सुर्खेत: बागेश्वरी असल शासन क्लब (बास) नेपाल, सुर्खेत शाखाको सातौं जिल्ला अधिवेशनले सुशील सुनारको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै संस्थागत सुदृढीकरण र युवालाई सुशासनमा अभिमुखीकरण गराउने प्रतिवद्धता जनाएको छ।
कार्यसमितिको उपाध्यक्षमा सिर्जना शाही, सचिवमा सन्जु विश्वकर्मा, सहसचिवमा विजय बिक, कोषाध्यक्षमा सरिता अधिकारी चयन भएका छन्। यस्तै, सदस्यहरूमा सम्झना सुनार, तुल्सी गिरी, सबित्रा बिक, सुमन शाही, कमल शाही र दीक्षा मल्ल चयन भएका छन्।
कार्यक्रममा संस्थापक अध्यक्ष त्रिभुवन बिसीले बासले लोकतान्त्रिक मूल्य र सामाजिक उत्तरदायित्वमा आधारित क्रियाशील युवा नेतृत्व उत्पादन गर्दै आएको बताए। उनले भने, `स्थानीय तहमा जवाफदेही नेतृत्व निर्माणमा बासको योगदान अब उदाहरणीय बन्ने दिशामा अघि बढेको छ।´
केन्द्रीय कोषाध्यक्ष धिरेन्द्र शाहीले संगठन विस्तारसँगै सुशासन, पारदर्शिता, जवाफदेहिता र सामाजिक विकासका विषयमा युवालाई सक्षम बनाउनु आवश्यक रहेको बताए। `हामी सशक्त युवाशक्ति निर्माण गरेर नीति निर्माणमा तल्लो तहदेखि आवाज उठाउँदैछौं,´ उनले भने।
केन्द्रीय सदस्य ललिता विकले संस्थाले महिला सहभागिता र समावेशी नेतृत्वमा विशेष जोड दिँदै आएको बताइन्। `महिलालाई नेतृत्वमा ल्याउने बासको अभ्यास अहिलेको सामाजिक संरचनामा जरुरी छ,´ उनले भनिन्। कार्यक्रममा केन्द्रीय सदस्य भगवती विसी, अमर शाह, पूर्व जिल्ला अध्यक्ष जगतदल जनाला विक लगायतले बासको प्रारम्भिक यात्राबाटै युवा, पारदर्शिता र सचेत नेतृत्वको अभ्यास भएको उल्लेख गर्दै संस्थाले मुलुकको सुशासन अभियानमा थुप्रै योगदान दिएको बताएका थिए। नयाँ कार्यसमितिले सुशासन, उत्तरदायित्व र नागरिक सहभागितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा स्थानीय तहको निगरानी, नेतृत्व विकास तालिम, नीति संवाद जस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

खुलानजर । ११ श्रावण २०८२, शनिबार १५:३९