
सुर्खेत: रोजगारीको नाममा नेपाली युवाहरुलाई लोभ देखाई नेटवर्किङ्गको जालमा पारेर ठगी गर्दै आएका गिरोहलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको जानकारी अनुसार, वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा सञ्चालनमा रहेको ‘स्काई ड्रीम इन्टरप्राइजेस प्रा.लि.’ र ‘ग्लोबल ओरिएन्ट नेपाल प्रा.लि.’ नामक कम्पनीहरूले ‘देशबाहिर रोजगारी पठाइदिन्छौं’ भनेर करोडौं रुपैयाँ ठगी गर्दै आएका थिए।
प्रहरीका अनुसार, ती कम्पनीहरूले विशेषगरी बेरोजगार युवा लक्षित योजना भन्दै कोरोना महामारीपछिको रोजगारीका लागि आकर्षक प्रस्ताव राख्थे। उनीहरूले विदेश पठाउने, मासिक आय दिने, सुविधा दिने जस्ता प्रलोभन देखाई सदस्य बनाइन्थ्यो। सदस्यता शुल्कको नाममा रु. २० हजारदेखि १ लाख ६० हजारसम्म असुलिएको खुलेको छ। पीडितहरूलाई ‘नेटवर्किङ मार्केटिङमा काम गर्नुपर्छ’ भन्दै थप सदस्य ल्याउने दबाब दिइन्थ्यो।
शुरुवातमा विश्वास दिलाउन तालिम दिने, औपचारिक कागजात देखाउने, कम्पनीको ब्रान्डिङ गरिने र युवाहरूलाई प्रभावशाली बनाउने योजना देखाएर झनझन ठगीको घेरो फराकिलो बनाइँदै आएको थियो। तर यो सबै योजना फर्जी भएको खुलेको हो।
प्रहरीको छापा मार्दा उक्त कम्पनीका सञ्चालक र कर्मचारीहरू कम्पनी कार्यालयमै सक्रिय अवस्थामा फेला परे। उनीहरूबाट ठूलो मात्रामा नगद, बैंक भौचर, फर्जी कागजात, कम्प्युटर, लेखापालका सामग्रीहरू, ल्यापटप तथा प्रशिक्षणका दस्तावेजहरू बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूमा वीरेन्द्रनगर नगरपालिका–३ निवासी ३२ वर्षीय रेशम थापा प्रमुख अभियुक्तका रूपमा रहेका छन्, जसले स्काई ड्रीम इन्टरप्राइजेस प्रा.लि. सञ्चालन गर्दै आएका थिए। उनीसँगै विभिन्न जिल्लाका युवायुवतीहरू पनि संलग्न रहेका छन्।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा —
रुकुम चौरजहारी नगरपालिका–४ निवासी ३४ वर्षीय योगेन्द्र धामी,
अछामको कमलबजार नगरपालिका–८ निवासी २४ वर्षीय कमल शाही,
अछामकै कमलबजार नगरपालिका–८ निवासी २२ वर्षीय रबिन्द्र शाही,
कैलालीको घोडाघोडी नगरपालिका–२ निवासी २२ वर्षीया मञ्जिमा सिंह,
कैलालीको बर्दगोरीया गाउँपालिका–३ निवासी ३२ वर्षीया निर्मला धामी,
बैतडी सिगास गाउँपालिका–८ निवासी २२ वर्षीया सुनिता साउद, र
डोटीको बडिकेदार गाउँपालिका–६ निवासी २२ वर्षीया कमला विमाला रहेका छन्।
उनीहरू सबैले कम्पनीका नाममा युवाहरूलाई बोलाउने, विश्वास जित्ने, पैसा उठाउने, फर्म भर्ने, तालिम दिने र नेटवर्किङको नाममा अन्यलाई ल्याउन दबाब दिने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडितलाई प्रहरीको अनुरोध
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले यो नेटवर्किङ्ग गिरोहको जालमा परेका अन्य पीडितहरूलाई पनि प्रमाणसहित प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरेका छन्।

जितबहादुर तिरुवा । ७ श्रावण २०८२, मंगलवार १८:५०