बुवा पदम बहादुर थापा र आमा बाटु थापाको कोखबाट २०२८ चैत्र २९ गते दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर २, रावतकोटमा जन्मिएका हिरासिंह थापाको बाल्यकाल भैसी गोठालो भएर बितेको हो। २०४२ सालमा दुध दिने दुईवटा भैसी मरेपछि बुवाले उनलाई घर फर्काए। त्यसपछि मात्र अध्ययन गर्ने अवसर प्राप्त भयो। उनले १५ वर्षको उमेरमा कक्षा १ मा अध्ययन सुरु गरेका थिए।
२०५१ सालमा काठमाडौंमा बसेका युवाहरू मिलेर सामाजिक संस्था बनाउने प्रयास सुरु भयो। त्यसैको निरन्तरतामा २०५४ साल भदौ ११ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा ११ जना युवाहरू मिलेर ‘सोसेक नेपाल’ (सामाजिक सेवा केन्द्र) स्थापना गरियो, जसको अध्यक्ष स्वयं हीरासिंह थापा बने।
स्थापनादेखि आजसम्मको झन्डै २८ वर्षको यात्रामा उनले १३ वर्ष अध्यक्षका रूपमा नेतृत्व प्रदान गरे भने पछिल्ला ३ वर्षदेखि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनै थापासँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी :
तपाईंको बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
मेरो बाल्यकाल अत्यन्तै कठिन परिस्थितिमा बितेको हो। म सानै छँदा बुवाले भैसी आठ महिना कैलालीको सति बजारमा लिनुहुन्थ्यो र म पनि उहाँसँगै भैसी गोठालो भएर जान्थेँ। गोठालो जीवनले मलाई श्रम, संघर्ष र धैर्य सिकायो।
२०४२ सालमा दुध दिने दुईवटा भैसी मरेपछि बुवाले मलाई घर फर्काउनुभयो। त्यसपछि मात्र मैले पढाइ गर्ने अवसर पाएँ। म १५ वर्षको उमेरमा कक्षा १ मा अध्ययन सुरु गरेको हुँ, जुन उमेरका धेरै साथीहरू त्यसबेला माथिल्लो कक्षामा पुगिसकेका थिए।
विद्यार्थी जीवनमा म जुनियर रेडक्रस सर्कलमा बसेर सामाजिक सेवा गर्थेँ। बाल्यकाल धेरै दुखकष्टका साथ बितेको हो। आमाले जंगलमा घाँस काट्न गएको बेला मेरो जन्म भएको र घाँस भारीसँगै मलाई बोकेर घर ल्याउनुभएको कुरा आज पनि स्मरणीय छ। त्यसपछिका दिनमा भिरबाट लोटिने, पहिरोमा पर्ने, घाँस काट्दै गर्दा रुख ढल्ने जस्ता जोखिमपूर्ण घटनाहरू जीवनमा घटिरहे। यी सबै अनुभवहरूले मलाई जीवनप्रति अझै दृढ बनाएका छन्।
पढाइको यात्रा कस्तो रह्यो ?
मेरो पढाइको यात्रा पनि संघर्षपूर्ण नै रह्यो। मैले कक्षा १ देखि ३ सम्म एकै वर्षमा अध्ययन गरेँ। ढिलो सुरु भए पनि पढाइप्रति लगनशील भएँ। त्यसपछि निरन्तर मेहनत गर्दै इन्जिनियरिङसम्मको अध्ययन पूरा गरेको छु। पढाइसँगै समाजका समस्या बुझ्ने र समाधान खोज्ने सोच विकास हुँदै गयो।
तपाईंलाई सबैभन्दा धेरै प्रेरणा दिने व्यक्ति को हुनुहुन्थ्यो ?
मलाई जीवनमा सबैभन्दा धेरै प्रेरणा दिने व्यक्ति मेरो आमा हुनुहुन्थ्यो। कठिन परिस्थितिमा पनि उहाँको संघर्ष र धैर्यले मलाई अघि बढ्न हौसला दियो।
त्यसपछि विद्यालय जीवनमा विजया उच्च मावि दुल्लूमा पढ्दा तत्कालीन प्रधानाध्यापक खड्ग बहादुर सिजापतिबाट पनि ठूलो प्रेरणा पाएँ। उहाँले शिक्षा र सामाजिक जिम्मेवारीको महत्व बुझाउनुभयो।
जीवन वा करिअरको कुनै कठिन समय छ ?
जीवनमा धेरै उतार–चढाव आए। विशेष गरी द्वन्द्वकाल निकै कठिन रह्यो। माओवादी अपहरणदेखि राज्यको हिरासतसम्मका पीडादायी अनुभवहरू भोग्नुपर्यो। तर यस्ता कठिन समयमै पनि मैले सामाजिक सेवा गर्न छोडिन। सरकारी सेवामा इन्जिनियरदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दा पनि आफ्नो पेशागत कर्तव्यसँगै सामाजिक कामलाई निरन्तरता दिएँ।
कोभिड–१९ जस्तो संकटको समयमा सबै घरमा बस्दा पनि पीडित र समस्यामा परेका मानिसहरूलाई सहयोग गर्ने कार्य जारी राखेँ।
सोसेक नेपालसँग तपाईंको यात्रा कहिले र कसरी सुरु भयो ?
२०५१ सालमा काठमाडौंमा बसेका युवाहरू मिलेर सामाजिक संस्था बनाउने सोच विकास भयो। समाजमा बढ्दै गएको अन्याय, विभेद र हिंसाविरुद्ध केही गर्नुपर्छ भन्ने भावना त्यसको मूल आधार थियो।
त्यसैको निरन्तरतामा २०५४ साल भाद्र ११ गते, जिल्ला प्रशासन कार्यालय दैलेखमा ११ जना युवाहरू मिलेर ‘सोसेक नेपाल’ स्थापना गरियो। उक्त संस्थाको अध्यक्ष म आफैँ बनेँ।
स्थापनादेखि आजसम्मको झन्डै २८ वर्षको यात्रामा मैले १३ वर्ष अध्यक्ष भएर नेतृत्व प्रदान गरेँ र पछिल्ला ३ वर्षदेखि कार्यकारी निर्देशकका रूपमा संस्थालाई अगाडि बढाइरहेको छु।
संस्थामा सम्हाल्दा सुरुआती चुनौतीहरू के–के थिए ?
महिला, दलित, बालबालिका र पछाडि पारिएका समुदायको वकालत गर्दा सुरुआती चरणमा निकै चुनौती सामना गर्नुपर्यो। कतिपय साविकका गाविसले संस्थालाई काम गर्न नदिने निर्णयसम्म गरेका थिए। तर निरन्तर संघर्ष, संवाद र समुदायसँगको विश्वासका कारण हामी आज आवाज विहिनको आवाज बनेर काम गर्न सफल भएका छौँ।
तपाईंको सबैभन्दा ठूलो उपलब्धि के हो ?
महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने अभियन्ताको रूपमा चिनिनु नै मेरो ठूलो उपलब्धि हो। अन्तर्राष्ट्रिय स्तरमा ल्एक्ष्ऋ ब्धबचम द्दण्ज्ञड प्राप्त गर्नु गर्वको विषय हो।
हाल संस्था कर्णालीका ७ जिल्ला, सुदूरपश्चिमको अछाम जिल्ला र लुम्बिनी प्रदेशका २ जिल्लामा सक्रिय रूपमा काम गरिरहेको छ।सोसेक नेपालमा काम गर्दा कुन कार्यक्रमले तपाईंलाई सबैभन्दा गर्व गराउँछ ?
हिंसा पीडित महिला र जोखिममा रहेका बालबालिकाका लागि गरिएको कामले मलाई सबैभन्दा गर्व गराउँछ।
त्यसैगरी राउटे, कुसुण्डा जस्ता पछाडि पारिएका समुदायका लागि आवाज विहिनको आवाज बनेर काम गर्न पाउनु पनि गर्वको विषय हो।
तपाईंको नेतृत्वमा संस्थाले के–कस्ता सकारात्मक परिवर्तन हासिल गरेको छ ?
संस्थाले धेरै सकारात्मक परिवर्तन ल्याएको छ। हिंसा पीडित महिलाका लागि माइती बनेको छ भने जोखिममा रहेका बालबालिकाका लागि मावली बनेको छ।
आवाज विहिन समुदायले आफ्ना अधिकार खुलेर व्यक्त गर्न थालेका छन्। छाउपडी प्रथा न्यूनीकरण, बालविवाह रोकथाम, मानसिक समस्या भएका व्यक्तिहरूलाई सहयोग जस्ता कामहरू प्रभावकारी रूपमा भएका छन्।
सोसेक नेपालको प्रमुख मुद्दा के हो ?
आवाज विहिनको आवाज उठाउनु, महिला र बालबालिकाका सवाललाई राज्यबाट सम्बोधन गराउनु, र राज्यसँग जिम्मेवारी र साझेदारी स्थापित गर्नु नै संस्थाको प्रमुख मुद्दा हो। बालविवाह अन्त्य, मर्यादित महिनावारी जस्ता विषयलाई हामी सबैको साझा जिम्मेवारीका रूपमा लिएका छौँ।
हाल तपाईंको प्रमुख प्राथमिकता के–के छन् ?
महिला र बालबालिकाका सवाललाई राज्य तहबाट प्रभावकारी रूपमा सम्बोधन गराउन पहल गर्नु मेरो प्रमुख प्राथमिकता हो। साथै, समस्यामा परेका व्यक्ति, परिवार र समुदायलाई प्रत्यक्ष सहयोग पुर्याउनु पनि महत्वपूर्ण प्राथमिकतामा रहेको छ।
सोसेक नेपालको भविष्यलाई तपाईंले कसरी हेर्नुहुन्छ ?
हामी राज्य नपुगेका ठाउँमा पुगेर आवाज विहिनको आवाज बनेर काम गर्ने भएकाले संस्थाको भविष्य सकारात्मक देख्छु। दैलेख जिल्लामा हिंसा पीडित महिला तथा जोखिममा रहेका बालबालिकाका लागि दीर्घकालीन पुनःस्थापना केन्द्र स्थापना गर्ने योजना भविष्यको महत्वपूर्ण लक्ष्य हो।
अन्त्यमा केही भन्नु छ ?
हामी सबै आफ्ना छोरी, श्रीमती वा आफन्तलाई कसैले कर्के आँखाले हेरेमा रिसाउँछौँ, तर आफैँले अर्काको छोरी वा श्रीमतीप्रति गलत व्यवहार गर्छौँ। यसैगरी महिलाहरू आफ्ना श्रीमानलाई कसैले गलत नजरले हेरेमा रिसाउनु हुन्छ, तर आफैँ अर्काको श्रीमानसँग लुकीलुकी कुरा गर्ने प्रवृत्ति पनि देखिन्छ। त्यसैले हिंसामुक्त समाजको निर्माण गर्न पहिले म आफैँबाट परिवर्तन सुरु गर्नुपर्छ भन्ने मेरो धारणा छ ।

अंगराज परियार । १७ पुष २०८२, बिहीबार १५:३३