जैविक विषादीले फस्टाएको तरकारी खेती

सुर्खेत: सुर्खेत परम्परागत रुपमा खेती गर्दै आएका सुर्खेतको वीरेन्द्रनगर–९ पर्सेनीका कृषकहरूले पछिल्लो समय आधुनिक तरकारी खेतीमा लागेका छन्। तरकारी खेतीमा घरमै बनेको जैविक विषादी [झोल मल] को प्रयोग गर्न थालेपछि उत्पादन पनि बढ्न थालेको छ। पर्सेनीकी विनु शाहीले तरकारी खेती गर्न थालेको १० वर्ष भयो। घर नजिकको चार कट्ठा जमिनमा उनको तरकारी खेती छ।
आजभन्दा पाँच वर्ष अगाडि उनी मुस्किलले वर्षमा ५ क्विन्टल तरकारी बेच्थिन्। तर पछिल्लो पाँच वर्षयता भने उनको तरकारी उत्पादन तेब्बरले बढेको छ। विनुले अहिले वर्षेनी २० क्विन्टल तरकारी बजारमा पठाउँछिन्। एक सिजनमा उनले ३ लाख रूपैयाँ तरकारीबाटै कारोबार गर्छिन्।
‘तरकारी खेती गर्न थालेको धेरै भयो। उत्पादन बढेको भने पाँच वर्ष यता मात्र हो,’ उनले भनिन्, ‘बजारमा पाइने विषादी प्रयोग गर्दा सोचेजस्तो उत्पादन गर्न सकिएन, बिनाखर्च घरमै विषादी बनाएर प्रयोग गरेपछि तरकारी पनि धेरै फल्न थाल्यो।’
सोही गाउँका मानबहादुर शाहीले परम्परागत खेती छोडेर तरकारी खेती थालेका छन्। सात वर्षअघि सुरु गरेको तरकारी खेतीमा लाग्ने रोगरकिराको समस्या सुरु सुरुमा उनले पनि भोगे।

पाँच वर्ष यता मानबहादुरले पनि घरमै तयार पारिएको जैविक विषादी ९झोल मल० प्रयोग गर्दै आएका छन्। पाँच कट्ठा जमिनमा तरकारी खेती गरेका उनले वार्षिक ३ लाख रूपैयाँ आम्दानी गर्छन्। उनले पछिल्लो सिजनमा करेला मात्र सात क्विन्टल बजारमा पठाएका छन्।
‘परम्परागत खेतीले परिवारलाई खान पुगेको थियो, तरकारी खेती गरेपछि आम्दानी पनि सुरु भयो,’ मानबहादुरले भने, ‘तरकारी खेती गर्दा पनि सुरुमा बजारमा पाइने विषादीले खासै फाइदा गरेन, घरमै झोल मल बनाएर प्रयोग गरेपछि उत्पादन राम्रो भयो।’

पर्सेनीका २२ घरपरिवारले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन्। उनीहरू लगनशील कृषक समूहमा आबद्ध छन्। सामूहिक रुपमा व्यावसायिक खेती गर्दै आएका कृषकहरूलाई विभिन्न कृषिसम्बन्धी काम गर्ने संघसंस्थाहरूले खेती प्रविधिबारे सीप सिकाएका छन्। यो समूहमा आबद्ध कृषकहरूले सिजन अनुसार काउली, बन्दा, बोडी, करेला, टमाटर लगायत खेती गर्छन्। वर्षेनी चार सिजन तरकारी उत्पादन गर्दै आएको मानबहादुरले बताए।
ग्रेप परियोजनाका कृषि प्राविधिक रामदेव शाहका अनुसार सुरुमा तरकारी खेती गरिरहेको पर्सेनीका कृषकहरूले जैविक विषादीको प्रयोगलाई विश्वास गरेका थिएनन्। समस्या भोगिरहेका कृषकको बारीमै यसको प्रत्यक्ष रुपमा प्रयोग गरेर आएको परिवर्तन देखेपछि भने उनीहरू आफैंले झोल मल बनाएर प्रयोग गर्न थालेको शाहले बताए।
सुरुमा परम्परागत खेती प्रणालीमा निर्भर पर्सेनीका किसानले एकै बारीमा थुप्रै प्रजातिका बाली र तरकारी रोप्ने गरेका थिए। यसले विभिन्न प्रकारका रोग लाग्नुका साथै अपेक्षित उत्पादन पनि हात नपार्ने अवस्था रहेकोमा प्रविधिमा जलवायु अनुकूलित मात्र गर्दा पनि उत्पादनमा ठूलो परिवर्तन आएको कृषि प्राविधिक शाहले बताए।
मौसमको अनिश्चिततासँगै खेतिबालीको जीवनचक्रलाई परिवर्तन गरि समय अनुकूल उत्पादन गरिने प्रणालीलाई जलवायु अनुकूलित कृषि भनिन्छ।
‘अनुकूलित खेती पद्धतिमा हामीले जैविक मलको प्रयोग गर्यौं, शत्रु जीव व्यवस्थापनको प्रविधि मात्र अपनाएनौं,’ उनले भने, ‘पानी, मल र बेर्नामा लाग्ने रोगको औषधी उपचारमा समेत जैविक विधि अपनाएपछि उत्पादनमा ठूलो परिवर्तन आएको छ। पर्सेनी गाउँका किसानका बारीमा तरकारी बाली मात्र होइन अन्य उत्पादनमा समेत अनुकूलित कृषि पद्धतिले पार्ने प्रभावको व्यवहारिक अध्ययन गरिरहेका छौं।’
उनका अनुसार घरमै विभिन्न प्रजातिका बोटबिरुवाको प्रयोगबाट बनाइने झोल मल हरेक सिजनको बालीलाई अनुकूल हुन्छ। जैविक विषादी ९झोल मल० अमिलो, तीतो, टर्रो स्वाद भएका बोटबिरुवाहरू जस्तै बकाइनो, नीम, तीतेपाती, असुरो, बोझो, सुर्ती, केतुके, बनमारा, लहरे तरकारीका पातहरू, गाईभैंसीको पिसाब, गोबर प्रयोग गरेर घरमै तयार पार्न सकिन्छ।

२७ बोटबाट २० क्विन्टल करेला

परम्परागत कृषि पद्धतिले घर आँगनको खाली जग्गामा मुस्किलले विभिन्न जातको तरकारी वार्षिक ५ क्विन्टल मात्र उत्पादन गरेका अर्का स्थानीय किसान मानबहादुर शाहीले पछिल्लो पटक जलवायुमैत्री कृषि प्रविधिको प्रयोग गरेपछि २७ बोटबाट २० क्विन्टल करेला उत्पादन गर्न सफल भएको बताए।  ‘केही वर्ष अघिसम्म परम्परागतको समयदेखि गर्दै आएको कृषि पद्धतिबाटै तरकारी रोप्ने, तरकारीको बेर्नालाई बारी र घरको पर्खालमा सार्ने गर्थ्यौ। त्यसले एक सिजनमा बढीमा ५ क्विन्टल फल्थ्यो’ शाहीले भने, ‘प्लाष्टिकको टनेल राखेर तरकारी खेती प्रविधिको प्रयोगले २७ बोट करेलाले मात्रै २० क्विन्टल उत्पादन दियो।’
अनुकूलित कृषि प्रविधिले रैथाने बाली उत्पादन अपत्यारिलो तरिकाले बढ्ने गरेको अनुभूति अर्की कृषक तुलसी शाहीले बताइन्।
ग्रेप परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आफ्नो घर वरिपरी प्लाष्टिकका टनेल निर्माण गरेर विभिन्न तरकारी खेती गरिरहेका पर्सेनीका किसानको घरमा अनुकूलित कृषि पद्धतिबाट व्यावसायिक तरकारी खेतीमा हुने उत्पादनको व्यवहारिक अध्ययन समेत भइरहेको छ। उकेरा