर्मिला विश्वकर्माले सांसदहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर सचेतनामूलक कार्यक्रम आवश्यक रहेको भन्दै प्रशिक्षण र मार्गनिर्देशन बिना संसदमा योगदान सीमित हुने बताइन् ।

त्यस्तै अर्का सांसद तथा पूर्व मन्त्री बेदराज सिंहले कानुनी ज्ञानको अभावले कतिपय कानून आलोचना खेप्नुपर्ने अवस्था आउने गरेको उल्लेख गरे । उनले सांसदहरूले कानूनको मर्म बुझ्न समय दिन जरुरी रहेको भन्दै क्षमता निर्माणमा जोड दिए । पूर्वमन्त्री रणसिंह परियारले सांसदहरूको कार्ययोजना स्पष्ट हुनुपर्ने बताउँदै जनताप्रति जवाफदेही बन्नु नै संसदीय मूल्य र मान्यता रहेको धारणा राखे । उनले संसदलाई प्रभावकारी बनाउन साझा प्रयास र समन्वयको खाँचो रहेको औँल्याए । कार्यक्रममा सहभागी सांसदहरूले प्रदेशसभाको प्रभावकारिता बढाउन दलगतभन्दा माथि उठेर कार्य गर्नुपर्नेमा सहमति व्यक्त गरेका थिए। उनीहरूले संसदलाई जनतामैत्री, उत्तरदायी र सक्षम बनाउने दिशामा सबै पक्षको हातेमालो अपरिहार्य रहेको बताएका थिए । छलफलको सहजिकरण वरिष्ठ अधिवक्त एवं प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुषालले गरेकी थिइन् । कार्यक्रममा प्रदेश सभामा कानुन बन्ने प्रक्रिया सांसदहरुको भूमिका र अधिकारका विषयमा छलफल गरिएको थियो ।