
कमरेड पुष्पलालले वि.सं. २००६ वैशाख १० गते भारतको कलकत्ता, श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। त्यसको मुख्य उद्देश्य थियो– नेपाली समाजमा व्याप्त सामन्ती र साम्राज्यवादी शोषण अन्त्य गर्दै जनवादी क्रान्तिको चरण पार गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने यात्रा अघि बढाउने। वर्गीय, जातीय, लैंगिक, सांस्कृतिक र भौगोलिक विभेद अन्त्य गरी समानता र स्वतन्त्रतासहित आम जनताको सुखी र समृद्ध समाज निर्माण गर्ने लक्ष्य राखिएको थियो।
आन्दोलन र बलिदानको इतिहास
स्थापना देखिनै कम्युनिष्ट पार्टीले विभिन्न आन्दोलन र संघर्षमार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। २००७ सालको राणा विरोधी जनक्रान्ति, २०४६ को संयुक्त जनआन्दोलन, २०५२ सालमा सुरु भएको जनयुद्ध र २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनमार्फत संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र स्थापना भएको इतिहास छ।
तर सात दशक लामो यात्रामा पार्टीभित्र मतभेद, विभाजन र विद्रोहका घटनाहरू पनि दोहोरिँदै आए। पुष्पलालले रायमाझी प्रवृत्तिको दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्नुभयो। झापा विद्रोह (२०२८), कोअर्डिनेशन सेन्टर (२०३२), नेकपा (माले) (२०३५), नेकपा (एमाले) (२०४७) हुँदै एकता–विभाजन निरन्तर भइरह्यो। २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भएर नेकपा बने पनि पद, अहंकार र स्वार्थका कारण एकता टिकेन। २०७७ फागुन २३ गते सर्वोच्च अदालतको निर्णयले नेकपा खारेज गरियो।
वर्तमान आवश्यकता
आज पनि नेपाली समाजमा आमूल परिवर्तन गर्न र समाजवाद निर्माण गर्न बलियो कम्युनिष्ट शक्ति आवश्यक छ। तर विभाजित अवस्थामा त्यो सम्भव छैन। त्यसैले वाम एकता अहिलेको आवश्यकता हो। पार्टी एकताको लागि नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक संरचना, कार्यक्रम र कार्यदिशामा सहमति हुनु अपरिहार्य छ। केन्द्रदेखि गाउँसम्म उठेका मुद्दा— नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, समावेशीता, संविधान संशोधन, शासकीय स्वरूप, सुशासन, रोजगारी, सेवाप्रवाह, जातीय विभेद, महिला हिंसा, हत्या— यी सबै विषयमा गम्भीर छलफल गरी निर्णयमा पुग्नुपर्छ।
कर्णालीमा वाम एकता
कर्णाली प्रदेशमा वाम एकताको आवश्यकता अझ बढी देखिन्छ। यहाँका पार्टी नेताहरूले ढिला नगरी एकता गर्नुपर्ने सुझाव दिएका छन्। वाम शक्तिहरू एक भएमा जनताको पक्षमा काम गर्ने सक्षम र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण हुनेछ। त्यस्तो एकताले समाजवादी कार्यक्रम कार्यान्वयन गर्दै नेपालको समाजवादी यात्रामा अघि बढ्न सहज हुने विश्वास गर्न सकिन्छ।
अन्त्यमा समाजवादको सपना पूरा गर्न, सामाजिक न्याय र लोकतन्त्रलाई सुदृढ बनाउन, व्यक्तिगत स्वार्थमाथि उठेर इमान्दारीपूर्वक वाम एकता गर्नु आजको आवश्यकता हो। कम्युनिष्ट आन्दोलनले दिएको बलिदान र जनताको विश्वासलाई सम्मान गर्ने हो भने वाम एकता अपरिहार्य छ। श्रमजीवी र वञ्चित वर्गको जीवनस्तर उकास्न यही एक मात्र बाटो हो।
(लेखक बसन्तकुमार विश्वकर्मा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य हुन्)

खुलानजर । १७ भाद्र २०८२, मंगलवार १८:०९