भूकम्पपीडित बालबालिकालाई कालाकार पेलाको २० हजार सहयोग

सुर्खेत: राष्ट्रिय कालाकार तिलक सिंह पेलाले जाजरकोट र रुकुमपश्चिमका बालबालिकालाई २० हजार रुपैयाँ सहयोग गरेका छन् । शुक्रबार भुकम्प प्रभावित दुई जिल्लाका बालबालिकाका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रवद्र्धनको सहयोगार्थ ज्योति फाउण्डेसनले आयोजना गरेको सांगीतिक साँझबाट पाउने पारिश्रमिकबाट पेलाले सहयोग गरेका हुन् । सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने उद्देश्यले स्थापना गरिएको उक्त फाण्डेसनले शुक्रबार साँझबाट वीरेन्द्रनगरको सभाहलमा सांगितक साँझको आयोजना गरेको थियो । उक्त सांगीतक साँझमा करिब १५ सय जना दर्शकको सहभागिता रहेको फाउण्डेसनकी अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन् । सांगीतिक साँझमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु तिलक सिंह पेला, राज सिग्देल, शिशिर योगीका साथै बागीना समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रस्तुति रहेको थियो । शनिबार कलाकारहरुलाई फाउण्डेसनले बिदाई गर्दै प्रशंसा पत्र र सम्मान समेत गरेको छ ।
फाउन्डेसनको आयोजना, गैरआवासीय नेपाली संघ (एनआरएनए) को मुख्य प्रायोजन र नेपाल टेलिकमको सहप्रायोजन तथा प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा सांगीतिक साँझको सम्पन्न गरिएको हाे ।

कार्यक्रमको प्रमुख अतिथि खलंगामा हमला पुस्तकबाट मदन पुरस्कार जित्न सफल लेखक एवम् सामाजिक अभियन्ता राधा पौडेल रहेकी थिइन् । अध्यक्ष कटुवालका अनुसार संकलन भएको आर्थिक सहयोग बैंकमा दाखिला गरि केही दिनमा सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक गरिनेछ ।
लैंगिक हिंसा, यौन दुव्र्यवहार, घरेलु हिंसा, मानव बेचबिखन, छाउपडी र बालविवाह जस्ता समस्याबाट ग्रसित कर्णालीका महिला तथा बालिकाहरुको पक्षमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने उद्देश्यले स्थापना भएको फाउन्डेसनले विभिन्न कार्यक्रमहरु गर्ने अध्यक्ष कटुवालले बताइन ।