अनुमति बिना मोटरसाइकल र्‍याली गर्ने २५ जना पक्राउ

 सुर्खेत: वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा अनुमति बिना मोटरसाइकल र्‍याली निकाल्दै सार्वजनिक शान्ति सुरक्षा खलल पुर्‍याएको आरोपमा २५ जना युवालाई पक्राउ परेका छन्।
प्रहरीले शुक्रबार दिउँसो करिब २:५० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिकै तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा वीरेन्द्रनगर–३ तातापानी, सुर्खेतस्थित `THE DANGEROUS SKULL´नामक युवा क्लबका सदस्यहरूले स्थानीय प्रशासनको अनुमति बिना कालो तथा सेतो रङका झण्डा बोकी मोटरसाइकल र स्कुटीमा र्‍याली निकालेका थिए।


उक्त र्‍यालीका क्रममा हो–हल्ला गर्दै सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको तथा आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को आचारसंहिता र निर्वाचनसम्बन्धी कानुनले निषेध गरेका गतिविधि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको करिब ३० जनाको प्रहरी टोलीले ८ वटा मोटरसाइकल र ४ वटा स्कुटीसहित र्‍यालीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।