लोकतन्त्र सफल भए मात्रै मानव अधिकारको रक्षा हुन्छ : प्रमुख भण्डारी

सुर्खेत : लोकतन्त्र सफल भएपछि मानव अधिकारको रक्षा हुने पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालबिर भण्डारीले बताएका छन् ।
बुधबार मानव अधिकार समूहका सदस्य तथा स्थानीय सरकारवालाहरुका लागि भएको क्षमता अभिवृद्धि कार्यशाला कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख भण्डारीले लोकतन्त्रको रक्षा गरेपछि मानव अधिकारको रक्षा हुने भएकोले यसको रक्षाका लागिसबैको भूमिका महत्वपुर्ण रहेको बताए ।
उनले आफु स्थानीय तहको प्रमुखको हैसियतले मानव अधिकारको रक्षा हुने काममा लाग्ने प्रतिवद्धता समेत जनाए ।
नगरपालिकाले गर्ने हरेक विकासका काममा मानव अधिकारको रक्षा गर्दै योजना निर्माण गर्ने उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा बोल्दै बराहताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगरले मानव अधिकार मानव जन्मदेखि मृत्युसम्मको अधिकार भएकोले त्यसको रक्षा गर्नु सबैको कर्तव्य रहेको बताइन् ।
उनले सरकारले ल्याउने हरेक योजनामा मानव अधिकारको ख्याल गर्नुपर्ने सुझाव दिइन् ।
ईन्सेक कर्णाली प्रदेश सुर्खेतको आयोजनामा भएको मानव अधिकार समूहका सदस्य तथा स्थानीय सरकारवालाहरुका लागि भएको क्षमता अभिवृद्धि कार्यशाला बुधबारदेखि पञ्चपुरी नगरपालिकामा सुरु भएको छ । कार्यक्रममा बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका मानव अधिकार समूहका सदस्य र अन्य सरोकारवाला गरि ३० जनाको सहभागीता रहेको छ । दुई दिनसम्म संचालन हुने कार्याशालामा इन्सेक अभियान र मानव अधिकारको अवधारणा, मौलिक हक र न्यायिक समितिको काम कर्तव्य अधिकार, वातावरण संरक्षण र वातावरण संरक्षणमा मानव अधिकार समुहका सदस्यको भुमिका, जातिय तथा लैंगिक विभेद र कानुनी प्रावधान, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको अधिकार, मानव अधिकार समूहको क्रियाकलाप, नेतृत्व विकास र मानव अधिकार समूहको भूमिका लगायतका बिषयमा छलफल गरिने छ । छलबालबाटै समस्या पहिचानगरी कार्ययोजना समेत निर्माण गरिने इन्सेकले जनाएको छ ।
कार्यशालामा ईन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी, अधिवक्ता खेमराज तिवारी, जनज्योति मावि बराहतालका प्रधानाध्यापक नारायण सिग्देल र ईन्सेकका फोकल पर्सन दुर्गा थापाले कार्यक्रमको सहजिकरण गर्नेछन् ।