सुर्खेत: जनचासाे खबर दैनिकका सम्पादक टेकेन्द्र विश्वकर्मा मध्यपश्चिम विश्वविद्यालयकाे आमसञ्चार तथा पत्रकारिता विभाग अन्तर्गत दलित समुदायबाट (एमए जेएमसी) स्नातकोत्तर तह उत्तीर्ण गर्ने पहिलाे व्यक्ति बनेका छन् । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा पत्रकारिताकाे स्नातकोत्तर सुरु भएकाे वर्ष सन् २०२० को पहिलो ब्याचमा भर्ना भएका २५ जना विद्यार्थीमध्ये दलित समुदायका उनी एक जना मात्रै हुन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीकाे उपस्थितिमा विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तह उत्तीर्ण भएका विद्यार्थीलाई दीक्षीत गरिएको हाे । नेपाल पत्रकार महासंघ सुर्खेतमा दुई कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल सहसचिव भइसकेका विश्वकर्मा सुर्खेतबाट प्रकाशित जनचासो खबर दैनिकका सम्पादक हुन् । उनी मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कलम चलाउँदै आएका छन् । २०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा हाल तीन हजार ८४१ जना विद्यार्थी अध्ययनरत छन् ।
खुलानजर । २४ फाल्गुन २०८१, शनिबार ११:०६