चाैकुनेले खाद्य डिपाे र आँखा सेवा विस्तार गर्न सम्झाैता गर्याे

सुर्खेत: चाैकुने गाउँपालिकाले स्थानीय तहमै खाद्य आपूर्ति तथा आँखा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले दुई निकायसँग सम्झाैता गरेको छ । बुधबार गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय र रेडक्रसअन्तर्गत सुर्खेत आँखा अस्पतालसँग अलग–अलग सेवा प्रदान गर्ने सहमति गरेको हो । गाउँपालिकाका अध्यक्ष खड्क विकका अनुसार सम्झौता बमोजिम पालिकाले सेवा सुचारु गर्न आवश्यक समन्वय र भौतिक पूर्वाधारको व्यवस्थापन गर्नेछ भने सम्झौतापत्रमा संलग्न कार्यालयहरूले सेवा सञ्चालनका लागि ढुवानी, उपकरण तथा जनशक्ति व्यवस्थापनको जिम्मेवारी लिनेछन्। `गाउँमै सेवा विस्तार गर्दै स्थानीयलाई राहत दिने उद्देश्यले हामीले यी दुई कार्यालयसँग औपचारिक सम्झौता गरेका हौँ,´ अध्यक्ष विकले भने, `अब चाैकुनेका जनताले आँखा उपचारका लागि बाहिर धाउनुपर्ने छैन र नियमित खाद्य आपूर्ति प्रणाली विकास हुनेछ।´ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशका प्रमुख केशवराज बुढाले चाैकुनेमा डिपाे स्थापना गर्ने प्रतिवद्धता जनाउँदै स्थायी रूपमा सेवा सञ्चालनमा ल्याइने जानकारी दिए।

त्यसैगरी, आँखा अस्पतालका प्रमुख घनबहादुर थापाले पालिकाको समन्वयमा गाउँमै आँखा सेवा पुर्‍याउने गरी नियमित शिविर, परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गरिने बताए। यस सम्झौतापछि चाैकुनेवासीले आफ्नै गाउँमा खाद्य आपूर्ति र आधारभूत आँखा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। पालिकाले आगामी दिनमा थप सेवा विस्तारका लागि अन्य निकायसँग पनि सहकार्य अघि बढाउने जनाएको छ।