लोकतात्रिक गणतन्त्रलाई संस्थागत गर्न सहिदको त्याग प्रेरणादायी हुनेछ : प्रदेश प्रमुख परियार

सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सङघीय लोकतात्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन मार्फत देशलाई समृद्ध बनाउन सहिदहरुको सपना तथा योगदान सधै प्रेरणादायी हुने बताएका छन् ।
मंगलबार सहिद दिवस, २०८० को सन्देश व्यक्त गर्दै
नेपाल र नेपालीहरुको आत्मा सम्मान र स्वतन्त्रताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगाएत सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । प्रमुख परियारले सहिद दिवस नेपालको राष्ट्रियता जनतन्त्र र जनजीविकाकोे लागि प्राण आहुति गर्ने महान सहिदहरुको विशेष सम्झनामा गरिने दिनकाे रुपमा चित्रण गर्दै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन आफ्नो जीवन बलिदान गर्ने वीर वीरङगानाहरुको सम्झना गर्न याे दिवसले महत्त्वपूर्ण भूमिका खेलेकाे बताए ।
उनले सन्देशमा लेखेमा छन् `राणा काल पूर्वका र राणाकाल विरुद्धका विभिन्न आन्दोलन २००७ सालको परिवर्तन, जनआन्दोलन पहिलो र दोस्रो, १० वर्षे जनयूद्ध, मधेश र जनजाति आन्दोलनहरु मार्फत नेपालीजनताले जति उपलब्धि प्राप्त गरेको छ, ती महान शहिदहरुको संघर्ष त्याग र बलिदान बाट मात्र सम्भव भएको हो । यस अवसरमा हामिले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न र सबै नेपालीहरुले अपनत्व ग्रहण गर्न सक्ने उदेश्यले सरकारले पनि त्यसतर्फ निरन्तर प्रयास गरिरहने छ भन्ने विश्वास लिएको छु ।´
उनले वीर शहिदहरुले गरेको बलिदानको उच्च मूल्याङकन गर्दे सामाजिक न्यायसहितको समतामुलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्ने प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।