
सुर्खेत: स्वास्थ्य सेवा क्षेत्रमा खटाइएका महिला स्वास्थ्यकर्मी आफ्नै सहकर्मी र हाकिमकै असुरक्षा तथा विभेदका शिकार हुने क्रम बढ्दो देखिएको छ । यही भदौ १० गते राति हुम्ला र २०८० पुसमा मुगुमा भएका फरक घटनाले महिला स्वास्थ्यकर्मीको कार्यक्षेत्रमै सुरक्षित वातावरण सुनिश्चित हुन नसकेको तथ्य उजागर भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित मैला स्वास्थ्य चौकीमा कार्यरत ३० वर्षीया एक महिला स्वास्थ्यकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा चौकी इन्चार्ज ३५ वर्षीय लिलाराज शर्मा, कार्यालय सहयोगी ३२ वर्षीय रामबहादुर बोहरा र एम्बुलेन्स चालक ३० वर्षीय मंगल शाही पक्राउ परेका छन् । भदौ १० गते राति मदिरा सेवन गरेर पीडितको कोठामा पुगेका तीन जनाले सामूहिक बलात्कार प्रयास गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय हुम्लामा बुधबार उजुरी दिएकी थिइन् । प्रहरी टोली घटनास्थलमै पुगेको र तीनै जनालाई भदौ ११ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णु श्रेष्ठले जानकारी दिए । ‘मदिरा सेवन गरेर आफ्नै कार्यालयमा काम गर्ने महिला स्वास्थ्यकर्मीको कोठामा गई सामुहिक बलात्कारको प्रयास गरेको उजुरीका आधारमा हाकिमसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ निरिक्षक श्रेष्ठले भने, ‘घटनाको सत्य तथ्य विस्तृत अनुसन्धानपछि खुल्नेछ ।’ पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १२ गते जिल्ला अस्पताल हुम्लामा गरिएको छ ।
यस्तै, ०८० पुस महिनामा मुगु जिल्लाको सोरु गाउँपालिकामा कार्यरत २३ वर्षीया अनमी तुलसा कुमारी विश्वकर्मा पनि निरन्तर यौन दुव्र्यवहार, धम्की र जातीय विभेदको शिकार बनेकी थिइन् ।
प्रदेश लोकसेवा मार्फत नियुक्त भई २०७९ माघ ९ गते सोरु गाउँपालिका–९ को खनाया स्वास्थ्य चौकीमा खटिएकी उनलाई स्थानीय युवाहरूले राति अनावश्यक फोन गर्ने, औषधीको निहुँमा कोठासम्म पुग्ने तथा रक्सीको नशामा हिंसा गर्ने गरेका थिए । त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले समेत राति फोन गरी भेट्न आग्रह गर्ने गरेको उनले आरोप लगाएकी थिइन् । लगातारको हिंसा, धम्की र जातीय विभेद सहन नसकेपछि उनले पालिका र प्रदेश सरकारसँग सरुवाका लागि पटक–पटक अनुरोध गरेकी थिइन् ।सोरु गाउँपालिका र तिलागुफा नगरपालिका दुबैबाट सरुवा सम्बन्धी सहमति पत्र भए पनि प्रदेश सरकारले उनको सरुवा प्रक्रिया अघि नबढाएपछि उक्त विषय बाहिर आएको थियो ।
घटना सार्वजनिक भएपछि सोरु गाउँपालिकाका उपाध्यक्षसहितको टोलीले उनलाई सदरमुकाम गमगढी ल्यायो । पछि उनले आफुमाथि जातिय विभेद र यौन हिंसा गर्नेहरु विरुद्ध प्रहरीमा उजुरी दिइन् । प्रहरीले जातिय विभेदका आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान गर्यो । अदालतले उनीहरुलाई धरौटीमा छाड्ने आदेश दियो । यी दुई घटनाले दुर्गम क्षेत्रमा कार्यरत महिला स्वास्थ्यकर्मीहरू आफ्नै सहकर्मी, हाकिम र समाजकै विभेदकारी व्यवहारका कारण असुरक्षित रहेको तथ्य फेरि एकपटक उजागर भएको छ । कर्णाली प्रदेशका दुर्गम जिल्लामा खटाइएका महिला स्वास्थ्यकर्मीहरू पेशागत सुरक्षादेखि लिएर कार्यक्षेत्रीय सुविधा अभावसम्मका समस्याबाट पीडित बनेका छन् ।
६ दिनमा दुई स्वास्थ्य चाैकी ताेडफाेड
तातोपानी गाउँपालिका–४ हाँकु गाउँस्थित वडा कार्यालय र स्वास्थ्य चौकीमा अज्ञात समूहले ०८२ भदौ ६ गते राति हाँकु स्वास्थ्य चौकी तोडफोड गरेर चोरी गरे । स्वास्थ्य चौकीमा रहेका सामानहरु तोडफोड गर्नुका साथै ल्याप्टप, राष्ट्रिय झण्डा, टिर्सट, भण्डारण गरिएका नुन, नुन बिक्री गरेर राखिएका ११ हजार ३ सय रुपियाँ समेत चोरी भएको ४ नम्बर वडाका वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । त्यस्तै जुम्लाकाे सिंजा गाउँपालिका–१ स्थित धाँपा स्वास्थ्य चौकीमा ०८२ भदौ ११ गते अज्ञात समूहले तोडफोड गरेको स्वास्थ्य चौकी प्रमुख मिन प्रसाद तिवारीले जानकारी दिए ।
तोडफोडपछि एक ओटा ल्यापटप, दुई ओटा डेस्कटप कम्प्युटर, पाँच ओटा बल्ब र अस्थायी स्वास्थ्य उपकरण समेत चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले घटनाका विषयमा नराकोट प्रहरी चौकीलाई अनुसन्धान गर्न निर्देशन गरिएको बताए। ‘आजभोलि यस्ता सार्वजनिक संरचना तोडफोड र चोरीका घटना बढेको देखिन्छ । ५-६ दिनमा नै दुई स्वास्थ्य चाैकी ताेडफाेड भएका छन् । याे विषयमा प्रहरीले अनुन्धान गरिरहेको छ,’ उनले भने ।

जगतदल जनाला विक । १७ भाद्र २०८२, मंगलवार १४:१८